शास्त्रीय सङ्गीतमा रमाउँदै, साधक जन्माउँदै

२०५३ साल । जमाना क्यासेटको थियो । सुदूरपश्चिमा गीत रेकर्ड गर्नका लागि रेकर्डिङ स्टुडियो स्थापना भइसकेका थिएनन् । त्यसकारण त्यहाँका मानिसलाई गीत रेकर्ड गर्नुपरेमा काठमाडौं आउनु बाध्यता नै थियो । त्यही बाध्यताले गर्दा बैतडीका तिलक सिंह पेला पनि आफ्ना दाजु कृष्णसिंह पेलाको साथमा काठमाडौं हानिए ।

भदौ महिनालाई बिदा गर्दै दशैंलाई तयारी गर्ने तरखर चलिरहेको थियो । गायक गायिकाहरू पनि दशैंका गीत सकेसम्म चाँडो रेकर्ड गरेर बजारमा ल्याउनका लागि स्टुडियोमा दिनहुँ धाइरहन्थे । त्यतिबेला काठमाडौंमै पनि गीत रेकर्डिङ स्टुडियो धेरै थिएनन् । भएका पनि खास्सै नाम चलेका थिएनन् । नाम चलेको स्टुडियो थियो, ‘म्यूजिक नेपाल’ । त्यहाँ गायक गायिकाको घुइँचो नहुने कुरै भएन ।

नाम चलेका गायक गायिकाको भीडमा गायक हुनका लागि पुगेका थिए, बैतडीका तिलक । दशैं नजिकिँदै गएका कारण स्टुडियोमा गीत गाउनका लागि समय लिनुपर्दो रहेछ । तर, तिलकलाई भने त्यो थाहा थिएन । उनी गीत गाउने एकमात्र लक्ष्यका साथ दाई कृष्णलाई लिएर काठमाडौं गएका थिए । त्यहाँ उनले म्यूजिक नेपालका मदन दीपविमलाई भेटे । बैतडीबाट आएको बताएपछि उनले तिलकलाई सोधे, ‘देउडा गीत गाउन आउनुभएको हो ?’ तिलकको जवाफ थियो, ‘हैन, आधुनिक गीत ।’

‘सुदूरपश्चिमको मान्छे आधुनिक गीत गाउने ! मैले त अहिलेसम्म देखेको छैन त,’ उनले आश्चर्य जनाउँदै भने । उनले तिलकले आधुनिक गीत गाउलान् भन्ने अझै पत्याएनन् र गीत गाउन लगाए । हार्मोनियम बजाउन दिए । अनि तिलक गुञ्जिए, ‘लुकाउन खोज्दा पनि…।’ यो गीत गाएपछि भने उनले पत्याए र तिलकलाई गीत गाउनका लागि समय मिलाइ दिए ।

२३ वर्ष अगाडि भदौ महिनाको प्रसंग सम्झँदै पेलाले भने, ‘एक एल्बम नै निकाल्ने तयारीका साथ काठमाडौंको गीत रेकर्डिङ स्टुडियो म्यूजिक नेपाल पुगेको थिएँ । एक गीत गाएर साङ्गीतिक क्षेत्रको प्रारम्भ गरेँ ।’ म्यूजिक नेपालका मदन दीपविमले भनेजस्तै सुदूरपश्चिमलाई देउडाको खानी भनेर चिनिन्छ । कतिपयले अझै पनि सुदूरपश्चिममा देउडा गीत मात्रै गुञ्जिन्छन् र गाउँछन् भन्ने ठान्छन । यो मानसिकतालाई चिर्दै दशकौंअघि आधुनिक गीत सङ्गीतको क्षेत्रमा प्रवेश गरेका तिलक अहिले शास्त्रीय संगीतको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएका छन् ।

यसरी लागे सङ्गीतमा

२०३२ सालमा बैतडीको दशरथचन्द नगरपालिका–७ कुरालामा जन्मेका पेला कक्षा १० सम्म पढ्दा भलिबल खेलाडीका रुपमा चिनिन्थे । भलिबल खेल्दाको क्षण सम्झिँदै उनी भन्छन्, ‘मैले खेल्ने टीमले कहिल्यै हार्नु परेन । उचाई बढी भएका कारण र दुबै हातले सट हान्न सक्ने भएकाले म राम्रो खेलाडी नै मानिन्थे ।’

