सनसनीपूर्ण प्रदर्शन गर्दै आयाक्स च्याम्पियन्स लिगको समूह चरणमा

एजेन्सी । अघिल्लो सिजन सनसनीपूर्ण प्रदर्शन गर्दै सेमिफाइनलमा स्थान बनाएको नेदरल्यान्ड्सको आयाक्स क्लब यसपटक पनि च्याम्पियन्स लिग फुटबलमा छनोट भएको छ । आयाक्सले बुधबार राति भएको प्ले अफ खेलमा साईप्रसको एपोल निकोसिया क्लबलाई हराउँदै च्याम्पियन्स लिगको समूह चरणमा छनोट भएको हो ।

आयाक्सले प्ले अफको दोस्रो लेगमा २–० गोलको जित हात पार्यो । दुई टोलीबीचको पहिलो लेग गोल रहित बराबरीमा सकिएको थियो । आयाक्स समग्रमा २–० गोलले विजयी भयो । आयाक्सको जितमा ४३औ मिनेटमा एडसन अल्वारेजले हेड गोलमार्फत खाता खोलेका थिए । उनले हाकिम जियचले फ्रिकिक पासमा गोल गरेका थिए ।

८०औं मिनेटमा डुसान टाडिकले गोल गर्दै आयाक्सको जित सुनिश्चित पारेका थिए । आयाक्स अघिल्लो सिजन सेमिफाइनलमा इङ्लिस क्लब टोट्टनहामसँग पराजित भएको थियो । बुधबार रातिनै भएको अन्य प्ले अफ खेलमा क्लब बर्गले लास्कलाई समग्रमा ३–१ र स्लाभिया प्रागले सिएफआर क्लजलाई समग्रमा २–० गोलले हराउँदै समूह चरणमा स्थान बनाएका छन् ।

कमेन्ट गर्नुहोस्