चक्कीमा पिसिएको पात्र अर्थात् ‘बुवा’

बिहेपछिका केही दिन राम्रै बित्छन् । घर परिवारले बुहारी पाएको हुन्छ । गाउँलेका लागि नयाँ दुलही गाउँमा प्रवेश गरेकी हुन्छे । भुराभारीका लागि भाउजु, आन्टी भेटिएकी हुन्छे । सासुका लागि उसको जिम्मेवारी बाँडिदिने सहयोगी पाइएकी हुन्छे । र, बुवाका लागि छोराको भविष्यलाई एउटा मियोमा, एउटा साँचोमा ठिक्क पारिदिएको सन्तुष्टि हुन्छ ।

तर समय यसरी नै रहँदैन ।

समय बित्छ । सासुलाई बिस्तारै आफ्नो अस्तित्व चोरिन थालेको आभास हुन्छ । सासुको सत्ता या सासुको प्रभाव शक्ति कमजोर भएको आभास हुन्छ । यता अरुका लागि अब बुहारी पुरानी भइसकेकी हुन्छ । ऊ अब आफूहरुजस्तै बनिसक्छे ।

                     -रमेश भट्ट-

यही बीचमा बच्चा हुन्छन् । श्रीमान् अर्थात् बच्चाको बुवाको जिम्मेवारी चुलिँदै जान्छ । नेपाली समाज हो, अहिले अलि फरक भएको छ । पारिवारिक जिम्मेवारीमा महिला र पुरुष दुबैको योगदान बराबरी हुने प्रतिशत केही उक्लिंदो छ । तर घरको धन्दा श्रीमतीले र बाहिरफेर धनको जोहो पुरुषले गर्नुपर्ने मुख्य प्रवृत्ति नेपाली समाजको छ ।

यो स्थितिमा परिवारमा सबै कुरा ठीकठाक चलिरहेको बेला श्रीमान भनिने बुवा बिस्तारै दुईवटा गम्भीर मानसिकतामा अल्झिन्छ । एकातिर जन्मदिने आमा बुवा हुन्छन् । विगतसम्म उनीहरुको सत्ता चलेको हुन्छ । उनीहरु मुली हुन्छन् । सबै अरनखटन उनीहरुको हुन्छ । अर्थात् छोरामाथि उनीहरुको पूर्ण स्वामित्व हुन्छ । सोच्नुपनि स्वभाविकै हो, नौ महिना कोखमा राखेर दुखसुख सहेर, आफू नसुतेर पनि, आफू भोकै प्यासै, थकित भएर पनि आँसु झार्न नदिने हजारौं कोशिस गरेर हुर्काएको छोरा पूर्णतः आफ्नो होस्, उससँग जोडिएका सबै कुरा प्राथमिक नबनुन भन्ने चाहना बा आमामा हुनु प्राकृतिक नै हो ।

र, अर्कोतर्फ घरमा थपिएका नयाँ मान्छे, अर्थात श्रीमती अर्थात् बुहारीका लागि श्रीमान नै सबैथोक हो । उसले आफूलाई माथि भनेजस्तै गरि हुर्काएका बा आमालाई सधैंका लागि छोडेर एउटा नव परिचितसँग जीवनको सम्झौता गरेकी हुन्छ । उसलाई पनि आफूले जीन्दगी सुम्पेको मानिससँग जोडिएका कुनै पनि कुरा प्राथमिक नबनुन, आफू मात्रै पहिलो रोजाई बन्न पाउँ भन्ने चाहना हुन्छ । यो पनि स्वभाविक रोजाई हो । कतिपय अवस्थामा यो दुबै पुस्ताबीच सन्तुलन हुन्छ । त्यहाँ समस्या देखिन्न । तर अस्तित्व र आफ्नो क्षेत्रमा अर्काको प्रवेशले निम्त्याउने मनोवैज्ञानिक तनाव एउटा लघु नै किन नहोस्, दूरीको रेखा कायमै हुन्छ ।

पुरुष हुनु पनि त्यति सजिलो छैन संसारमा । कतिपय कुरा मनमैं पचाएर पनि अरुलाई खुशी पार्नमैं बित्छ कतिको जीवन ।

अनि यो दुई चक्कीमा पिल्सिएको हुन्छ बुवा । एकातिर आफ्ना बा आमाको खुशी, अर्कोतर्फ आफूले जिन्दगी बिताउन खोज्ने मानसिको खुसी । सन्तुलनको अत्यन्तै जटील तरवार । दायाँ गए नि काटिन्छ, बाँया ढल्के नि ताछिन्छ । त्यसैपनि नेपाली समाजका मानकहरुले बुहारीसँग ढल्ेकेको मन पराएँदैन । अचेल केही परिवर्तन भयो । र पनि मनोविज्ञान उही हो । कुशलतापूर्वक यसलाई व्यवस्थापन गर्न सक्नेहरुले शक्ति सन्तुलनको यो बिन्दुमा अग्रज पुस्ता र आफूसँग जोडिन आएको पुस्ताबीच समन्वय गर्न सक्छन् ।

एकातिर मनोवैज्ञानिक यो अवस्था, अर्कोतर्फ बुवा हुनुको नव जिम्मेवारी । घरको व्यवस्थापन, परिवारको व्यवस्थापन र बच्चाहरुको व्यवस्थापन । यो त्रिपक्षीय चक्कीमा एकजना बुवाको मन कमैले बुझ्छन् । पुरुष हुनु पनि त्यति सजिलो छैन संसारमा । कतिपय कुरा मनमैं पचाएर पनि अरुलाई खुशी पार्नमैं बित्छ कतिको जीवन ।

