धनगढी : रोयल कोलाबोरेटिभ प्रा.लि. धनगढीको आयोजनामा मिस फारवेष्ट नेपाल दास्रो संस्करण धनगढीमा हुने भएको छ । पहिलो संस्करण सफलताका साथ सम्पन्न गरिसकेको यस प्रा.लि.ले यो बर्ष दोस्रो संस्करण आयोजना गर्न लागेको हो ।
सुदूरपश्चिम प्रदेशका प्रतिभावान युवतीहरुले प्रतियोगितामा सहभागिता जनाउन पाउने आयोजकले जानकारी दिएको छ । यस प्रतियोगिताले युवतीहरुको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गराउने तथा क्षमता अभिवृद्धि र व्यक्तित्व विकास गर्ने उद्धेश्य लिइएको आयोजक संस्थाका मिडिया संयोजक देबेन्द्र जोशीले बताए ।
साथै सुदुरपश्चिलाई राज्यले सधै पिछडिएको क्षेत्रका रुपले हेर्ने र यस क्षेत्रका महिलालाई पनि सोही अनुसारले हेर्ने मानसिकतालाई दुरुत्साहन गर्ने बिश्वास आयोजकले लिएको छ । यस प्रतियोगितामा प्रतियोगीहरु अडिसनको माध्यमबाट छनोट हुने छन । अडिसन धनगढी, टिकापुर र महेन्द्रनगर हुनेछ ।
यस प्रतियोगितामा प्रथम हुनेले स्कुटर पाउने छ भने दोस्रो र तेस्रो हुनेले क्रमश ५० हजार, २५ हजार पुरस्कार पाउने आयोजकले जानकारी दिएको छ । साथै विभिन्न बिधामा उत्कृष्ट हुने दश जनालाई उपाधिसंगै गिफ्टह्याम्पर पनि प्रदान गरिने छ ।
प्रतियोगितामा नेपाली नागरिक, कक्षा १० पास गरेको र १६ देखि २५ बर्ष ननाघेकोले भाग लिन पाउने छन् । यस प्रतियोगितामा सहभागी हुनेहरुका लागि आयोजकले शनिबारदेखि आवेदन फारम खुल्ला गरेको छ ।