तीज गीतले समाज रुपान्तरण गरोस् : उप–प्रमुख भट्ट

धनगढी : तीज गीतले समाज रुपान्तरणका लागि सन्देश दिनुपर्ने धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले बताएकी छिन् । शुक्रबार कैलाली उद्योग वाणिज्य संघले आयोजना गरेको तीजको शुभकामना आदानप्रदान कार्यक्रमको उद्घाटन गर्दै उप–प्रमुख भट्टले अहिले समय परिवर्तन भइसकेको बताईन् ।

‘दुःख, पिडा बेदनाका कुरा मात्रै होईन, सकारात्मक सोचको सञ्चार तीजले गर्नुपर्छ,’ उप–प्रमुख भट्टले भनिन्, ‘यस्तै सन्देश प्रवाह गर्नका लागि धनगढीका सबै वडामा तीज कार्यक्रमहरु आयोजना गरिएका छन् ।’ उप–प्रमुख भट्टले तीजलाई महिलाको मात्रै पर्वको रुपमा नअर्थाउन अनुरोध गरिन् ।

उनले भनिन्, ‘तीजले शसक्तिकरणको सन्देश दिन सक्नुपर्छ । अहिले पनि हरेक निहुँमा महिला माथी हिंसा भइरहेको छ । यो हिंसा सहेर बस्ने समय होईन ।’

धनगढी उप–महानगरपालिका उद्योग बाणिज्य संघ कैलालीसंग सहकार्य गरेर काम गरिरहेको पनि उप–प्रमुख भट्टले बताईन् । उनले महिलालाई उद्यमशिलता तिर आकर्षण बढाउनका लागि आफूहरु सहयोग गर्न तयार रहेको बताईन् । उद्योग बाणिज्य संघ कैलालीका अध्यक्ष पुष्पराज कुँवरले तीजलाई भब्य र सभ्य रुपमा मनाउन आग्रह गरे ।

यसै क्रममा कैलाली उद्योग बाणिज्य संघले महिलाहरुका लागि दरको ब्यबस्था पनि गरेको थियो ।

कमेन्ट गर्नुहोस्