कतारमा नेपाली कामदार नगद पुरस्कारद्वारा सम्मानित

दोहाः अन्तर्राष्ट्रिय मान्यता प्राप्त कतारको नासर अल अलि इन्टरप्राइसेस कम्पनीमा कार्यरत २ नेपालीलाई नगदसहित सम्मान गरिएको छ।

दश बर्षदेखि उक्त कम्पनीमा कार्यरत दाङका पुस्वा चौधरी र ताप्लेजुङका कृष्णबहादुर गुरुङलाई जनही १५ हजार रियाल नेपाली झन्डै ४ लाख ५० हजार रुपैयाँका साथ सम्मान गरिएको हो ।

इमान्दारीपूर्वक कम्पनीमा काम गरेवापत् चौधरी र गुरुङले इद अलअधाको उपलक्ष्यमा नासर अल अलि इन्टरप्राइसेस कम्पनीका मालिक नासर अल अलीको हातबाट उक्त सम्मान प्राप्त गरेका हुन् । सन् २००९ मा हेल्परका रुपमा सोही कम्पनीमा आएका दाङका चौधरी कामप्रतिको इमान्दारिता र लगावको कारण एक सक्षम ट्रेड वर्करसमेत भइसकेका छन् ।

दुई छोरा र एक छोरीका पिता चौधरीले नासर अल अलि इन्टरप्राइसेस कम्पनीमा काम गरेर नै घर जग्गा जोड्न सफल भएको बताउछन् । कम्पनीमा आफु आउन पाउनु नै आफनो अहोभाग्य सम्झेका चौधरी कम्पनीका मालिक नासर अल अली आफनो अविभावक जस्तो भएकोले आफू पराई भूमिमा भएजस्तो पनि नलागेको बताए । उनले आफूले प्राप्त गरेको इनाम रकम घर खर्च लगायत छोराहरुको पढाईमा खर्च गर्ने बताए ।

ताप्लेजुङ निवासी कृष्णबहादुर गुरुङ पनि हेल्परमै सोही कम्पनीमा आएका भए पनि अहिले उनी सबै काममा सक सक्षम भइसकेका छन् । अल नासर इन्टरप्राइसेस कम्पनीमै सोमबहादुरले पनि १० वर्ष विताई सकेका छन् । सोही कम्पनीमा काम गरेर जोहो गरेको रकमले आफना एक छोरा र एक छोरीलाई राम्रो शिक्षादिक्षा प्रदान गरेको बताउँछन् ।

कम्पनीको मालिक नासर अल अली अत्यन्त सहयोगी र सहृदयी भएको कारणले नै आफनो आर्थिक भविष्यमा यसरी सुधार हुन सकेको कृष्णबहादुरले बताउदै नासर अल अलि इन्टरप्राइसेस र कम्पनी मालिकप्रति आभार व्यक्त गरे । आफनो लागि यो रकम ठुलो सहयोग रकम भएको स्विकार्दै आफनो छोराछोरीको पढाइमा समेत खर्च गर्ने बताए । नासर अल अलि इन्टरप्राइसेस कम्पनीमा काम गरिरहँदा आफूले आर्थिक प्रगति गर्न र मनग्य सिप आर्जन लगायतको दुई महत्वपूर्ण उपलब्धि हासिल गरेको बताए ।

कम्पनीका मालिकले समयसमयमा उत्कृष्ट कामदारहरुलाई सुनको सिक्का समेत इनामको रुपमा प्रदान गर्दै आइरहेका छन् भने १० वर्षभन्दा बढी काम गरिसकेका नेपाली, भारतीय, वंगलादेशी कामदारहरु पुरस्कार र सम्मानबाट लाभान्वित भइसकेका छन् ।

कम्पनी मालिक आसर अल अलीले आफनो कम्पनीमा काम गर्ने सबै कामदारहरुको छोराछोरीहरुको पढाई खर्च समेत दिने गरेकाछन् ।

कमेन्ट गर्नुहोस्