पूर्वकप्तान खड्का भन्छन्, ‘क्यानको बिशेष साधारणसभा रोकिए नेपाललाई क्रिकेटबाटै प्रतिबन्ध हुन सक्छ’

चितवनः  नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा यू-१९ टोलीका टिम म्यानेजर एवं ब्याटिङ कन्सल्टेन्ट राजु खड्काले फेरी पनि नेपाल क्रिकेट संघ (क्यान) को बिशेष साधारणसभा रोकिए नेपाललाई क्रिकेटबाटै प्रतिबन्ध हुने खतरा रहेको बताएका छन् ।

आज भरतपुर बिमानस्थलमा पत्रकारसँग कुरा गर्दै खड्काले यस पटक पनि क्यानको बिशेष साधारणसभा रोकिएर विवाद समाधान हुन नसके नेपाललाई क्रिकेटबाटै प्रतिबन्ध हुने खतरा रहेको बताएका हुन् । उनले विवाद समाधान नभए नेपाली क्रिकेटको भविष्य अन्धकार हुने बताए।

पूर्व कप्तान खड्काले नेपाली क्रिकेट बचाउनका लागि क्यानको आवश्यकता रहेकोले कुनै पनि हालतमा साधारणसभा हुनैपर्नेमा जाेड दिए । आईसिसीले नेपाललाई बारम्बार ताकेता गरिरहेकोले यस पटक भने कुनै पनि हालतमा साधारण सभा गरेर क्रिकेट बुझेको ब्यक्तीहरुलाई क्यानमा ल्याउनु पर्ने उनको भनाई छ । विशेष साधारसभा रोकिएमा क्यानलाई लागेको निलम्बन फुकुवा हुनुको साटो आईसीसीले झनै कडा कारबाही गर्न सक्ने उनले बताए ।

आईसिसीले पुर्व क्रिकेटरलाई समेट्दै बोर्ड बनाउन जोड दिएकोले सोही अनुसार क्यानको निर्वाचन गरेर विवाद समाधान गर्नुको बिकल्प नभएको खड्काले बताए । क्यान प्रदेश ३ का कोषाध्यक्ष एंव पुर्व राष्ट्रिय क्रिकेटर अनिल अधिकारीले पनि केन्द्रिय कार्यसमितिको निर्वाचन गरेर विवाद समाधान गर्नुको बिकल्प नभएको बताए ।

क्यानको ३९ जिल्ला र ६ प्रदेशको निर्वाचन सकिएकोले अब केन्द्रिय कार्यसमितिको निर्वाचन पूर्व निर्धारित तालिका अनुसार असोजको पहिलो साता हुने सम्भावना थियो । तर राष्ट्रिय खेलकुद परिषद् (राखेप) को हस्तक्षेपले क्यानको विशेष साधारणसभा फेरि अनिश्चित बनेको छ । राखेप सदस्य सचिव रमेश सिलवालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को स्वतन्त्र टोलीलाई साधारणसभा रोक्न आग्रह गरेका छन् । सिलवालले आफूसँग आवद्ध संघहरुबारे राखेपले २०७२ सालमा गरेको तीनबुँदे निर्णय उल्लेख गर्दै २१ दिन समय दिएर चुनावी विशेष साधारणसभा बोलाउनुपर्ने र निर्वाचन समिति राखेपले पठाउने बताएका छन् ।

कमेन्ट गर्नुहोस्