कहिले सार्वजनिक हुन्छ प्रा.वि तहको नतिजा?

काठमाडौं ।  शिक्षक सेवा आयोगले प्राथमिक तहको शिक्षकको खुल्ला प्रतिस्पर्धाको नतिजा आउँदो हप्तादेखि सार्वजनिक हुने भएको छ।

माध्यमिक र निम्न माध्यमिक तहको नतिजा सार्वजनिक भएको महिना दिन पुग्न लाग्दा पनि प्राथमिक तहको नतिजा सार्वजनिक नभएको गुनासो प्रतिस्पर्धीहरुले गरिरहेका छन्।

आयोगका प्रशासकिय अधिृकत डा. तुलसी प्रसाद थपलियाका अनुसार लिखित परीक्षामा उत्तीर्ण प्रतिस्पर्धीहरुको व्यक्तिगत विवरण रुजु गर्ने काम भइरहेको छ। धेरै व्यक्तिको विवरण रुजु गर्नुपर्ने भएका कारण केही समय ढिलो भएको उनले बताए।

आयोगले यो पटक प्राथमिक तहमा ९ हजार नौ सय ९६ वटा दरवन्दीमा शिक्षक छनोटको लागि विज्ञापन गरेको थियो। ती सबै कोटाका लागि १४ हजार १ सय २५ जना लिखित परीक्षाबाट छनोटमा परेको थपलियाले जानकारी दिए।

आयोगले एकै पटक विज्ञापन गरेको निम्न माध्यमिक तहका लागि १ हजार ५ सय ७४ र माध्यमिक तहका लागि एक हजार शिक्षक छनोट गरिसकेको छ। थपलियाले भने, ‘रुजु गर्ने काम करिब करिव सकिएको छ। सकेसम्म यसै साताबाट नतिजा सार्वजनिक गर्न सुरु गर्ने योजनामा छौं।’ अन्नपूर्ण पोस्ट् दैनिकबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्