सुर्खेतमा गाईगोरु मरेको घटनाको छानबिन गर्न समिति गठन

काठमाडौंः सरकारले सुर्खेतमा गाईगोरु मरेको घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ ।

गृह मन्त्रालयले उपसचिव सागरमणि पाठकको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरेको हो । समितिलाई घटनाबारे अध्ययन गरी १५ दिनभित्र कानुनी कारबाहीको सिफारिस गर्न भनिएको छ ।

गृह मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा गौहत्या गम्भीर अपराध भएको र घटनामा संलग्न व्यक्तिलाई कानुन बमोजिम हैदसम्म कारबाही हुने जनाएको छ । नेपालगञ्जको काञ्जी हाउसमा रहेका गाई, गोरु, बाच्छाबाच्छीलाई दैलेखको श्रीस्थान लैजान पठाइएको थियो ।

गृहले १८ गाई र ६ गोरु सहित २४ गाईगोरु मरेको भेटिएको उल्लेख गरेको छ । तर सुर्खेतमा मरेका गाईगोरुको संख्या ३४ पुगेको छ । सुर्खेतको विरेन्द्रनगर नगरपालिकाको कट्कुवा जंगलमा २५ ओटा र बेउरेनी जंगलमा ९ ओटा गाईगोरु मरेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

गाई गोरु छाड्ने ५ ओटा ट्रक र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रदेश प्रहरी प्रमुख डिआईजी पूर्णचन्द्र जोशीले जानकारी दिए । पाल्नका लागि भनेर ३ सय ७० ओटा गाइगोरु लैजान जिल्ला प्रशासन कार्यालय बाँकेले अनुमति दिएको थियो ।

कमेन्ट गर्नुहोस्