…यसरी घर फर्किन सफल भइन् इन्डोनेशियामा बन्धक नेपाली युवती यसरी

काठमाडौंः अस्ट्रेलिया लैजाने सपना देखाएर नौ महिना इन्डोनेशियाको जाकार्ता र बालीमा बन्धक बनाइएकी एक नेपाली युवतीले दलाललाई लाखौँ रुपैयाँ बुझाइन् तर उनी अस्ट्रेलिया कहिल्यै पुगिनन् । यौन आक्रमणबाट समेत बच्न सफल भएकी उनी कसरी नेपाल फर्किइन् ? एक नेपाली समाजसेवीको सहयोगमा हालै नेपाल फर्काइएकी ती युवतीले बीबीसीका संवाददाता सुरेन्द्र फुयाललाई आफ्नो कथा–व्यथा सुनाएकी छन् । पढ्नुहोस् सम्पादित अंशः

म नेपाल फर्किएको केही दिन भइसकेको छ । तर म अहिले पनि इन्डोनेशियामा बन्धक नै छु जस्तो लागिरहेको छ । मलाई विश्वासै लागिरहेको छैन कि म अहिले नेपाल फर्किइसकेँ भनेर । मेरो जीउ अझै थरथर काँप्छ । म अहिले मनोवैज्ञानिक परामर्श पनि लिइरहेको छु । मेरो विदेश यात्राको कथा झन्डै एक वर्षअघि सुरु भएको थियो ।

नेपालमा मेरा उमेरका धेरै साथीहरू विदेश गएर रमाएका तस्बिरहरू देख्दा मलाई पनि विदेश जान मन लाग्थ्यो । १२ कक्षासम्मको अध्ययन पूरा गरेपछि पढाइ रोकिएको थियो । मेरा धेरै साथीहरू अस्ट्रेलिया गइरहेको देखेर मलाई पनि त्यहाँ जान रहर लाग्यो । म घरकी जेठी छोरी । अहिले २३ वर्षकी भएँ । घरमा आमा, बुवा र दुई भाइ छन् । घरको आर्थिक अवस्था कमजोर भएकोले मनमनै अस्ट्रेलियामा थप अध्ययन गर्ने र फुर्सदमा पैसा कमाउने योजना बुन्न थालेँ । काठमाडौंमा सोधीखोजी गर्दा अस्ट्रेलिया लैजाने एक जना दाइ भेटिए ।

‘अस्ट्रेलिया यात्रा प्रारम्भ’

उनले पैसा धेरै नलाग्ने र जाने प्रक्रिया पनि छिटो हुने बताए । मेरो बुबा–आमा गाउँमा सामान्य खेतीकिसानी गर्नु हुन्छ । उहाँहरूसँग त्यति धेरै पैसा थिएन । जसोतसो ऋण खोज्ने कुरा भयो । हामीले घरजग्गा धितो राखेर एउटा ब्याङ्कबाट १६ लाख ५० हजार रुपैयाँ ऋण लियौँ । सुरुमा अस्ट्रेलिया लैजाने ती दाइलाई डेढ लाख रुपैयाँ बुझाएँ । उनले ‘सेटिङ्ग मिलाएर’ उडिहाल्ने योजना सुनाए । २०७५ साल मंसिर १२ गते म र एक जना नेपाली दाइ मलेशिया उड्यौँ । त्यहाँबाट हामीलाई (इन्डोनेशियाको राजधानी शहर) जाकार्ता र्पुयाइयो । त्यहाँ हामीलाई लिन एकजना भारतीय दलाल आए । हामीलाई एउटा होटलमा लगेर राखियो ।

त्यसपछि हाम्रो दुःख सुरु भयो । अस्ट्रेलिया उड्नको लागि भिसा बनाउन र ’सेटिङ्ग’ मिलाउनका लागि थप पैसा चाहिन्छ भन्दै नेपालबाट थप पैसा मगाउन दवाब दिन थालियो । हामीले थप पैसा मगायौँ र बुझायौँ । तर अस्ट्रेलिया उड्ने दिन कहिल्यै आएन ।

जाकार्ता र बालीमा बन्धक
जाकार्तामा कुरेर बस्दै गर्दा नेपालबाट अरू दाइहरू पनि आउन थाले । हामी १३–१४ जना भयौँ । सबैलाई कोठामा बन्धक जस्तै बनाएर राखियो तर काम केही भएन । हामी छटपटाउँन थाल्यौँ । खाने र पिउने बन्दोबस्त पनि भएन । कोठामा थुनेर राखियो । हामीले थप पैसा बुझाए अस्ट्रेलिया जान सजिलो हुने भनियो । त्यसपछि हामीले फेरि पैसा मगायौँ र बुझायौँ । मैँले पटक पटक गरेर १६ लाखभन्दा बढी बुझाएँ । तर अस्ट्रेलिया जाने दिन कहिल्यै आएन । त्यसपछि हामीलाई बाली पुगेर त्यहाँबाट अस्ट्रेलिया जान सजिलो हुन्छ भनियो ।

