रूखको छहारीमा भविष्य खोज्दै बालबालिका

काठमाडौं । दुई ठूला पीपलका रूख, पानी पर्दा ओत्दैन, हावा चल्दा छेक्दैन । तर, यिनै रूखको छहारीमा ३० बालबालिका भविष्य खोज्दै छन् । यिनै रूखको फेद उनीहरूको पाठशाला हो । र, यो हो गुल्मीको सत्यवती गाउँपालिका–३ ठूलोलम्पेक सिङ्दीस्थित सिद्ध आधारभूत प्रावि ।

गत ६ साउनमा अविरल वर्षासँगै आएको पहिरोले सिद्ध आधारभूत प्राविको एउटा चारकोठे भवन बगायो । अर्को भवन क्षतिग्रस्त छ । खेलमैदानसमेत माटोले पुरिएको छ । ५ कक्षासम्मको विद्यालयमा पठनपाठन सम्भव नभएपछि बालबालिकालाई चौतारोमा प्लास्टिकका म्याट ओछ्याएर पढाउन थालिएको प्रधानाध्यापक ज्ञानमाया तरामूले बताइन् ।

‘२७ साउनमा बर्खे बिदा सकियो, २८ गतेदेखि विद्यालय सञ्चालन गर्नुपर्ने भयो । तर, विद्यालय भवन नै नभएपछि के गर्ने समस्या भयो,’ प्रअ तरामूले भनिन्, ‘केटाकेटीको पढाइ नै प्रभावित पार्नुभन्दा बरु रूखकै छहारीमा भएपनि पढाउने भनेर लागेको हो ।’

सत्यवति–३ मा सिद्ध आधारभूत विद्यालयमात्रै होइन, सो वडाका ६१ घर परिवारकै उठिवास लाग्यो । सिद्ध प्राविमै कक्षा ३ मा अध्ययन गर्ने गंगा विक र गगन विकको घरसँगै किताव कापी पहिरोमा पुरिए । कक्षा ५ मा पढ्ने कल्पना पसिंजाली र शैलेस विकको पनि घरबारी पहिरोमा मिल्यो । पहिरो प्रभावित कयौं परिवारलाई सत्यवति–१ अस्लेवाको देउडाँडामा अस्थायी आवास बनाएर व्यवस्थापन गरिएको छ । केही विस्थापित परिवारले बालबालिका अन्यत्र लगेर पढाएका छन् ।

बिद्यालय व्यावस्थापन समिति अध्यक्ष अर्जुन तरामुले आफुहरूको पहुँचमा बिद्यालय पुर्निमाण नभएकाले बाध्य भएर अस्थायी शिविरमा पढाउनु परेको बताए । अहिले बस्ती स्थानान्तरण र क्षतिको विवरण मात्रै संकलनको काम भएकाले बालबालिका बिचल्लीमा परेको उनको भनाई छ ।

पहिरोले छेक्यो विद्यार्थी पढ्न आउने बाटो
रूखमुनी पढ्न आउन पनि पहिरोले बाटो छेकेपछि सात विद्यार्थीलाई सिङ्दीमै टेण्ट टाँगेर पढाइएको छ । ठूलो पहिरो तरेर आउन जोखिम भएकाले उनीहरूलाई उतै टेण्ट टाँगेर व्यवस्थापन गरिएको र विषय शिक्षक पालैपालो गएर पढाउने गरेको शिक्षक दुर्गाबहादुर तरामुले बताए । पहिले ५१ विद्यार्थी रहेको यो विद्यालयमा ४० जनामात्रै आउने गरेको शिक्षक तरामुले बताए ।

विद्यार्थी बिरामी पर्न थाले
विद्यालय भवन पहिरोमा परेपछि शैक्षिक सामग्रि केही पनि बाँकी रहेन । डेस्क, बेञ्च, ब्याकबोर्ड केही छैन । बालबालिका खुला आकाशमुनी पढ्छन् । आकाशमा बादल मडारिन थाले शिक्षकहरू टेण्ट लगाउँछन् । प्लास्टिकको म्याटले भुईंको चिसो छेक्न सक्दैन । विद्यार्थीहरू विरामी पर्न थालेको शिक्षक टेकबहादुर सिंजालीले बताए ।

‘खुल्ला चौरमा पढाउन पनि समस्या, टेण्ट नै टाँगे पनि झन् गर्मीले सताउँछ, भुईंमा बस्नुपर्दा चिसो हुन्छ,’ शिक्षक सिंजाली भन्छन्, ‘हामी स्टाफहरूलाई पनि समस्या नै छ ।’ अभावै अभावले बालबालिकामा मनोबैज्ञानिक असरसमेत पर्न थालेको शिक्षकहरू बताउँछन् । विद्यालय व्यवस्थापन समिति अध्यक्ष अर्जुन तरामुले विद्यालय पुनर्निर्माण आफूहरूको पहुँचमा नभएकाले रूखमुनी पढाउनुको विकल्प नभएको बताए ।

बालबालिकालाई दिवा खाजाः चिउरा र चाउचाउ
सरकारले प्रावि तहका विद्यार्थीलाई दिवा खाजाको व्यावस्था गरेको छ । हरेक बार विद्यालयले नै फरक–फरक परिकार बनाएर खुवाउनेपर्ने नियम छ । तिर, सिद्ध प्राविका विद्यार्थीलाई खाजा व्यवस्थापन गर्न चुनौती देखिएको छ । ‘पकाउने भाँडा र सामग्री नै छैनन्, टेण्टमा खाजा व्यावस्था गर्न चुनौति छ,’ प्रध्यानाध्यापक ज्ञानमाया तरामुले भनिन्, ‘अहिले राहतकै चिउरा र चाउचाउ खुवाएका छौ ।’ यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्