मोदीको दावी झूठो निस्कियो, कश्मिर मुद्दामा फेरी मध्यस्थताको प्रस्ताव राखे ट्रम्पले

काठमाडौं, भारत र पाकिस्तानबीच कश्मिरको विषयमा चुलिएको तनाव कम गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरी मध्यस्थताको प्रस्ताव राखेका छन् ।

भारतीय मिडियाहरुले भने केही दिन अघि मात्रै ट्रम्प र मोदीबीच भेट हुँदा कश्मिरको विषय द्विपक्षीय भएकोले तेश्रो पक्षको उपस्थिति आवश्यक नहुने विषयमा विश्वका नेताहरु सहमत भएको प्रचार गरेका थिए ।

तर भारतीय प्रधानमन्त्री र मिडियाको दावी विपरित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चौथो पटक मध्यस्थताको प्रस्ताव राखेका हुन ।
गत अगस्त २६ का दिन जी ७ को समिटमा प्रधानमन्त्री मोदी र राष्ट्रपति ट्रम्पका बीच बैठक भएको थियो । त्यतिखेर ट्रम्पले कश्मिर द्विपक्षीय विषय भएको भनेको भन्दै भारतीय मिडियाले निकै प्रचार गरेका थिए ।

ट्रम्पले भने भारत र पाकिस्तान दुबै देशससँग राम्रो सम्बन्ध रहेको बताउँदै भने ः तपाईहरुलाई थाहा नै छ, भारत र पाकिस्तानबीच कश्मिरको विषयमा द्वन्द्व चलेको छ । मेरो दुबै देशसँग राम्रो सम्बन्ध छ । म उनीहरुलाई मद्दत गर्न चाहन्छु र उनीहरुलाई पनि यो थाहा छ ।”

यसअघि २२ जुलाईका दिन पाकिस्तानी प्रधानमन्त्री इमरानको अमेरिका भ्रमणको बेला पहिलोपटक ट्रम्पले मध्यस्थताको कुरा गरेका थिए । भारतका प्रधानमन्त्रीले नै मध्यस्थताका लागि अनुरोध गरेको बताएपछि मोदीले यसको खण्डन गरेका थिए ।

भारतीय मिडियाले जति दावी गरेपनि अमेरिकाले भारत र पाकिस्तानसँग सन्तुलित सम्बन्ध बनाउन खोजेको देखिन्छ । अझ रुससँग भारतको सम्बन्ध झांगिन थालेपछि रुस र चीनको प्रभावबाट पाकिस्तानलाई मुक्त राख्न र अफगानिस्तानमा पाकिस्तानको साथ खोज्न अमेरिकाले पाकिस्तानलाई काखी च्याप्न सक्ने कतिपयले आँकलन गरेका छन् ।

कमेन्ट गर्नुहोस्