‘इन्डो–प्यासिफिक रणनीति’ मा प्रचण्डकाे असहमति !

काठमाडौँ — परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकी सरकारले अघि बढाएको ‘इन्डो–प्यासिफिक रणनीति’ मा वासिङ्टन पुगेर समर्थन जनाइसके पनि सत्तारूढ दल नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री  प्रचण्डले ‘नेपाल सरकार यो रणनीतिमा असहमत रहेको’ बताएका छन् ।

चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमण क्रममा मंगलबार बिहान भेटवार्ता गरेका उनले ‘इन्डो–प्यासिफिक रणनीतिमा चीनको झैं नेपालको असहमति’ रहेको राय राखेकाे चिनियाँ सरकारी समाचारमाध्यमले उल्लेख गरेकाे छ ।

चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार ‘चिनियाँ विकासक्रमलाई बाधा पुर्‍याउने अमेरिकी रणनीति’ को विपक्षमा प्रचण्डले धारणा राखेका थिए । ‘चीनको विकास नेपालका लागि सदैव अवसर हो,’ समाचार अनुसार, उनले विदेशमन्त्री वाङसमक्ष भनेका थिए, ‘चीनको बहुपक्षीय सुरक्षा नीति र सन्तुलित, समावेशी तथा ‘विन–विन’ रणनीतिमा भूमण्डलीकरणलाई प्रवर्द्धन गर्ने नीतिको नेपाल समर्थक रहिआएको छ ।’

उनले हङकङमा देखिएको पछिल्लो स्थितिलाई चीनको आन्तरिक मामला भनेका छन् । चीनले सुरु गरेको आतंकवादविरुद्ध अभियानलाई मानव अधिकारका नाममा अवरोध उब्जाउने प्रवृत्तिको विरोधमा नेपाल उभिएको पनि प्रचण्डले बताएको सिन्ह्वाले उल्लेख गरेको छ ।

कमेन्ट गर्नुहोस्