उसले आँसु कमै झार्छ, किनभने आँस झार्ने हो भने जिम्मेवारीको पहाड छिचोल्न सक्दैन ।

नियती कस्तो छ भने यही बुवा, यतिविधि जिम्मेवारीको पहाड उठाएर अघि बढेको पुरुष पात्र, परिवारदेखि सबैथोक व्यवस्थापन गर्दै जीन्दगीका दुखसुखलाई चुपचाप मनभित्रै पचाएर अघि बढने यो मान्छे जीवनको उत्तरार्धमा फेरी माथिल्लो पुस्तामा रुपान्तरित हुन्छ । अनि उसको स्थानमा देखा पर्छ उसले नै मायापूर्वक हुर्काएको छोरा । तर अचम्म नै भनौं, अब उसले पनि छोराले बुहारी भित्र्याएपछि बुहारीसँग बढी हिमचिम गरेकोमा कता कता असहज मान्छ । जबकि हिजो उसलाई नै यो सन्तुलन मिलाउन हम्मे हम्मे परेको हुन्थ्यो । आज उसो छोरा त्यही सन्तुलनको संकटमा उभिएको हुन्छ । र, उ भने आफू बुवा हुनुको अस्तित्व खोज्न लागेको हुन्छ । अर्कोतर्फ मायालु छोरी अर्को घरमा गएर बुहारी बनिसकेकी हुन्छे । अनि उसले पनि परिवारमा बुवा र आमाको माया खोज्छे । सासु ससुरा नयाँ हुन्छन्, उसले लोग्नेबाट नै बाल्यकालदेखि पाएको बुवाको स्नेह र आमाको ममता खोज्छे । यहाँनेर एउटा ग्याप या खालीस्थानले स्थान लिन्छ । छोरीले यो माया र ममता सासु र ससुराबाट पाउने स्थितिमा त्यहाँ बेग्लै स्थिति सिर्जना हुन्छ, त्यो नहुँदा त्यसको चक्कीमा यही बुवा या पुरुष पात्र पर्दछ ।

जीवनमा छोरा र त्यसपछि बुवाको भूमिकामा देखा पर्दा यो पुरुष पात्रले कैयन उकाली ओराली झेलेको हुन्छ । कैयन दुख पचाएको हुन्छ । उसले आँसु कमै झार्छ, किनभने आँस झार्ने हो भने जिम्मेवारीको पहाड छिचोल्न सक्दैन । र, उसलाई सबैभन्दा बेसी दुख त्यतिखेर लाग्छ, जब उसको जिम्मेवारीमाथि प्रश्न उठछ, उसले परिवारका अनेकन इच्छा र रहर पुरा गर्न सक्दैन । छोराछोरीले राम्रो गरेपनि, नराम्रो गरेपनि, श्रीमतीले माया गरेपनि नगरेपनि उसले कोशीस जारी नै राख्छ, निरन्तर निरन्तर । बुवाको यो पीडा कसले बुझ्ने ?

समय अहिले केही परिवर्तन हुन थालेको छ । अहिले बुवाको भूमिका केही सहज हुन थालेको देखिन्छ । समाजमा सासु, बुहारी, छोरा र बुवाबीचको सम्बन्ध खुकुलो बन्न थालेको अवस्था छ । त्यसले गर्दा परिवारको आर्थिक व्यवस्थापनमा कतिपय सजिलोपना नआएको होइन । तर मानसिकताको तहमा अहिले पनि उस्तै हो । परिवारका लागि आलोचनाको संसारमा बुवा केही होइन, कुनै सुख दिन सक्ने होइन तर जिम्मेवारी निर्वाहको संसारमा भने बुवा नै सबैथोक हो । यो अन्र्तद्वन्द्व अहिले पनि कायमै छ ।

आज बुवा दिवस । बुवाको मुख हेर्ने दिवस । बुवा हुनेहरुले बुवाको आर्शिवाद लिए । नहुनेहरुले पितृलाई सम्झना गरे ।

परिवारमा एक अर्काप्रतिको सहअस्तित्व र माया, जिम्मेवारीको समान बाँडफाँड र व्यवस्थापनमा सहकार्य हुने हो भने न बुवा रुनु पर्छ, न आमा नै कामको चक्कीमा पिसिनु पर्छ । आमाले बुवा बनेर सोच, बुवाले आमा बनेर सोचे अनि सासुले विगतको बुहारी हुँदाको नबिर्सिने मान्यता र मनहरु निर्माण हुन सके त्यो मात्रै साँचो अर्थमा यी दिवसहरु मनाउँदा खुसी पाइने क्षण हुन्छ ।

जे होस्, तर्क धेरै गर्न सकिन्छन् । तर बुवाको मुख हेर्ने दिनमा चक्रब्यूह चिर्दै जिम्मेवारी व्यवस्थापनमा लागिपर्ने सबै बुवा र त्यसमा साथ दिने आमा र श्रीमतीको भूमिकामा रहेका सबैमा हार्दिक शुभकामना ।

छोराछोरीले बुवा र आमाको माया, त्याग र संघर्ष नबिसुन

बुवा र आमाले बुहारी पनि आफ्नै छोरी जस्तै कसैले औधी माया दिएर हुर्काएकी प्राणी हो र त्यो माया पर्यन्त खोज्छे भन्ने नबिर्सोस् ।

यो बीचको चक्कीमा पिसिएको प्राणीले पनि श्रीमतीसँग माया र बुवाआमासँग ममतापूर्ण कर्तव्य निर्वाह गर्न कदापी नचुकोस् ।

अनि परिवारले जिम्मेवारी व्यवस्थापनमा बुवाको भूमिका कहिल्यै उपेक्षा नगरोस् ।

कमेन्ट गर्नुहोस्