खानेपानी मन्त्रीद्वारा असोजभित्र नेपाललाई खुला दिसामुक्त राष्ट्र बनाउने घोषणा

दोलखा । दोलखा जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको छ । जिल्ला स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिले खानेपानी मन्त्री बिना मगरको प्रमुख आतिथ्यमा विशेष कार्यक्रम आयोजना गरी दोलखालाई बिहीबार खुला दिसामुक्त जिल्ला घोषणा गरिएको हो ।

खुला दिसामुक्त जिल्ला घोषणा सभामा बोल्दै खानेपानी मन्त्री मगरले देशैभरि पूर्ण सरसफाइको कार्यक्रम अघि बढेको बताउनुभयो । उहाँले असोज भित्रमा नेपाललाई खुला दिसा मुक्त राष्ट्र घोषणा गर्न लागिएको जानकारी दिनु भयो । ” हामी स्थानीय र प्रदेश सरकार संग समन्वय गरेर देश भरिकै लागि सरसफाइ योजना बनाउदै छौँ, उहाँले भन्नुभयो ” अब राष्ट्रलाई पूर्ण सरसफाइ अभियानमा केन्द्रित गर्दैछौं । सरसफाइले हाम्रो समाज र देशको प्रतिष्ठा मापन गर्ने भएकाले यसलाई सामान्य कुरा ठान्नु हुँदैन । यसको महत्त्वलाई आत्मसात् गर्नु पर्दछ ।”

दोलखा जिल्लामा २ नगरपालिका र ७ गाउँपालिका गरी नौ वटा स्थानीय निकायहरु छन् । दोलखामा ४५ हजार ६ सय ५८ घरधुरीहरुमा शौचालयहरु निर्माण भएका छन् ।  खुला दिसामुक्त जिल्लामा दोलखा ६७ औं जिल्ला भएको छ ।

सार्वजनिक स्थल, सामुदायिक विद्यालय, स्वास्थ्य संस्था, मठ मन्दिर र सबै घरधुरीहरु गरी दोलखामा शौचालयहरु निर्माण गरी प्रयोगमा आएपछि दोलखालाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डेले जानकारी दिनुभयो । प्रमुख पाण्डेले अब दोलखामा पूर्ण सरसफाइको अभियान सञ्चालन गर्न रणनीतिक योजना तयार पारिएको बताउनुभयो ।

यस्तै राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्य सचिव देवेन्द्र कुमार झाले खुला दिसा मुक्त जिल्ला घोषणा हुँदैमा पूर्ण सरसफाइको अभिभारा नहुने बताउनुभयो । उहाँले दोलखा जिल्लालाई अब पूर्ण सरसफाइको अभियानमा जुट्न आग्रह गर्नुभयो ।

खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार हिमाली तथा पहाडी क्षेत्रका अधिकाशं जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको छ। कपिलवस्तु, पर्सा, बारा, सर्लाही, महोत्तरी, धनुषा, मोरङ, काठमाडौँ, सिन्धुपाल्चोक र सोलुखुम्बुलाई खुला दिसामुक्त जिल्ला घोषणा गर्न बाँकी रहेको विभागले जनाएको छ ।

सरकारले विसं २०६८ सालमा सरसफाइ गुरुयोजना कार्यान्वयनमा ल्याएपछि उक्त कार्यक्रम अन्तर्गत विसं २०६८ असार १० गते  कास्कीलाई पहिलो खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो ।

कमेन्ट गर्नुहोस्