Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

फेसबुक भाइरल रानुको पहिलो गीत, १४ घण्टामै बलिउडका थुप्रै रेकर्ड ध्वस्त (भिडिओसहित)

काठमाडौंः  पश्चिम बङ्गालको रानाघाट स्टेसनमा गीत गाएर गुजारा गर्ने रानु मण्डल सामाजिक संजालमा भाइरल भएको केही दिनमै बलिउड पुगेकी छिन् । ५९ वर्षीय मण्डलको स्वरमा रेकर्ड भएको एउटा गीत युट्युबमा अपलोड भएको २४ घण्टा नपुग्दै भाइरल भएको छ ।

बलिउडका प्रसिद्ध गायक तथा संगीतकार हिमेश रेशमियाले उनको आवाज सुनेर उनलाई आफ्नो नयाँ एल्बम ‘ह्याप्पी, हार्डी और हीर’मा एउटा गीत गाउने मौका दिएका थिए । उनले रेशमियासँग गएको ‘तेरी मेरी..’ बोलको गीत युट्युबमा अपलोड भएको १४ घण्टामै एक करोड पटक हेरिइसकेको छ ।

यस अघि बुधबार मात्रै उक्त गीतको रेकर्डिङको भिडिओ अपलोड भएको थियो । उक्त भिडिओलाई हालसम्म एक करोड ४० लाख पटक हेरिएको छ । दुवै भिडिओहरू ‘एट-डी साउण्ड’ भन्ने च्यानलबाट अपलोड भएका थिए ।

नाटकीय रूपमा उदय

रानु मण्डलको लोकप्रियता कुनै रोमान्चक कथाभन्दा कम छैन । दुई महिना अघिसम्म उनी भारतको पूर्वी राज्य पश्चिम बङ्गालको रानाघाट रेल्वे स्टेशनमा गीत गएर यात्रुहरूसँग सहयोग माग्ने गर्थिन् । गत २१ जुलाईको दिन एक युवा अतिन्द्र चक्रवर्तीले उनलाई रेल्वे स्टेशनमा गैराखेको अवस्थामा भेट्टाए । उनले रानाघाटदेखि चार किलोमिटर दूरीको अर्को स्टेशनसम्म उनलाई एउटा गीत गाउन लगाए र उनको भिडिओ बनाए ।

उनले त्यस बेला गाएको लता मंगेशकरको स्वरमा रहेको ‘एक प्यार का नागमा है’ बोलको गीतको भिडिओ चक्रवर्तीले बारपेटा टाउन नाम गरेको फेसबुक पेजमा अपलोड गरे । त्यसपछि यो भिडिओ रातारात भाइरल भयो र मानिसहरू यस भिडिओलाई व्हट्स एप आदि संजाल्हारूमा समेत शेयर गर्न थाले ।

उक्त भिडिओलाई एक हप्ता भित्रमै १६ लाख पटक हेरियो र अन्य थुप्रै पेज तथा ग्रुपहरूमा समेत यो भिडिओ सेयर हुन थाल्यो । सामाजिक संजालमा भाइरल भैसकेकी रनुको स्वरको जादू बलिउड पुग्न समय लागेन । उनको स्वरबाट बलिउडका दबंग भनेर चिनिने सलमान खान समेत निकै प्रभावित भएको र उनले आफ्नो आगामी चलचित्र दबंग-३ का लागि गीत गाउने प्रस्ताव समेत दिएको इन्डिया टुडेले जनाएको छ।

अप्ठ्यारोमा छाडेर गएकी छोरी फर्किन

रानु मण्डल विवाहित थिइन् । बब्लु मण्डलसँग उनको विवाह भएको थियो । विवाहपछि उनीहरु मुम्बईमा बस्दै आएका थिए । सबै राम्रै चलिरहेको थियो । तर, अचानक श्रीमानको मृत्यु भएपछि रानु बेसाहारा बनेकी थिइन् । श्रीमानको मृत्यु पछि रानु आफ्नो माइती गाउँ रानाघाट फर्किइन् । फर्किएर उनले गीत गाउन सुरु गरिन् । गीत गाएर नै उनी आफ्नो जीवन चलाइरहेकी थिइन् ।

रानुको एक छोरी थिइन् । तर, आफ्नो बुबाको मृत्युपछि आमाले स्टेशनमा गीत गाएको उनलाई मन परेको थिएन । त्यसैले उनले आमाको साथ छोडेकी थिइन् । अहिले भिडियो भाइरल भएपछि छोरी पनि आमाको साथमा आएकी छिन् ।

उनलाई नायक सलमान खानले ५० लाखको घर उपहार दिएका छन् । हुन त यस समाचारको पुष्टि नभएको बताइन्छ । रेल वे स्टेशनमा गाएको एउटा गीतले रानुको जीवन नै फेरिदिएको छ ।

हेर्नुस भिडिओ:

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: