सीपीएलः सन्दीपले लिए तेस्रो विकेट, कप्तान आउट

काठमाडौंः  क्यारेबियन प्रिमियर लिग (सीपीएल) २०१९ मा बार्बाडोस ट्राईडेन्टसमा आवद्ध नेपाली लेग स्पिनर सन्दीप लामिछानेले सेन्ट किट्स एण्ड नेभिस प्याट्रियस विरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरेका छन् । उनले आफ्नो ३.५ ओभरमा महत्वपूर्ण ३ विकेट लिएर २२ रन दिएका छन् ।

सन्दीपले आफ्नो तेस्रो ओभरमा महत्वपूर्ण २ विकेट लिए । उनले आफ्नो तेस्रो ओभरको पहिलो बलमा समराह ब्रूक्स र त्यही ओभरको अन्तिम बलमा ६४ रन बनाएर खेलिरहेका लउरी इभन्सलाई आउट गर्न सफल भए ।

यस्तै सन्दीपले आफ्नो अन्तिम ओभरको तेस्रो बलमा कप्तान कार्लोस ब्रार्थवेटलाई एक रनमा एल्बीडब्लू आउट गरे ।

सन्दीपले आफ्नो दोस्रो ओभरमा एक छक्का र एक सिंगल रन दिएका थिए । उनले आज आफ्नो पहिलो ओभरमा पनि ७ रननै दिएका थिए ।

अघिल्लो खेलमा एक ओभर मात्र बलिङ गर्न पाएका सन्दीपले ५ रन दिएका थिए ।

टस हारेर ब्याटिङको मौका पाएको बार्बाडोसले ट्राईडेन्टसलाई २० ओभरमा २ विकेट गुमाएर १८७ रनको लक्ष्य दिएको छ ।

उसका लागि जोनसन चाल्सले ५३, एलेक्स हेल्सले १८ रन बनाए । लिंको बाउचर ६२ र जेपि डुमीनि ४३ रनमा नट आउट रहे । बलिङमा प्याट्रिटसका उश्मा मिर र रायद इमरितले एक–एक विकेट लिए ।

सन्दीपको टोली बार्बाडोस पहिलो खेलमा गुयना एमेजेन वारियससँग ४७ रनले पराजित भएको थियो । सेन्ट किट्स सन्दीपले पहिलो संस्करणमा आवद्धता जनाएको टिम हो ।

उनले गत सिजन सेन्ट किट्सबाट खेल्दै ५ खेलमा ७ विकेट लिएपछि उदीयमान खेलाडी घोषित भएका थिए । सेन्ट किट्सले जारी सीपीएलमा ३ खेलमा २ मा हार र १ मा जित निकालेको छ ।

कमेन्ट गर्नुहोस्