बुबाको मुख हेर्ने दिनः ‘काका–बालाई घ्यूभात र मासु मन पर्छ’

काठमाडौं । आज बुबाको मुख हेर्ने दिन, मनपर्ने भोजन खुवाउने अवसर, तर प्रधानमन्त्री केपी शर्मा ओलीकी भतिजी शारदालाई भने यस वर्ष यो सन्दर्भ जुरेन। काठमाडौंको चाबहिलस्थित सरस्वती नगरमा बस्दै आएकी शारदाले आफ्ना पिताको निधन भइसकेकाले प्रधानमन्त्री ओलीलाई नै पितासमान पुज्दै आएकी छन्। नाताको हिसाबले शारदाका जिजु–हजुरबुबा र प्रधानमन्त्री ओलीका हजुरबुवा दाजुभाइ हुन।

‘यसपालि झन् प्रधानमन्त्री क्वार्टर गएर सरप्राइज दिँदै मुख हेरौंला भन्ने थियो’, शारदाले मुख हेर्ने प्रक्रिया दृश्यजस्तै सोच्नुभएको रहेछ, भनिन् ‘पहिला एउटा फूलको गुच्छा दिउँला, ह्याप्पी फादर्स डे भन्दै हग गरुँला, रमाइलो होला भन्ने सोचेकी थिएँ।’ शारदालाई सरप्राइज दिन निकै मन पर्छ, पोहोर पनि सरप्राइज दिने सोच बनाएकी थिइन्, तर तिज मनाउन प्रधानमन्त्री निवास बालुवाटार गएकी उनले काका–बाले ‘भोलि बुबाको मुख हेर्ने दिन, के ल्याउँछेस् बेटा’ भनेर सोधिदिनुभयो, मलाई धेरै मिठाई लिएर आइज नि भन्नुभयो। ‘मिठाई र ड्राइ फुड्स लिएर गएकी थिएँ, तर स्वास्थ्यका कारण खान नमिल्ने, मिठाई खुवाइदिएपछि आफै छानेर खान्छु भन्दै थोरै चाख्नुभएको थियो।’ उनले भनिन्। ‘उहाँलाई घ्यू, खसीको मासु र भात एकदमै मन पर्छ। तर स्वास्थ्यले दिँदैन।

‘अहिले उहाँले खाने भनेको सुख्खा रोटी, अण्डा, फलफूल जुस, ग्रिन टी नै हो। प्रधानमन्त्री क्वार्टरमा पनि उहाँको खानपान काकी आफैले हेर्नुहुन्छ, भान्छा छोड्नुहुन्न। मेडिसिन जेठी सासुको छोरा राजेशले हेर्छन्।’ शारदाले भनिन् ।

शारदाका अनुसार प्रधानमन्त्री ओली खानेकुरा र स्वास्थ्यमा एकदमै सचेत हुनुहुन्छ, बाहिरको खानेकुरा खानुहुन्न । ‘मैले मेरो प्रेजेन्ट खोइ भनेर सोधें, सिंगै बाउ छु के चाहियो बेटा भनेर हँँसी गर्नुभयो। अनि फोटो खिच्ने कार्यक्रम भयो’, शारदा सुनाउँदै थिइन्, ‘उहाँ सेल्फीको सौखिन हुनुहुन्छ। फोटो खिच्ने बेलामा बोल्नुहुँदैन राम्रो आउँदैन, सीधा हेरेर बस् भन्नुहुन्छ। सेल्फी खिच्न तँलाई आउँदैन खै ले म खिचिदिन्छु भनेर आफैले सेल्फी खिच्नुभयो।’ यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छापिएको छ ।

कमेन्ट गर्नुहोस्