निजी घर्रामा उत्तरपुस्तिका भेटिएपछि लेखा अधिकृत पक्राउ

काठमाडौंः  निजी घर्रामा उत्तरपुस्तिका भेटिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयका लेखा अधिकृत कमल दाहाललाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

दाहालको कार्यकक्षको निजी प्रयोजनको घर्रामा स्नातक तहका केही उत्तरपुस्तिका भेटिएको थियो ।

आइतबार पक्राउ परेका उनीमाथि उत्तरपुस्तिकासम्बन्धी विषयमा अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले बताए । ‘योभन्दा बढी मलाई थाहा छैन,’ उनले भने ।

व्यक्तिगत घर्रामा व्यवस्थापन (बीबीएस) र शिक्षाशास्त्र (बीएड) संकायको वार्षिक परीक्षाको उत्तरपुस्तिका भेटिएपछि अख्तियारमा उजुरी परेको थियो । अख्तियारले त्यसलाई शंकास्पद रूपमा लिई तत्काल कागजात नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो । परीक्षा नियन्त्रण कार्यालयको गोप्य शाखाबाहेक अन्त उत्तरपुस्तिका लैजान मिल्दैन ।

परीक्षा तालिका प्रकाशनदेखि नतिजा प्रकाशनसम्ममा पनि काको लेखा शाखा र त्यहाँ काम गर्ने कर्मचारीको कुनै भूमिका हुँदैन तर दाहालले परीक्षार्थीको रोल नम्बरसहितको उत्तरपुस्तिका झन्डै एक वर्षदेखि आफ्नो घर्रामा लुकाइराखेका थिए ।

पनिका स्रोतका अनुसार उत्तरपुस्तिका लुकाएको बारे अन्य कर्मचारीले परीक्षा नियन्त्रक पुष्पराज जोशी र त्रिवि रजिस्ट्रार डिल्लीराम उप्रेतीलाई जानकारी गराएका थिए । त्रिवि र पनिकाले आन्तरिक छानबिन गरिरहेका बेला अख्तियारले पनिकामा छापा मारेर दाहाललाई पक्राउ गरेको हो ।

रजिस्ट्रार र परीक्षा नियन्त्रकले छानबिनका नाममा गुपचुप राख्न खोजेको शंका गर्दै केही कर्मचारीले अख्तियारमा उजुरी गरेका थिए । ‘के नियतले उत्तरपुस्तिका लुकाएर राखिएको हो, खुलेको छैन । पनिकाले पनि आन्तरिक छानबिन गरिरहेको छ,’ पनिका स्रोतले भन्यो, ‘अख्तियारले पनि छानबिन गरिरहेको होला ।’ याे समाचार कान्तिपुर दैनिकबाट लिइएकाे हाे ।

कमेन्ट गर्नुहोस्