यो सरकारले राम्रो गर्न नसके कांग्रेस, राप्रपाको पालोः नेकपा नेता शर्मा

काठमाडौंः  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का राष्ट्रिय सभाका संसदीय दलका नेता दिनानाथ शर्माले संघीयता कार्यान्वयनमा जटिलता देखिएको बताएका छन् ।

संविधान जारी गर्दाका सहयात्री दलहरुबीच नै एकरुपता कायम नभएको गुनासो पोख्दै नेता शर्माले भने, ‘संघीयताको बारेमा हामीहरुबीच एकरुपता भएको छैन ।’

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता शर्माले अझै पनि शिक्षा, स्वास्थ्य लगायतका महत्वपूर्ण क्षेत्रमा संघीयता कार्यान्वयनमा नगएको गुनासो पोखे । ‘अहिले पनि थुप्रै मन्त्रालयहरु संघीयताको मर्म र भावना अनुसार अघि बढेका छैनन्, संघीयता कार्यान्वयन गर्ने तर्फ कानुन तथा विधेयकहरु पेस भएका छैनन्’, उनले भने ।

उनले संविधान र मुलुकको व्यवस्था नयाँ भए पनि काम गर्ने शैली पुरानै भएको र ऐन, कानुन र विधेयकहरु नयाँ आउन नसकेको टिप्पणी गरे । उनले भने, ‘हाम्रो व्यवस्था सर्वोत्कृष्ट छ । तर, संविधान कार्यान्वयनमा समस्या छ ।’

शर्माले वर्तमान सरकार असफल नभएको स्पष्ट गरे । उनले भने, ‘यो सरकारले सर्वोत्कृष्ट काम गर्छ । हामीले नसके भोलि कांग्रेस र राजपाका साथीहरु सरकारमा आउने हो । दलीय प्रणालीमा यो नौलो कुरा होइन ।’ उनले केन्द्र सरकारका मन्त्रीहरुले प्रदेश तथा स्थानीय तहलाई अधिकार दिनको लागि हिचकिचाएको पनि आरोप लगाए ।

उनले भने, ‘संघका मन्त्रीहरुले तल अधिकार दिनको लागि अहिले हिचकिचाउने काम गर्नु भएको छ । तल अधिकार दिनको लागि कन्जुस्याइँ गर्नु हुँदैन । अधिकार जति आफ्नो मुठ्ठीमा राखेर बस्नु हुँदैन । यसरी कसरी देश समृद्ध हुन्छ ?’

कमेन्ट गर्नुहोस्