सीपीएलः गेलको शतक खेर, २४२ रनको लक्ष्य दिँदा पनि टिम पराजित

काठमाडौंः  क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत सातौं खेलमा किट्स एन्ड नेभिस पेट्रियट्सलाई २४२ रनको विशाल लक्ष्य दिँदा पनि क्रिस गेलको टिम जमैका तल्लवास ४ विकेटले पराजित भएको छ ।

२४२ रनको विशाल लक्ष्यका साथ जवाफी ब्याटिङमा आएको पेट्रियट्सले १८.५ ओभरमै पूरा गर्यो ।

पेट्रियट्सको जीतमा ओपनर इभन लुईस र डेभोन थोमसले विष्फोटक ब्याटिङ गरे । लुईसले १८ बलमा ५३ र थोमसले ४० बलमा ७१ रन बनाए ।

यस्तै लउरी भइन्सले ४१, सामरस ब्रुक्र्सले २७ र फाबियन आलेनले नट आउट १५ बलमा ३७ रनको योगदान दिए ।

बलिङमा जमैकाका लागि ओसेन थोमसले ४ र आन्द्रे रसेलले २ विकेट लिए । यसअघि टस हारेर ब्याटिङको मौका पाएको जमैकाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २४१ रन बनाए ।

उसका लागि क्रिस गेलले विष्फोटक प्रदर्शन गरे । उनले १० छक्का र ७ चौकाको मद्दतमा ६१ बलमा ११६ रन बनाए । यस्तै चाडविक वाल्टनले ७३, आन्द्रे रसेलले ९ र ग्लेन फिलिप्सले ८ रन बनाए ।

बलिङमा पेट्रियट्सका फाबियन आलेन र अल्जारी जोसपिचले २–२ विकेट लिए । योसँगै गेलको टिमको यो लगातार दोस्रो हार हो । पेट्रियट्सको भने यो सीपीएलमा पहिलो जीत हो । पेट्रियट्सले आफ्नो तेस्रो खेलमा भोलि बिहान नेपाली लेग स्पिनर सन्दीप लामिछानेआवद्ध टिमसँग भिड्दै छ ।

कमेन्ट गर्नुहोस्