काठमाडौंका मिठाई पसलमा अनुगमन, भेटिए मिति नाघेका मिठाई !

काठमाडौंः कृषि तथा पशुपन्छी विकास मन्त्रालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले काठमाडौंका तीन वटा मिठाई पसलमा अनुगमन गरेको छ । कृषि तथा पशुपन्छी विकास राज्य मन्त्री रामकुमारी चौधरी र विभागकी महानिर्देशक मतिना बैद्य नेतृत्वको संयुक्त टोलीले तीन मिठाई पसलमा अनुगमन गरेको हो ।

टोलीले त्रिपुरेश्वरमा रहेको पशुपती फुड्स र साजन गोठ तथा सुनधारामा सालिमार हस्पिटालिटी एण्ड फुड्स प्रलिद्धारा सञ्चालित गुवाफमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा थुप्रै कमीकमजोरी भेटिएको अनुगमन टोलीले जनाएको छ । मिति नभएका, मिति नाघेका, सरसफाइमा लापरर्वाही गरिएका खाद्य पदार्थ नष्ट गरिएको छ ।

अनुगमनपछि कृषि राज्यमन्त्री चौधरीले व्यवस्थापकीय कम्जोरी पाइएको बताइन् । उपभोक्तालाई गुणस्तरिय खाना खुवाउने व्यवसायीहरुको पनि कर्तव्य रहेको भन्दै अनुगमनलाई निरन्तरता दिने बताइन् । उनले मिठाई पसल मात्र नभई सबै खाद्य पदार्थमा अनुगमन र नियमन गरिरहेको जानकारी दिइन् । उनले उपभोक्ता र व्यवशायीका लागि अनुज्ञा पत्र लिएर काम गर्दा राम्रो हुने सुझाव दिइन् ।

राज्यमन्त्री चौधरीले एक हप्ता भित्र सुधार गर्न सबै पसल सञ्चालकलाई निर्देशन दिइन् । विभागकी महानिर्देशक बैद्यले सरसफाइ र गुणास्तरियता कायम गर्न नसकेको भन्दै विभागमा उपस्थित हुन निर्देशन दिएको बताइन् । टोलीले परीक्षणका लागि १४ प्रकारका खाद्य पदार्थ लिएको जनाएको छ ।

विष्लेषण नमूना सार्वजनिक भएपछि खाद्य ऐन अनुसार नभएको पाइएमा सरकारी वकिलमार्फत मुद्धा चलाइने विभागले जनाएको छ ।

कमेन्ट गर्नुहोस्