मुटुको रोग लागेकोछ कि छैन, यसरी आफै पत्ता लगाउन सकिन्छ भन्छन् डा. रावत

मुटुको रोग लागेको हो होइन भन्ने पत्ता लगाउन विभिन्न प्रकारका जटिल जाँच गराउनुपर्छ भनेर बिरामीलाई निक्कै चिन्तित बनाएको हुन्छ । आत्तिनु पर्दैन, यो रोगको सजिलोसंग निदान गर्ने तरिका पनि छन् । एउटा नाप्ने फित्ता महत्वपूर्ण साधन हुन सक्छ । अमेरिकी मुटु संघको बैठकमा हालै प्रस्तुत भएको एक प्रतिवेदनमा ठुलो कम्मर हुनु हृदयाघातको वा मुटुको रोगलाई छिटो निम्त्याउनु हो भनी जोड दिइएको छ ।

मुटु रोग विशेषज्ञहरु धेरै देशमा मृत्युको अग्रणी कारण बनेको मुटुको रोग लाग्ने सम्भावना बुझ्नका लागि कोलेस्टेरोलको स्तर, रक्तचाप, मोटोपन, अरु जाँचहरु नियमित रुपमा गराइरहन्छन् । मुटुको रोगबाट मृत्यु हुनाको प्रमुख कारण धूमपान र उच्च रक्तचाप हो भने त्यसपछि मोटोपन पनि हो । शरीरमा जम्मा भएको बोसो र हृदय रोग लाग्ने एउटा महत्वपूर्ण संकेत हो भनी तथ्यांकहरुले देखाएका छन् । बोसो बीचमा रहेको स्याउको आकारको पेट पिँधमा फैलिएको आरुको आकारको पेटभन्दा खतरनाक हुनछ ।

फ्रान्समा सन् १९६७ देखि १९८४ सम्म हृदयाघात वा मुटुसंबन्धी रोगबाट मृत्यु हुने सात हजार प्रहरीमा यो रोगको अध्ययन गरिएको थियो । उक्त अध्ययनमा कम्मरको गोलाई र शरीरको उचाइको अनुपातमा तौल कति रहेछ भन्ने पनि अभिलेख गरिएको थियो । शरीरको उचाईको अनुपातमा तौलको सूची (बिएमआई) कुनै व्यक्ति धेरै मोटो वा असाध्यै मोटो छ कि छैन भनी जान्न प्रयोग रिने सूची हो । यसअध्ययनले पेटको घनत्व बढी भएकालाई मुटुसंबन्धी रोग लागेको र चाँडो मृत्यु भएको तथ्य देखाएको थियो । यसबाट के प्रष्ट हुन्छ भने बढी तौल भएपनि कम्मरको गोलाई कम भएका मानिसलाई अकस्मात मृत्यु हुने डर कम हुन्छ । पुरुषका लागि ३७ इन्च गोलाई अन्तिम सीमा हो भने महिलाका ३३ इन्च हो । यसभन्दा बढी भए हृदयाघात हुने जोखिम बढ्छ ।

४५ वर्ष र सोभन्दा माथिका अमेरिकन वयस्क मानिसमा उनीहरुको कम्मर तथा गर्धनको गोलाई, तौलको मापन र पाखुरा तथा तिघ्राको छालाको बाक्लोपनबारे एक अनौठो खालको अध्ययन गरिएको थियो । यस अध्ययनले पनि जसको शरीरको बीचमा बोसो जमेको हुन्छ उसलाई विशेष प्रकारको मुटुको रोगबढी लाग्ने कुरा पक्का हो भने देखायो । यो रोगलाइ चिकित्साशस्त्रमा ‘लेफ्ट भेन्ट्रिकुलर डायस्टोलिक डिस्फङसन’ भनिन्छ । यो मुटु ठीक तरिकाले र राम्रोसंग चलेको छ/छैन भनी मापन गर्ने विधि हो ।

पाँच वर्षको अन्तरालमा मृत्यु भएका मान्छेका शवको शारीरिक बनोटको विश्लेषण गर्दा यस अध्ययनले कमजोर डायस्टोलिक फङसन र ठुलो कम्मर भएकालाई मृत्युको खतरा बढी हुन्छ भन्ने पत्ता लगाएको थियो र तौल, उचाई र शरीरको पिण्डको सूची लिनुको साटो अब कम्मर र गर्धनको गोलाईको नाप लिनु बेस हुन्छ भन्ने निचोड निकालेको थियो । केही वर्षपहिले तेस्रो अध्ययन पूरा भएको थियो । यसलाई ‘इन्टर हार्ट स्टडी’ नाम दिइएको थियो । यस अध्ययनलाई हृदयाघात हुने जोखिमका कारण के के हुन् भन्ने पत्ता लगाउन अहिलेसम्म भएको सबैभन्दा ठुलो अनुसन्धनात्मक योजनाका रुपमा लिइएको छ । यो अध्ययन नेपाललगायत ५२ मुलुकमा गरिएको थियो । नेपालमा यसलाई चाहिने तथ्यांक त्रिवि शिक्षण अस्पताल र नर्भिक अस्पतालबाट लिइएको थियो । यस क्रममा शरीरको समग्र तौल अथवा बिएमआई को जाँच गर्नुभन्दा कम्मर र नितम्बको अनुपात लिनु जरुरी छ भन्ने स्पष्ट भएको थियो ।

कम्मर र नितम्बको अनुपात कसरी नाप्ने ?

