एकतामा एक कदमअघि दुबै अखिल, एउटै केन्द्रीय कार्यालय संचालन

काठमाडौं : सत्तारुढ दल नेकपाको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)ले कार्यालय संचालनमा ल्याएको छ । बिहीबार एक कार्यक्रमकाबीच अनेरास्ववियूले कार्यालय संचालनमा ल्याएको हो ।

तत्कालीन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को कार्यालय रहेको स्थान बागबजारमा केन्द्रीय कार्यालय संचालनमा ल्याइएको हो । उद्घाटन कार्यक्रममा नेकपाको विद्यार्थी संगठनका फ्रयाक्सन ईञ्चार्ज हितमान शाक्य, सह–ईञ्चार्ज बिनोद ढकाल, अनेरास्ववियूका संयोजक ऐन महर, सह–संयोजक रञ्जित तामाङ, नेकपाका नेता, विद्यार्थीका पूर्वअध्यक्षलगायतको सहभागिता थियो ।

अनेरास्ववियूका संयोजक महरले सम्भव भएसम्म भदौ महिनाभित्र केन्द्रीय कमिटिलाई पुर्णता दिने र दशैं तिहारसम्म मातहत कमिटिको एकता सम्पन्न गर्ने गरी छलफल भइरहेको जानकारी दिए ।

एकताको सकरात्मक सन्देश दिन कार्यालय संचालनमा ल्याएइको अनेरास्ववियूका सह–संयोजक तामाङले बताए । उनले भने, ‘विद्यार्थी संगठनमा केही विवाद अझै बाँकी नै छन् । ती विवाद मिलाउनकै लागि संयुक्त कार्यालय संचालनमा ल्याएका हौ ।’ उनले कार्यालय संचालनपछि विद्यार्थी संगठनमा एकताले गति लिने दाबी गरे। ‘अब छलफल अघि बढाउछौं, केन्द्रीय कार्यसमिति कति संख्याको बनाउने, स्थानीय तहसम्मका कमिटिमा बाँडफाँड कसरी गर्ने भन्नेबारे टुङग्याउछौं ।’ तामाङले भने ।

तामाङका अनुसार, कार्यालय सञ्चालनसँगै एकताको कार्यभार अब अघि बढने छ । केन्द्रीय समितिको एकतापछि सचिवालयको गठन र यो सँगै विधान र प्रतिवेदनको काम अघि बढने उनले बताए । ‘अहिले एउटा समझदारीमा पुगेका छौं । कार्यालय सञ्चालनमा आएको छ ।’ उनले भने, ‘अब दुबै संगठनबीचको एकतालाई अघि बढाउँछौं । संगठनात्मक एकतासँगै विधान र प्रतिवेदन समेत तयार हुन्छ ।’

तत्कालीन एमाले निकट अनेरास्ववियुका महासचिव रहेका महरलाई नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूको संयोजक र तत्कालीन माओवादी निकट अखिल क्रान्तिकारीका अध्यक्ष रहेका तामाङलाई सह–संयोजक बनाइएको थियो । त्यसपछि तत्कालीन अखिल क्रान्तिकारीका विद्यार्थीले असन्तुष्टि जनाएपछि विद्यार्थी संगठनमा विवाद थियो । जसका कारण विद्यार्थी एकताले गति लिन सकेको थिएन ।

कमेन्ट गर्नुहोस्