नेकपा सचिवालयले गर्यो दुइवटा महत्वपूर्ण निर्णय

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज बसेको सचिवालय बैठकले दुईवटा विषयमा निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले आगामी उप निर्वाचनमा भाग लिने र पार्टी एकतासम्बन्धी निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिँदै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले निर्वाचन आयोगले जारी गरेको सूचनाका आधारमा स्थानीय तहदेखि संघीय संसदसम्म रिक्त रहेका पदमा पार्टीले चुनाव लडन आवश्यक पर्ने सबै तयारी गरी दल दर्ता गर्ने निर्णय गरेको हो । यसअघि निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले बेग्लाबेग्लै दलका रुपमा निर्वाचन लडेपनि अहिले एकतापछि भने नयाँ दल दर्ता भएको छैन ।

आवश्यक प्रक्रिया पुरा गरी यही महिनाभित्र दल दर्ता गर्न महासचिव विष्णु पौडेलको जिम्मेवारीमा आवश्यक कार्य गर्ने निर्णय गरेको श्रेष्ठले जनाए । यसैगरी एकतासम्बन्धी बाँकी रहेका विषयमा भने अर्को बैठकमा निर्णय गरिने उनले जनाए ।

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुर गएको बेला अर्का अध्यक्ष प्रचण्डले दुईपटक सचिवालयको बैठक बोलाएका थिए । त्यसयता भने बेठक बस्न सकेको थिएन ।

नेकपाभित्र सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउने र एकताको प्रक्रिया टुंग्याएर तत्काल जनतामा अभियान लिएर जानुपर्ने मत बलियो रहेको छ । सरकार र पार्टीको आलोचना चुलिएको र गणतन्त्रविरोधी सक्रिय रहेको भन्दै यस विषयमा पार्टीले ठोस निर्णय गर्ने कुरा शीर्ष नेताहरुले समेत पटक पटक व्यक्त गर्दै आएका छन् ।

आजको बैठकले भने यो लगायतका विषयमा कुनै निर्णय भने गरेको छैन ।

पार्टीले तत्काल नै कार्यकर्ता परिचालन गर्ने गरी कार्यक्रम सञ्चालन गर्नुपर्ने माग कार्यकर्ताको रहेको देखिन्छ ।

नेकपाभित्र पूर्व एमाले समूहभित्र अध्यक्ष ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीचको सम्बन्धमा तिक्तता आएपछि अहिले कतिपय निर्णयहरु प्रभावित बनेको एकजना सचिवालय सदस्यले एभरेष्टदैनिकलाई बताए । संगठनात्मक एकता र कार्यशैलीसम्बन्धी निर्णयका साथै सरकार सञ्चालनका बारेमा समेत दुबै नेताबीच असहमति भएपछि कतिपय विषयहरु टुंगो लाग्न नसकेको उनले बताए ।

प्रधानमन्त्री केपी ओली सिंगापुर जानु अघि माधव नेपालसँग उनको निकै कटु संवाद मिडियामा सार्वजनिक भएको थियो । प्रधानमन्त्री फर्केपछि समेत दुबै नेताबीच सुमुधुर सम्बन्ध स्थापना हुन नसकेको बताइन्छ ।

पार्टीका अर्का अध्यक्ष प्रचण्डले भने पार्टी एकतालाई तत्काल टुंग्याएर जनअभियान शुरु गर्नुपर्ने कुरा बारम्बार व्यक्त गर्दै आएका छन् । सरकार र पार्टीको ग्राफ खस्किएको तथा पार्टी नेता एवं कार्यकर्तामा पनि वैचारिक र नैतिक स्खलन आएकोमा उनले आफ्ना कतिपय भाषणमा गुनासो गरेका छन् ।

कमेन्ट गर्नुहोस्