विदेशी यौनकर्मीको अखडा बन्दै काठमाडौं

काठमाडौंः  पर्यटन भिसामा आएका कतिपय विदेशीहरू वेश्यावृत्तिमा समेत संलग्न रहेको प्रहरीले जनाएको छ । जसमा चिनियाँ, रसियनदेखि उज्वेकिस्तान युवतीहरू छन् । दुई–तीन वर्षदेखि नेपालमा अवैध रूपमा बस्ने उज्वेकिस्तानका युवतीको संख्या ठूलो रहेको र उनीहरू वेश्यावृत्तिमा संलग्न रहेको अनुगमनबाट खुलेको अध्यागमन विभागका एक अधिकारीले बताए ।

विगतमा वेश्यावृत्ति धन्दा चलाएको आरोपमा १० चिनियाँ युवतीलाई पक्राउ गरी निष्कासन गरिएको थियो । अफ्रिकी देशका केही युवतीसमेत नेपालमा यस्तो धन्दामा संलग्न रहेको प्रहरीको आकलन छ ।

आर्थिक सहयोगको आवरणमा भित्रिँदै बालयौन दुराचारी
बाल यौन दुराचारका लागि समेत नेपाल विश्वको प्रमुख गन्तव्य बन्न पुगेको छ । त्यसविरुद्ध प्रहरीले विशेष अभियान नै चलाएको छ । पछिल्लोपटक अस्ट्रेलियाका ६३ वर्षीय बेरीम्यान थोमस अल्फर्डलाई प्रहरीले पोखराबाट पक्राउ गरेको थियो । आर्थिक सहयोगको आवरणमा धेरैले नेपाली बालकलाई यौन दुराचार गर्ने प्रवृत्ति देखिएको सिआइबीका डिआइजी नीरज शाही बताउँछन् ।

समूह नै बनाएर बाल यौन दुराचारी नेपाल आउने गरेको सिआइबीको अनुसन्धानमा खुलेको थियो । राष्ट्रसंघका पूर्वअधिकारीसमेत रहेका क्यानेडियन नागरिक पिटर जन डाल्ग्लिससहित २० भन्दा बढी विदेशी हाल बाल यौन दुराचार मुद्दामा नेपालका जेलमा छन् । यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्