भलिबल खेलेर चिनिएका पेला सङ्गीतबाट पनि प्रभावित थिए । गाउँमा रामलीला भइरहन्थे । त्यहाँ शास्त्रीय सङ्गीत गुञ्जिने गर्थ्यो । गाएको, हामोर्नियम बजाएको त्यही देखेका थिए, पेलाले । ‘रामलीला हेर्दा र सुन्दा आधुनिक र शास्त्रीय सङ्गीतप्रति लगाव बढेको हो,’ उनले थपे, ‘त्यसपछि सुदूरपश्चिममा बढी मात्रामा गाइने देउडाभन्दा पनि केही पृथक गरौँ भन्ने लाग्यो ।’

उनका दाई कृष्ण पनि सङ्गीतका पारखी नै थिए । उनको रुचि साहित्य र आधुनिक गीतमा थियो । उनै दाई कृष्ण थिए, पेलाका प्रेरणाका स्रोत । ‘दाईले रेडियोबाट गीत सुनेर कपीमा लेख्थे, मैले धुन टिपेर गाउँथे,’ उनले भने । उनी पढ्ने स्कूलमा नेपाली शिक्षक टेक बहादुर चन्द पनि पेलाका प्रेरणका स्रोत हुन । चन्दले भनेका थिए, ‘कति अरुको गीत गाउछौं । आफ्नै धुनमा गाउने कोसिस गर्नुपऱ्यो ।’

‘शिक्षक चन्दको भनाईबाट प्रभावित भएँ, अनि मैले आफैं गीत कम्पोज गरेँ,’ उनले भने ।
उनको गीत थियो,  ‘उदास उदास साँझमा, तस्बीर लिएर हातमा
गाउँदैछु एउटा गीत, प्रियसीको यादमा…’

गीतलाई दाईले मन पराए । शिक्षक चन्दलाई पनि गीत मन पर्यो । दाई र गुरुका कारण सङ्गीत यात्रा थालेका पेला सुरुमा गाउँमै प्रस्तुती देखाउन थाले । सो क्रममा दाई कृष्ण र पेलाका दाजु पर्ने अर्का शिक्षक प्रेमसिंह थपाको सहयोगमा गाउँकै विद्यालयमा साङ्गीतिक कार्यक्रमको आयोजना गरियो । ‘विरेन्द्र मावि शाहीलेकमा एक दिन समय मागेर प्रस्तुती देखाउन खाजेका थियौं, अर्को स्कूल बन्द गरेर शिक्षक र विद्यार्थी मेरो साङ्गीतिक कार्यक्रममा आए । पछि शिक्षक थापाको सुसुराली दार्चुला गएर पनि गीत गाएँ,’ साङ्गीतिक जीवनका प्रारम्भका दिन सम्झिँदै पेलाले भने ।

सिक्दै र सिकाउँदै

२०५३ सालको भदौमा नै पहिलो आधुनिक गीत रेकर्ड गराएका पेलाले ०५३ सालको अन्त्यतिर रेडियो नेपालको स्टुडियोबाट ‘आँसु’ एल्बम निकाले । त्यसमा स्वर पेलाको थियो भने शब्द दाई कृष्णको । त्यसपछि लगत्तै उनले ‘बिछोडको आँसु’ ल्याए । बैतडीको भाषामा निकालिएको उक्त एल्बमलाई पेलाले नै कम्पोज गरेका छन् ।

आँँसु भाग–१ र भाग–२ को कलेक्सनका साथै सञ्जय जुग्जालीको रचना ‘उनको खुसीमा’ बोलको गजल गाएपछि भने पेला सिक्न र सिकाउनमा केन्द्रित भए । लामो समय गीत गाएनन् । स्वर राम्रै थियो, सुन्नेले पनि राम्रै भन्थे । तर, किन छोडे त उनले गाउन ? यो प्रश्नमा उनले भने, ‘मैले केही नसिकेरै गीत गाएको थिएँ । तर पनि स्रोताले मन पराउनु भयो । गीत गाउनु र मन पराइदिनु ठूलो कुरा रहेनछ । आफू र स्रोतालाई ढाँट्न सकेन ।’

सो क्रममा उनलाई धेरैले गायन सिकाइदिन भन्थे । तर, उनी आफैंले गाउनबाहेक केही सिकेका थिएनन् । ‘मैले गीत गाएको भए सदाबहार गायक बन्थेँ होला,’ उनले मुस्कुराउँदै भने ।

धनबहादुर गोपाली र बनारस घरानाका पण्डित देवाशीष दे पेलाका सङ्गीत गुरु हुन् । अझै पनि उनी सङ्गीत सिकिरहेका छन् । सिक्ने कुरा कहिल्यै पुरा नहुने उनको बुझाइ छ । त्यही कुरालाई मनन गर्दै उनले सङ्गीत सिक्दै र सिकाउँदै आएका छन् ।

