अझै हुन सकेन ओली र नेपालबीच बोलचाल, सचिवालय बैठक प्रभावित

काठमाडौंं । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच सम्बन्धमा कटुता आएपछि सचिवालय बैठक प्रभावित बनेको छ ।

दुबै नेताबीच वैचारिक भन्दा व्यक्तिगत सम्बन्धमा कटुता पैदा भएको हो । प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे स्प्ष्ट कुरा बाहिर नआएको सम्बन्धमा दुबै नेताबीचको सम्बन्धले सचिवालयका काम कारवाही प्रभावित भएको अनुमान धेरैले गरेका छन् ।

पछिल्लो चरणमा वामदेव गौतमलाई उपाध्यक्ष बनाउने अध्यक्ष ओलीको कदमले नेपाल र ओलीबीचको सम्बन्ध चिसिन सुरु भएको थियो ।

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी -नेकपाको बुधवार बसेको सचिवालय बैठकले सामान्य छलफलबाहेक उल्लेख्य नयाँ निर्णय केही गर्न सकेन ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक नियमित कक्षमा नबसी त्यसैको माथिल्लो तलामा बसेको थियो । बैठक कक्षमा सञ्चारमाध्यमहरूलाई प्रवेश दिइएको थिएन ।

प्रधानमन्त्रीका प्रेस संयोजकले सञ्चारकर्मीहरूलाई बैठक माथिल्लो तलामा बसेको र बैठकस्थलमा फोटो खिच्न सञ्चारमाध्यमहरूलाई नबोलाइएको जानकारी दिएका थिए । बुधवार दिउँसो करीब साढे ४ बजेदेखि शुरू भएको सचिवालय बैठकमा सञ्चारमाध्यमहरूलाई प्रवेश नदिइएको यो पहिलोपटक हो ।

२० दिनपछि बसेको सचिवालय बैठकमा निर्णय गर्नुपर्ने थुप्रै एजेन्डा भएपनि तिनीहरूमा प्रवेश नै गरिएन । बरू प्रधानमन्त्रीले आफ्नो स्वास्थ्यस्थिति ठीक रहेको र नियमित काममा फर्किन सक्ने भन्दै ब्रिफिङ गरेका थिए । बैठक करीब ४० मिनेटमात्र बस्यो ।

बैठकमा सहभागी एक नेताका अनुसार अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले उपचारपछि आफ्नो अवस्था राम्रो भएको बताएका थिए । ‘आफू नियमित काममा फर्किन सक्ने अवस्थामा रहेको केपी कमरेडले बताउनुभयो,’ उनले भने ।

प्रधानमन्त्री ओलीले आफू ठीक रहेको र नियमित काममा फर्किन सक्ने बताएपनि उनकै स्वास्थ्यस्थितिका कारण बैठक आधा घण्टा मात्र बसेको थियो । बैठकमा सहभागी वरिष्ठ नेता झलनाथ खनालले अध्यक्षको स्वास्थ्य स्थितिका कारण बैठकले एकीकरणका बाँकी काम टुंगो लगाउने विषयमा छलफल नभएको बताए ।

बैठकले उपनिर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने जिम्मेवारी महासचिव विष्णु पौडेललाई दिने निर्णय गरेको थियो ।

बैठकका निर्णयहरू सुनाउने क्रममा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘निकट भविष्यमा हुन गइरहेको उपनिर्वाचनका निम्ति पुनस् दल दर्ता गर्नुपर्ने संवैधानिक व्यवस्था र निर्वाचन आयोगको सूचनाका आधारमा यही महिनाभित्र दल दर्ताका सम्पूर्ण प्रक्रिया पूरा गर्ने निर्णय भयो । यो काम फत्ते गर्ने जिम्मेवारी महासचिव कमरेड विष्णु पौडेललाई दिइएको छ ।’

