खातामा सित्तैमा १ लाख बढी पैसा आएपछि खर्च गरे किनमेलमा, पछि भयो आपत

एजेन्सी । एक अमेरिकन दम्पतीको बैंक खातामा झुक्किएर १ लाख भन्दा बढी डलर जम्मा भयो । उनीहरुले ठूलौ रकम आएको देखेर विलासी सामान किन्नमा खर्च गरेपछि आपतमा परेका छन् ।

बिबिसीले जनाएअनुसार अमेरिकी नागरिक रोबर्ट र टिफनी विलीअम्जको खातामा गत मे ३१ मा बीबी एन्ड टी बैंकबाट झुक्किएर १ लाख २० हजार डलर जम्मा भएको थियो । सित्तैमा त्यति ठूलो रकम आएको देखेपछि विलीअम्ज दम्पतीले महँगो गाडी र अन्य विलासी सामग्री किनेर सो रकम खर्चिए ।

तर पछि बैंकले सम्पर्क गर्न खोज्दा भने उनीहरु सम्पर्कमा आएनन् । खातामा आएको रकम आफ्नो नभएको थाहा भएको जान्दाजान्दै पनि खर्च गरेकाले उनीहरु आपतमा परेका हुन् । प्रहरीका अनुसार उनीहरूलाई सो रकम चोरी गरेको र चोरीको सामग्री लिएको अभियोग लगाइएको छ ।

सोही अभियोगमा सोमबार उनीहरूलाई स्थानीय अदालतमा उपस्थित गराइएको थियो र अदालतको आदेशपछि धरौटीमा छुटेका छन् ।

कमेन्ट गर्नुहोस्