पेलाले २०६० सालमा महाराजगंजमा रहेको आस्था कला केन्द्रमा एक वर्ष सङ्गीत सिकाएपछि आफैं सङ्गीत पाठशाला खोलेर सिकाउँदै आएका छन् । उनको पाठशाला हो, ‘श्री कृष्ण गुरुकुल सङ्गीत पाठशाला ।’ जुन वनस्थलीमा छ । जहाँ ५० जनाले शास्त्रीय सङ्गीत सिकिरहेका छन् ।

उनले दर्जनौ चेला उत्पादन गरिसकेका छन् । उनका चेलासमेत बजारमा चिनिसकेका छन् । शास्त्रीय सङगीतको विकासमा दशकौं विताएका पेलाले दर्जनौ गीत कम्पोज त गरेका छन्, तर रेकर्ड गराएका छैनन । पछिल्लो समयमा भने एउटा एल्बम रेकर्ड गराएका छन्, एल्बममा ८ गीत छन् । एल्बमको नाम भने राखिएको छैन ।

सङ्गीतमा दशकौं बिताएका तर, धेरै गीत रेकर्ड नगराएका पेला पछिल्लो समय गीत रेकर्ड गराउने पक्षमा छन् । उनका चेलालाई धेरैले सोध्ने एउटै प्रश्न हो, ‘तपाईंको गुरुले कस्तो गाउँछन् ? स्वर कस्तो छ ? सुनौँ न गीत ?’ तर, पेलाले क्यासेट मात्रै निकालेका छन् । उनका गीत यूट्युवमा खाजेर भेटिन्छन् तर ती उनका प्रशंसकहरूले राखिदिएका हुन् । लामो समय गायनबाट टाढा रहेकाले उनका चेलाले प्रश्नको उत्तर नै दिन पाउँदैनन् । त्यसै कारण पनि पेला पछिल्लो समय गीत गाउने पक्षमा छन् ।

उनी गर्व गर्दै भन्छन्, ‘मैले धेरै गीत नगाएको भए पनि मेरा चेलाहरूले गाइसकेका छन् । मलाई धेरैले नचिने पनि मेरा चेलाहरूलाई चिन्न थालेका छन् । म बजारमा आउनुअघि मेरा चेलाहरू बजारमा आइसकेका छन् । यसैमा मलाई गर्व लाग्छ ।’

रिदम कँडेल, आशा थापा, सुशील गड्तौला, कमल विष्ट, जीवन घर्तीमगरलगायतका दर्जनौंलाई शास्त्रीय सङ्गीतमा अब्बल र दख्खल राख्ने साधक पेलाले बनाइसकेका छन् । धेरैले गीत गाइसकेका छन्, कोही सङ्गीत पनि सिकाइरहेका छन् ।

‘सङ्गीत अनिवार्य विषय हो’

सङ्गीतलाई पेला अनुशासित विधा ठान्छन् । यसको विकास गरेर युवाहरूलाई ज्ञान दिन सकेमा कुलतबाट छुटकारा दिन सकिने उनको तर्फ छ । तर, त्यसको विकासका लागि सरकारी क्षेत्रबाट कुनै पहल हुन नसकेकोमा भने उनी दुःखित छन् । त्यसका लागि कुनै सरकारी नीतिसमेत छैन ।

‘शास्त्रीय सङ्गीतलाई मानिसहरू रमाईलो विषयको रूपमा लिन्छन् । वास्तवमा यो पढ्नैपर्ने अनिवार्य विषय हो,’ उनले सरकारसँग माग गर्दै भने, ‘निमावि तहसम्म शास्त्रीय सङ्गीतलाई अनिवार्य गर्दै एक विद्यालयमा दुई जना शिक्षकको व्यवस्था मात्रै गरिदिएको भए, शास्त्रीय सङ्गीत कहाँ पुग्थ्यो ।’

उनी शास्त्रीय सङ्गीतलाई रुखको जराको रुपमा अर्थ्याउँछन् । ‘जुनसुकै सङ्गीत गाए पनि राम्रो साधक बन्ने हो भने शास्त्रीय सङ्गीत सिक्न अनिवार्य छ । यसले सस्तो लोकप्रियता हैन, साधक बनाउँछ र आफैं चिनाउँछ,’ पेला थप्छन्, ‘शास्त्रीय सङ्गीत विनाको सङगीत विवाहमा गेटमा लगाइएको केराको थुमजस्तै हुन्छ । एक दुई दिनमै सुकेर जान्छ ।’

कमेन्ट गर्नुहोस्