कम्मरको नाप लिँदा नाइटोदेखि गोलाई नाप्नुपर्छ ।

नितम्बको नाप लिँदा आफ्नो नितम्बको सबैभन्दा बढी फैलिएको भाग नाप्नुपर्छ ।

अनुपात कति हुनुपर्छ त ? पुरुषको ०.९ भन्दा कम र महिलाको ०.८ भन्दा कम ।

यदि यो अनुपात बढी छ भने आफ्नो तौल नियन्त्रण गर्न सुरु गरिहाल्नुपर्छ ।

तौलको व्यवस्थापन

स्वस्थ रहन सबैले आफ्नो तौलको जानकारी लिनुपर्छ । यो सजिलैसंग जान्न सकिन्छ । यसको सूत्र हो, आफ्नो उचाई (सेन्टिमिटर) मा १०० घटाउने । त्यसपछि आउने प्रतिफल नै आफ्नो वाञ्छित तौल हुन्छ । यो भनेको यदि आफ्नो उचाई १७० सेन्टिमिटर छ भने त्यसमा १०० घटाइदिनुहोस्, बाँकी ७० केजी तपाईंको हुनुपर्ने तौल हो । उदाहरणका लागि यदि कसैको उचाई १६७ सेमि छ र उसको तौल ८८ केजी छ भने उसको हुनुपर्ने तौल बढीमा ६७ केजीमात्र हो । यसको मतलब उसको २१ केजी तौल बढी छ र उसले त्यो २१ केजी बढी तौल घटाउने लक्ष्य लिइहाल्नुपर्छ । तौल व्यवस्थापन भनेको खाने र अरु बानीको व्यवस्थापन हो, जसले तौल घटाएर केही रोग लाग्ने जोखिम घटाउँछ । साधारणतयाः मुटुका मांसपेशी र यसको कार्यक्षमता ३० वर्षको उमेरपछि कम हँुदैं जान्छ । यस्तो घट्ने क्रम कम गर्नका लागि शारीरिक गतिविधि बढाउँदैं लैजानुपर्छ । हामीलाई के कुरा थाहा छैन भने उमेर बढ्दै गएपछि हामी कति निष्क्रिय हुन्छौं । उमेर, सम्पत्ति र पेशागत कुरा बढ्दै गएपछि शारीरिक रुपमा हामी कार्यालय तथा घरको दैनिक क्रियाकलापमा निष्क्रिय हुँदैं जान्छौं । त्यसैले हामीले क्यालोरी नष्ट गर्न उपयुक्त कोशिस गर्नुपर्छ । यसका लागि हाम्रो दैनिक जीवन व्यायामसहितको क्रियाशिल हुनुपर्छ । नियमित व्यायामले रगतको कोलेस्टेरोल, ट्राइग्लिसराइड्स, मधुमेह तथा रोगका अन्य कारण तत्वहरु घटाउँछ ।

प्रत्येक दिन शारीरिक तवरमा सक्रिय वा क्रियाशिल रहने लक्ष्य राख्नुहोस् । तौल बढी वा ज्यादै मोटोपन भए पनि तपाईं स्वस्थ रहनसक्नुहुन्छ । २५ हजारभन्दा बढी स्वयम्सेवक र अनुसन्धानकर्ताले एउटा अध्ययनबाट के पत्ता लगाए भने शारीरिक तौलभन्दा तन्दुरुस्ती मृत्युको सशक्त भविष्यवाणीकर्ता हो । बढी तौल भएको तर शारीरिक रुपमा ठीक नभएको मानिसभन्दा बढी तौल भएपनि शारीरिक रुपमा तन्दुरुस्त मानिसमा मृत्युको खतरा कम हुन्छ । युवाहरुले प्रत्येकदिनजस्तो ४० देखि ५० मिनेट व्यायाम गर्नुपर्छ । नियमित खाना खानु स्वास्थ्यवद्र्धक खानाको महत्वपूर्ण भाग हो । दिनभरिमा कम्तीमा ५ पटक थोरै थोरै खाना खानुपर्छ र खान कहिल्यै पनि छाड्नुहुँदैंन । खाना छाड्नेले त्यसपछिको खाना खाँदा धेरै खाने सम्भावना बढी हुन्छ । जहिले जहाँ पायो त्यहाँ खाएको भन्दा योजनाबद्ध तरिकाले समय समयमा खाएको खाना बढी सन्तुलित हुन्छ ।

(डा. रावत नर्भिक अस्पतालमा कार्यरत छन् । उनले कार्डियोलोजीमा डिएम गरेका छन् ।

हेल्थखबरबाट साभार

कमेन्ट गर्नुहोस्