Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

२० वर्ष पहिला भारतमा अपहरण भएका छोरा फेला परे अमेरिकामा, पूरा भएन आमासँग धित मारेर कुरा गर्ने धोको

काठमाडौँ, भारतमा २० वर्षअघि अपहरणमा परेको एक बालकलाई अमेरिकामा फेला पारिएको छ। दक्षिण भारतीय राज्य तमिलनाडुको राजधानी चेन्नई निवासी नागेश्वर राव र शिवगामीका दुई वर्षका छोरा अविनाशलाई सन् १९९९ मा एक जना अटो रिक्सा चालकले अपहरण गरेर मलेसियन सोसल सर्भिस नामक सामाजिक संस्थालाई बेचिदिएका थिए।

उक्त संस्थाले त्यसै वर्ष चेन्नईका तीन सय भन्दा बढी असहाय बालबालिकालाई अमेरिका, अस्ट्रेलिया र नेदरल्यान्ड्स जस्ता देशहरूमा पठाएको थियो। सीबीआईको छानबिनबाट अविनाशलाई एउटा अमेरिकी दम्पत्तिले धर्मपुत्र बनाएर पालेको खुलेको छ।

अविनाशको अपहरण लगत्तैदेखि खोजबिन गरिएपनि सीबीआईले भने यस मामिलामा पहिलोपल्ट २००९मा अविनाशको डीएनए परीक्षण गरेको थियो।

उक्त परीक्षणबाट उनी नागेश्वर राव र शिवगमी का छोरा भएको पत्ता लागेको थियो। छोराको पत्ता दश वर्ष पहिले नै लागे पनि अमेरिकी कानुनमा यसरी धर्मपुत्र पालिएका बच्चालाई उनका वास्तविक मातापितासँग भेट्न नपाइने प्रावधान रहेकाले राव दम्पत्तिले आफ्ना छोरालाई दश वर्षसम्म भेट्न पाएका थिएनन्।

अविनाश यसै महिना २२ वर्षका भएकाले उनका वास्तविक मातापिताले उनलाई भेट्न पाएका थिए। गत सेप्टेम्बर ५ मा आफ्ना असली मातापितालाई भेटेका अविनाश निकै भावुक भएको बताइन्छ।

२० वर्षपछि आमा र छोराको भेट भएपनि दुवैका बीच भाषा तगारो बनेको छ। अविनाशलाई अंग्रेजी मात्र आउँछ भने उनकी आमा तमिल भाषा बोल्ने गर्दछिन्। एक अर्काको भाषा नबुझेपनि आमा छोरा एकअर्कालाई भेटेर निकै खुसी भएको समाचार भारतीय मिडियाले लेखेका छन्।

अहिले दुवै आमाछोराले दोभाषेको मध्यमले कुराकानी गर्ने गरेको बताइन्छ। आफ्ना वास्तविक आमाबुवालाई भेट्न चेन्नई आएका अविनाशले आफू अमेरिकामै बस्न चाहेको बताए। उनले भने, “मा धेरै खुसी छु, म वहाँसँग
धेरै कुरा गर्न चाहन्छु तर हाल मैले फर्किनु पर्ने भएको छ। म छिट्टै फर्किने छु। ”

अविनाशले अर्को पटक आउँदा तमिल भाषा सिकेर आउने र आमासँग धित मारेर कुरा गर्ने बताए। उनले भने, “म मेरी आमालाई बाताउन चाहन्छु कि मलाई उनलाई भेटेर कस्तो महसुस भैराखेको छ भन्ने कुरो बताउन चाहन्छु। ”

उनले भने, “म कुनै अनुवादक बिना नै आमासँग कुरा गर्न चाहन्छु र आफ्नो मनमा लागेका कुरा वहाँसंग साझा गर्न चाहन्छु।”

कमेन्ट गर्नुहोस्

%d bloggers like this: