चीनले मनाङमा अस्पताल बनाउन ३५ कराेड बढी दिने

काठमाडौं । चीनले सीमा जोडिएको मनाङमा अस्पताल बनाइदिने भएको छ । मनाङ अस्पताल पुनर्निर्माणका लागि चीनले दुई करोड २० लाख युआन (रु.३५ करोडभन्दा बढी) सहयोग गर्नेछ ।परराष्ट्रमन्त्री ज्ञवाली र विदेशमन्त्री वाङको उपस्थितिमा उक्त सम्झौता भएको हो । अर्थसचिव राजन खनाल र चिनियाँ अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सीआईसीडीए) का उपाध्यक्ष डेङ बोकिङले आपत्कालीन आवास तथा मनाङ अस्पताल पुनर्निर्माण परियोजनासम्बन्धी ‘लेटर अफ एक्सचेन्ज’ मा हस्ताक्षर गरेका थिए । आपत्कालीन आवास सहायताअन्तर्गत चीनले ९५ लाख युआन बराबरका पाँच हजार त्रिपाल उपलब्ध गराउनेछ ।

यस्तै स्वयंसेवक चिनियाँ शिक्षक कार्यक्रमसम्बन्धी समझदारीपत्रमा शिक्षा सचिव महेश्वर दाहाल र चिनियाँ राजदूत हउ यान्छीले हस्ताक्षर गरेका छन् । सहमतिअनुसार चिनियाँ शिक्षा अध्ययनका चीनले सरकारी विद्यालयमा स्वयंसेवक पठाउनेछ । परराष्ट्रमन्त्री स्तरमा भएको वार्तामा मन्त्री ज्ञवालीसहित अर्थमन्त्री युवराज खतिवडा, पररराष्ट्र सचिव शंकरदास बैरागी, राजदूत लीलामणी पौड्याल लगायत थिए । यस्तै विदेशमन्त्री वाङ नेतृत्वको टोलीमा विदेशसचिव लु झाउबी, सीआईसीडीएका उपाध्यक्ष डेङ बोकिङ, राजदूत हउ यान्छी, विदेश मन्त्रालयको एसिया विभागका प्रमुखको उपस्थिति थियो ।

कमेन्ट गर्नुहोस्