बिहारमा रक्सी र चुरोटपछि अब पान मसालामा पनि कडाई, रजनीगन्धादेखि पान परागसम्म प्रतिबन्धित

पटना । बिहार सरकारले नागरिक स्वास्थ्यका क्षेत्रमा निकै महत्वपूर्ण निर्णय गरेको छ ।
तीन वर्ष अघि मदिरा निषेधित बिहारको घोषणा गरेपछि चर्चामा आएको बिहार सरकारले अब भने पान मसालामा पनि प्रतिबन्ध लगाएको छ ।

स्वास्थ्य विभागको उच्चस्तरीय बैठकले शुक्रबार यो निर्णय गरेको हो । अब राज्यमा पान मसालाको बिक्रि, उत्पादन, भण्डारण, सेवन र परिवहनलाई अवैध मानिनेछ ।

बिहारमा पान मसाला निकै लोकप्रिय मानिन्छ । बिभिन्न कम्पनीका पान मसालामा प्रतिबन्धले सरकारको राजस्वमा समेत प्रतिकूल असर पर्न सक्छ । तर राजस्वको तुलनामा जनताको स्वास्थ्य ठूलो भएको बिहार सरकारले बताएको छ ।

एम्सका वरिष्ठ चिकित्सक भने सरकारको यो निर्णय स्वागतयोग्य भएको बताउँछन् ।

यसबाट राज्यमा मुखको क्यान्सरमा निकै कमी आउने उनले बताए । यसका साथै कलेजदेखि अस्पतालसम्म पान मसाला खाएर थुक्ने र त्यसबाट हुने वातावरणीय प्रदुषणबाट समेत मुक्ति पाइने उनले बताए । उनले अब खैनीमाथि समेत प्रतिबन्ध लगाउनुपर्ने बताए ।
बिहारमा गुटखा भने यसअघि नै प्रतिबन्धित छ ।
बजारमा पाइने पान मसालाको स्याम्पलहरु ल्याबमा परीक्षण गर्दा त्यसमा प्रतिबन्धित केमिकल म्याग्नेशियम पाइएको पुष्टि भएको छ । त्यसैले यसमा एक वर्षका लागि रोक लागेको हो ।
यो अवधिमा पान मसाला कम्पनीले गुणस्तरीयता प्रमाणित गर्न सके फेरी बजारमा बेच्न सक्ने निर्णयमा उल्लेख छ ।
कुन कुन पान मसाला भए प्रतिबन्ध

रजनिगन्धा, राज निवास, सुप्रीम, पान पराज, राजश्री, रौनक, सिग्नेचर, कमला पसन्ध, मधु पान मसाला । यी सबैमा केमिकल मेग्नीशियम कार्बोनेट पाइएको हो ।

कमेन्ट गर्नुहोस्