३० क्वीन्टल चाँदी बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले मुद्रा व्यवस्थापन विभागले ३० क्वीन्टल चाँदी बिक्री गर्न लागेको छ। मुद्रा व्यवस्थापन विभागको टक्सार महाशाखाले बिहीबार विज्ञापन गर्दै चाँदी किन्न इच्छुकले सम्पर्क गर्न आह्वान गरेको हो।

‘यस महाशाखामा रहेका ९९५ र सो भन्दा कम टच भएका करिब ३ हजार किलोग्राम चाँदी जे जस्तो अवस्थामा छन् सोही अवस्थामा देहायको प्रक्रियाबोमोजिम बिक्री गरिने भएको छ’, महाशाखाको विज्ञापनमा भनिएको छ, ‘इच्छुक व्यक्ति(व्यवसायिक फर्महरुले उपलब्ध परिमाणमध्ये आफूले चाहेको परिमाण खरिदका लागि यस महाशाखामा सम्पर्क गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ।’

सूचना प्रकाशित भएको मितिदेखि सातदिन भित्र खरिद आवेदन पेश गर्न उक्त विज्ञापनमा उल्लेख गरिएको छ। खरिदकर्ताहरु एकजना भन्दा धेरै भएमा अधिकतम तौल खरिद गर्न चाहने खरिदकर्तालाई प्रथामिकता दिइनेसमेत विभागले जनाएको हो।

सुनचाँदी तथा अन्य धातु खरिद, टकमरी र बिक्री सम्बन्धी कार्यविधि २०७५ अनुसार सुनचाँदी व्यवसायी महासंघले निर्धारण गरेको चाँदीको दैनिक मूल्यबोमोजिम उक्त चाँदी बिक्री हुने विज्ञापनमा उल्लेख छ। चाँदी खरिद गर्नका लागि मुद्रा व्यवस्थापन विभागको टक्सार महाशाखा सुन्धारामा सम्पर्क गर्न सकिने छ। अन्नपूर्ण पोष्ट् दैनिकबाट

कमेन्ट गर्नुहोस्