सीपीएलः पूर्व टिमबीरुद्ध सन्दीपको घातक बलिङ, बार्बाडोस जित नजिक

काठमाडौंः  क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत बार्बाडोस ट्राईडेन्टसमा आवद्ध नेपाली लेग स्पिनर सन्दीप लामिछानले उत्कृष्ट प्रदर्शन गरेका छन् ।

उनले आफ्नो दोस्रो खेलमा पूर्वटिम सेन्ट किट्स एण्ड नेभिस प्याट्रिटसविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका हुन् । सन्दीपले ४ ओभरमा महत्वपूर्ण ३ विकेट लिएर २२ रन दिए ।

उनले आफ्नो तेस्रो ओभरमा महत्वपूर्ण २ विकेट लिए । उनले आफ्नो तेस्रो ओभरको पहिलो बलमा समराह ब्रूक्स र त्यही ओभरको अन्तिम बलमा ६४ रन बनाएर खेलिरहेका लउरी इभन्सलाई आउट गर्न सफल भए ।

यस्तै सन्दीपले आफ्नो अन्तिम ओभरको तेस्रो बलमा कप्तान कार्लोस ब्रार्थवेटलाई एक रनमा एल्बीडब्लू आउट गरे ।

सन्दीपले आफ्नो दोस्रो ओभरमा एक छक्का र एक सिंगल रन दिएका थिए । उनले आज आफ्नो पहिलो ओभरमा पनि ७ रननै दिएका थिए ।

अघिल्लो खेलमा एक ओभर मात्र बलिङ गर्न पाएका सन्दीपले ५ रन दिएका थिए । यो समाचार तयार पार्दासम्म प्याट्रिटसले १६.४ ओभरमा ९ विकेट गुमाएर ११९ रन बनाएको छ ।

टस हारेर ब्याटिङको मौका पाएको बार्बाडोसले ट्राईडेन्टसलाई २० ओभरमा २ विकेट गुमाएर १८७ रनको लक्ष्य दिएको छ ।

उसका लागि जोनसन चाल्सले ५३, एलेक्स हेल्सले १८ रन बनाए । लिंको बाउचर ६२ र जेपि डुमीनि ४३ रनमा नट आउट रहे । बलिङमा प्याट्रिटसका उश्मा मिर र रायद इमरितले एक–एक विकेट लिए ।

सन्दीपको टोली बार्बाडोस पहिलो खेलमा गुयना एमेजेन वारियससँग ४७ रनले पराजित भएको थियो । सेन्ट किट्स सन्दीपले पहिलो संस्करणमा आवद्धता जनाएको टिम हो ।

उनले गत सिजन सेन्ट किट्सबाट खेल्दै ५ खेलमा ७ विकेट लिएपछि उदीयमान खेलाडी घोषित भएका थिए । सेन्ट किट्सले जारी सीपीएलमा ३ खेलमा २ मा हार र १ मा जित निकालेको छ ।

कमेन्ट गर्नुहोस्