प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहमा रिक्त जनप्रतिनिधि चयन गर्न आगामी मंसिर १४ गते उपनिर्वाचन हुँदैछ । सांगठनिक एकीकरणका विषयमा टुंगो लगाउन छिट्टै अर्को बैठक बसेर छलफल गर्ने निर्णय पनि भएको प्रवक्ता श्रेष्ठले बताए ।

प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको सिंगापुर भ्रमणका कारण २० दिनपछि मात्र नेकपा सचिवालय बैठक बसेको हो ।

प्रधानमन्त्रीको स्वास्थ्यसम्बन्धी परस्पर विरोधी भनाइ

बैठकमा सहभागी दुई नेताले प्रधानमन्त्रीको स्वास्थ्यस्थितिबारे परस्पर विरोधी भनाइ सार्वजनिक गरेका छन् । झलनाथ खनालले प्रधानमन्त्रीको स्वास्थ स्थिति कमजोर भएकाले बैठकमा उपनिर्वाचनका सन्दर्भबाहेक अन्य एजेण्डामा छलफल नभएको बताए ।

तर बैठकमै सहभागी अर्का सचिवालय सदस्यले चाहिँ प्रधानमन्त्री ओली स्वयंले आफू ठीक रहेको र नियमित काममा फर्किन तयार रहेको बताएको खुलासा गरे ।

प्रधानमन्त्री उपचारका लागि पुनः छिट्टै सिंगापुर जान सक्ने सम्भावना रहेको स्रोतको दाबी छ । यद्यपि कहिले र कुन चरणको उपचारका लागि भन्ने निर्क्यौल भइसकेको छैन ।

नेपालको निन्याउरो मुख !

सचिवालय बैठक सकिनेबित्तिकै वरिष्ठ नेता माधवकुमार नेपाल बाहिर निस्केका थिए । उनी सञ्चारमाध्यमसामु केही बोल्न चाहेनन् । तर नेता नेपालको अनुहार मलिनो देखिन्थ्यो ।

प्रधानमन्त्री ओली गत शुक्रवार सिंगापुरबाट फर्केका थिए । सिंगापुरबाट फर्किनेबित्तिकै उनको स्वास्थ्यस्थिति बारे जानकारी लिन नेकपाका दर्जनौं नेता बालुवाटार पुगे तर नेता नेपाल पुगेनन् । न कुनै फोनवार्ता भयो ।

प्रधानमन्त्री सिंगापुर जाने दिन गत भदौ ५ गते बिहान बसेको सचिवालय बैठकमा नेता नेपाल र ओलीबीच ठूलो भनाभन भएको थियो । नेता नेपालले सचिवालय बैठकमा जहिले पनि ‘खोचें’ मात्र थाप्ने गरेको भन्दै ओली रुष्ट बनेका थिए । त्यसदिन पनि नेता नेपालले दिएको स्वास्थ्य लाभको शुभकामना स्वीकार गरेनन् ।

नेता नेपालले भने, ‘तपाईंले यस्तो आपराधिक तरिकाले पनि सोच्न सक्नुहुने रहेछ कमरेड !’

विवाद ठूलै रूपमा चर्कने देखेपछि प्रचण्डले हस्तक्षेप गरे । त्यसपछि वामदेव गौतम, झलनाथ खनालले पनि यस्ता विषयमा विवाद गर्न नहुने भन्दै दुवै नेतालाई शान्त पार्ने प्रयास गरे । अनि बैठक सकियो । त्यसयता ओली र नेपालको बोलचाल बन्द थियो ।

आज उहाँहरूबीच बोलचाल भयो कि भएन भन्ने प्रश्नमा नेता नेपाल निकट स्रोतले भन्यो, ‘एकै बैठकमा सामेल भएपछि बोलचाल नहुने कुरा त भएन । तर मतभेद अझै सल्टीइसकेको छैन । उहाँ ९नेता नेपाल०ले आफ्ना असन्तुष्टिहरू सम्बोधन हुनुपर्ने अडानमा हुनुहुन्छ भने अध्यक्ष ओली त्यसबारेमा केही सुन्नै चाहनुहुन्न ।’

कमेन्ट गर्नुहोस्