दुई दिनको ट्याक्सी यात्रापछि हामी बाली पुग्यौँ । त्यहाँ पनि एउटा होटलमा राखियो । जहाँ खान पकाउन मिल्ने सुविधा थियो । तर हामीलाई राम्ररी खान पनि दिइएन । म रोएर बस्थे । नेपाली दाइहरुले नै खाना खोजेर ल्याइदिन्थे । (बालीमा संसारभरिबाट मानिसहरु घुम्न जान्छन् ।) हामीलाई कतै घुम्न जान पनि दिइएन । त्यहाँ पनि दिन बित्दै गयो। तर केही भएन । दाइहरूलाई क्यानडा पठाइदिने भनिएको रहेछ । तर केही भएन ।

बालीमा एक महिना जति राखेपछि हामीलाई फेरि जाकार्ता फिर्ता लगियो । त्यतिबेला हामीले अस्ट्रेलिया जान मिल्छ भन्ने आशा पूरै त्याग्यौँ । हामीलाई नेपाल फर्किने व्यवस्था मिलाइदिन दलाललाई आग्रह गर्यौं । तर तोकिएको भन्दा लामो समय इन्डोनेशिया बसेर ‘ओभरस्टे’ भएको भन्दै हामीलाई प्रहरीले पक्रिएर जेल हाल्न सक्छ भन्दै तर्साइयो । उम्कनका लागि हामीले लाखौँ रुपैयाँ जरिवाना तिर्नु पर्ने भनियो ।

यौन शोषण गर्ने प्रयास
हामीलाई जाकार्ता शहरको एउटा कोठामा फेरि बन्धक बनाएर राखियो । पैसा मगाइदिन्छु नेपाल फर्काइदेउ भन्दा दलालले अर्को कोठामा लगेर मलाई यौन शोषण गर्ने प्रयास पनि गर्यो । तर नेपाली दाइहरूले मलाई बचाउनु भयो । त्यसपछि म साह्रै विक्षिप्त र दुस्खी भएँ । रोएर दिन र रात बिताउन थाले । कति दिन त आत्महत्या गर्ने सोच पनि बनाएँ । तर नेपाली दाइहरूले आड भरोसा दिइरहनु भयो ।

दलालले हाम्रो पासपोर्ट र मोबाइल फोन पनि खोसेर राखेका थिए । ऊ त पैसाको लागि जति पनि गिर्नसक्दो रहेछ । पैसाको लागि जे पनि गर्न तयार हुने रहेछ । मैले एउटा मोबाइल फोन आफैँ लुकाएर राखेको थिएँ । एक दिन कुनै उपाय निकालेर त्यसबाटै नेपालमा रहेका एक समाजसेवी दाइ र भाउजुसँग सम्पर्क गरेँ र आफ्नो समस्या बताएँ । उहाँहरूले मलाई नेपाल फिर्ता लैजाने आश्वासन दिनु भयो । त्यसपछि म केही आशावादी भएँ ।

नेपालबाट सहयोगी हात
भित्रभित्रै कुरा मिलाएर उहाँ मलाई उद्धार गर्न एक दिन जाकार्ता आउनु भयो । रकम तिरेर मलाई फिर्ता लैजाने भन्दै दलाललाई भेट्नु भयो । उहाँहरूले जाकार्तामा धेरै हैरानी खेप्नु र्पयो र धेरै खर्च गर्नु भयो । भित्रभित्रै कुरा मिलाएर धेरै जनाको सहयोग लिएर उहाँले जाकार्तामा हामीलाई फर्काउन कागजपत्र बनाउनु भएछ ।

उहाँले नै (ती भारतीय दलालसहित) हामी सबैजनालाई भदौको पहिलो साता नेपाल ल्याउनु भयो । (लगत्तै भारतीय दलाल र उनका सहयोगी पनि पक्राउ परेका छन्।) अहिले म न्यायको पर्खाइमा छु । मेरो खेर गएको रकम फिर्ता पाउने आशामा छु ।

युवायुवतीलाई सन्देश
म जे जस्तो भोगेँ त्यो त मलाई नै थाहा छ । मैले आत्महत्या गरेको भए मेरो जीवन मेटिन सक्थ्यो तर मेरो घर परिवारले समेत निकै दुस्ख पाउन सक्थे । तर म आज बाँचेकी छु । नेपालबाट पैसा कमाउन भन्दै विदेश जान चाहने म जस्तै युवालाई मेरो सन्देश एउटै छः तपाईँहरू विदेश जाँदै हुनुहुन्छ भने वैध र कानुनी बाटोबाट मात्र जानुहोस् ।

इजाजतप्राप्त कम्पनीको मात्र भर पर्नुहोस्। सबै कागजपत्र र बिल भर्पाई लिनुहोस् । अर्को देशमा ट्रान्जिटमा गएर कुरेर फेरि त्यहाँबाट पछि जाने भन्ने जस्ता जाल वा पासोमा नपर्नुहोस् । (बीबीसी नेपालीबाट)

कमेन्ट गर्नुहोस्