सुर्खेतको कट्कुवामा २३ वटा गाई मृत भेटिए

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरस्थित कटकुवामा २३ वटा गाई मृत भेटिएका छन् । कटकुवा जंगलमा फेला परेका मध्ये एक सय ५० भन्दा बढी चौपायाहरू घाइते छन् । प्रहरीले गाई मारेको आशंकामा चालकसहित पाँचवटा ट्रक नियन्त्रणमा लिएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाले बजारका छाडा चौपाया दैलेखको शिरस्थान लैजाने भनी ल्याइएका चौपाया बीच बाटोमै छोडेर फर्किएका पाँच ट्रक र चालकलाई बबईबाट प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेकामाथि अनुसन्धान भइरहेको कर्णाली प्रदेशका प्रहरी प्रमुख डिआइजी पूर्णचन्द्र जोशीले बताए । स्थानीयहरूले भने सामूहिक गौहत्या गरिएको भन्दै दोषीमाथि कारबाहीको माग गरेका छन् । नेपालगन्जको कान्जी हाउसबाट बिहीबार राति आठ वटा ट्रकमा ल्याइएका दुई सय ९१ गाई शुक्रबार बिहान कटकुवा जंगलमा छोडिएको हुन सक्ने प्रहरीको अनुमान छ ।

याे पनि पढ्नुस  सुर्खेतमा छाडा पशुको गणना शुरु

उपमहानगरले छानबिन गर्ने
बाँके/पशु–चौपाया मरेको भन्ने विषयमा अध्ययन गर्न नेपालगन्ज उपमहानगरपालिकाले छानबिन गर्ने भएको छ । भिरबाट खसालेर गाई मारेको भन्दै शुक्रबार सामाजिक सञ्चालमा चर्चा भएपछि उपमहानगरले छानबिन समिति गठन गरी दोषीमाथि कारबाहीको प्रक्रिया अगाडि बढाउने भएको हो ।

पशु–चौपाया अशक्त, रोगी भएर स्वाभाविक मृत्यु भएको वा अन्य कारणले हो भन्नेबारे छानबिन गरिने कार्यवाहक नगरप्रमुख सुनीलसिंह हमालले बताए । छाडा पशु–चौपायाका कारण दिनहुँ सवारी दुर्घटना बढेकाले त्यसको न्यूनीकरण होस् भनेर सर्वदलीय सर्वपक्षीय बैठकबाट निर्णय गराई ती पशु–चौपाया दैलेख लैजान स्विकृति दिइएको हमालले जनाएका छन् ।

याे पनि पढ्नुस  गाई र राजा बोक्नेले नै गाई मारे– बाबुराम भट्टराई

राप्रपाद्वारा छानबिनको माग
काठमाडौं/राष्ट्रिय प्रजातन्त्र पार्टीले सुर्खेतको कटकुवामा गाई मारिएको घटनाबारे छानबिन गर्न माग गरेको छ । ‘हिन्दूहरूको आस्था एवं राष्ट्रिय जनावर गाई एकैपटक ठूलो संख्यामा मृत संख्यामा भेटिनु दुःखद, शंकास्पद र निन्दनीय छ । यस घटनाको तत्काल छानबिन गर्न तथा नियतवश जघन्य अपराध भएको भए दोषी पत्ता लगाई कडा कारबाही गर्न राप्रपा सरकारसँग जोडदार माग गर्छ,’ राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

याे पनि पढ्नुस  नुवाकोटमा जिउँदै पुर्दै गरिएको गाईको उद्दार

कांग्रेसको भत्र्सना
कांग्रेसले पनि गाई मारिएको घटनामा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘हाम्रो राष्ट्रिय जनावर मात्र नभएर धार्मिक दृष्टिकोणले पनि गाईको छुट्टै महत्व रहँदै आएको छ । नेपालको संविधानले संरक्षित गरेको गाईको हत्या गर्नु जघन्य अपराध हो,’ कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस्ता किसिमका घटना घट्नु अत्यन्त निन्दनीय एवं दुःखदायी विषय हो । गौहत्या कार्यप्रति नेपाली कांग्रेस संसदीय दल गम्भीर आपत्ति प्रकट गर्दै घोर भत्र्सना गर्दछ ।’ नयाँ पत्रिका दैनिकबाट साभार

कमेन्ट गर्नुहोस्