नेपाल आइडलले सुदूरपश्चिममा अडिसन नगरेकोमा सांसद भट्टको आपत्ति

काठमाडौंः  नेपाल आइडल सिजन–३ को अडिसन सुदूरपश्चिममा नहुने भएपछि सर्वत्र आलोचना भइरहेको छ । गत वर्षको विजेता रवि ओडको गृह प्रदेशमै अडिसन नहुने भएपछि सर्वत्र विरोध भइरहेको छ ।

नेकपाका नेता तथा स्थायी कमिटि सदस्य लेखराज भट्ट नेपाल आइडलले सुदूरपश्चिम प्रदेशमा अडिसन नगर्नुलाई आयोजकहरुको हेपाहा प्रवृत्तिको उपज ठान्छन् । ‘नेपाल आइडलले सुदूरपश्चिममा अडिसन नगर्ने भन्ने कुरा सुन्दा निकै दुख लाग्यो । यो निर्णय आयोजकहरुको हेपाहा प्रवृत्तिको उपज हो,’ एभरेष्ट दैनिकसँग कुरा गर्दै पूर्वमन्त्री तथा सांसद भट्टले भने, ‘सुदूरपश्चिमलाई हेर्ने केन्द्रीय राज्यको दृष्टिकोणलाई नै उनीहरुले व्यवहारमा देखाएका छन् । पूर्व विजेताको गृह प्रदेशलाई नै यसरी हेपिनुबाट आयोजकहरुको दयनीय मानसिकता प्रकट भएको छ ।’ नेकपाका नेता भट्टले नेपाल आइडल सिजन–२ का विजेता रवि ओडलाई आफ्नै निवासमा बोलाएर सम्मान गरेका थिए ।

याे पनि पढ्नुस  रवि र अस्मिताको नयाँ गीत ‘च्याप्प समाउँदै’ सार्वजनिक (भिडियोसहित)

‘गत वर्ष सुदूरपश्चिमका रवि ओडले नेपाल आइडल जिते । सुदूरपश्चिमको चित्रण गरिबी, अशिक्षा, पछौटेपन र असभ्य क्षेत्रका रुपमा चित्रण गरिँदै आएको अवस्थामा रवि ओडको जीतले सुदूरपश्चिम कला र प्रतिभाका दृष्टिले कमजोर छैन । समाजमा हेपिएका, उपेक्षितले समेत मौका पाए केही गरेर देखाउन सक्छन् भन्ने प्रमाणित गरेको थियो,’ यसपटक सुदूरपश्चिममा अडिसन नगरेकोप्रति असन्तुष्ट भट्ट भन्छन, ‘यो विषयमा आयोजकले पुनर्विचार गर्नुपर्छ । नेपाली लोक संस्कृतिको उदगम मानिने कर्णाली र सुदूरपश्चिमका पहाडी तथा तराईका जिल्लाहरुमा अडिसनको व्यवस्था गर्नुपर्छ ।’

याे पनि पढ्नुस  सुदूरपश्चिमममा नेपाल आइडल–३ को अडिसन नहुने, चौतर्फी आलोचना

सुदूरपश्चिमलाई राज्य र यसका निकायहरुले विभेदमा पार्दै आएको अवस्थामा हरेक तहबाट स्वाभिमान र पहिचानको खोजि गरिरहेका सुदूरपश्चिमवासीको मनोभावमाथि नेपाल आइडलले पनि प्रहार गरेको भट्टले बताए । उनले भने, ‘सुकिला–मुकिला र सुख सुविधा हुने मात्रै गायक हुँदैनन, प्रतिभाहरु त गरिबी र पछौटेपनको जीवनमा पनि लुकेका हुन्छन् भन्ने कुरा आयोजकहरुले बुझ्नु जरुरी छ ।’

नेपाल आइडलले पहिलो सिजनमा पनि सुदूरपश्चिममा अडिसन गरेको थिएन । सर्वत्र चर्को विरोधपछि दोस्रो सिजनमा भने सुदूरपश्चिमको धनगढीमा अडिसन गरिएको थियो । उक्त सिजनमा धनगढीबाट अडिसन दिएका रवि ओड विजेता बनेका थिए । नेपाल आइडल सिजन–२ को विजेता सुदूरपश्चिमका ओड बनेपछि सुदूरपश्चिम प्रदेश सरकारले एक विशेष कार्यक्रमको आयोजना गर्दै सम्मान तथा बधाई कार्यक्रम आयोजना गरेको थियो । उनलाई मुख्यमन्त्री त्रिलोचन भट्टलगायत अन्य मन्त्रीहरुले सुदूरपश्चिमको तर्फबाट बधाई तथा शुभकामना दिएका थिए ।

याे पनि पढ्नुस  सुदूरपश्चिममा ४.४ रेक्टर स्केलको भूकम्प

नेपाल आइडल सिजन–३ को अडिसन भदौ ३१ गतेदेखि सुरु हुँदैछ । आयोजकका अनुसार यसपटक काठमाडौं, पोखरा, विरगञ्ज, बुटवल, नेपालगञ्ज र विर्तामोड गरी ६ स्थानमा मात्रै अडिसन हुनेछ ।

कमेन्ट गर्नुहोस्