पूर्व माओवादी लडाकू बिकले पाइन् नयाँ जीवन

बुटवल । उपचार नपाएर छट्पटाइरहेकी रोल्पाको त्रिवेणी गाउँपालिका–५, जुगारकी पूर्व लडाकू निर्मला बिकको स्वास्थ्य अवस्था सुधारोन्मुख हुन थालेको छ ।

तत्कालीन माओवादी जनयुद्धकी लडाकू ३२ वर्षीया निर्मलालाई करिब ३ महिना अघिदेखि मानव सेवा आश्रमले बुटवलमा ल्याई उपचार गरेपछि उनको स्वास्थ्य सामान्य हुन थालेको हो ।

आफूजस्तै कयौं शोषित पीडित जनताको शासन स्थापित गर्दै मुलुकमा विकास, समृद्धि भित्र्याउने सुन्दर सपनाले रोल्पा त्रिवेणी गाउँपालिकाकी निर्मला बिकलाई पनि जनयुद्धमा होमिन प्रेरित गर्‍यो । तर परिस्थितिले उनलाई झन् कहालीलाग्दो मोडमा पुर्‍याइदियो । माओवादी लडाकुको पाँचौँ डिभिजन व्यारेक दहवनमा खटिएकै बेला सामान्य बिरामी परेकी उनी लडाकु समायोजनका बेला अयोग्य घोषित भएकी थिइन् । त्यसपछि झन् बिरामी परेकी उनी विगत ८ वर्षदेखि नराम्ररी थला परिन् ।

याे पनि पढ्नुस  पहिरोले घर पुरिँदा एकै परिवारका ६ जनाको मृत्यु

आर्थिक अभावकै बीच परिवारले जसोतसो उपचारका लागि ३/४ लाख त खर्चियो तर उनको रोग निको भएन । कहिले धामीझाँक्री त कहिले जडिबुटीको सहारा लिए पनि उनी तंग्रिन सकिनन् । ४ वर्षअघि दुवै खुट्टा जलेर झन् दयनीय अवस्थामा पुगेकी उनको विगत ३ वर्षदेखि होश गुमेको थियो ।

याे पनि पढ्नुस  श्रीमतीलाई माइत पुर्‍याएर फर्किदै गर्दा श्रीमानको मृत्यु

बुढ्यौली उमेरकी सासु र उनको ८ वर्षीय छोरा जीवनले जेनतेन स्याहारसुसार गर्दै आएका थिए । उनको दिशापिसाब पनि सम्हाल्न नसक्ने भएपछि दिनमा आँगनमा र रातभर गोठमा बाँधेर राख्नुपर्ने बाध्यता थियो । उपचार गराउन नसकेपछि उनका श्रीमानले दोस्रो बिहे गरेर विदेश गएका छन् ।

याे पनि पढ्नुस  पहिरोले घर पुरिँदा एकै परिवारका ६ जनाको मृत्यु

जीवन र मृत्युको दोसाँधमा रहेकी निर्मलाको कारुणिक अवस्था देखेर मानवसेवा आश्रम प्रदेश ५ को बुटवलस्थित शाखाले केही महिनाअघिदेखि बुटवलमै ल्याएर उपचार गरिरहेको छ । अहिले उनको स्वास्थ्य अवस्था सुधारोन्मुख भएको मानव सेवा आश्रम बुटवलकी प्रमुख सरु अधिकारी बताउँछिन् ।

आश्रमले विभिन्न ठाउँका यसैगरी बेसहारा जीवन बिताइरहेकालाई उद्धार गरी सहयोग गर्दै आएको छ । अहिले आश्रममा बेसहारा तथा अशक्तहरुको पालनपोषण र रेखदेख भइरहेको छ । इमेजखबरबाट

कमेन्ट गर्नुहोस्