Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

भरतपुर महानगरद्धारा अस्पताललाई हजार थान डेंगु किट प्रदान

चितवनः भरतपुर महानगरपालिकाले डेंगु रोगको उपचारमा सहयोग पुर्याउन बिहीबार भरतपुर अस्पताललाई एक हजार थान डेंगु किट प्रदान गरेको छ । महानगर प्रमुख रेनु दाहालले भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर श्रीराम तिवारीलाई एक हजार थान डेंगु किट प्रदान गरेकी हुन् ।

कार्यक्रममा प्रमुख दाहालले भरतपुर महानगरमा फैलिरहेको डेंगुका बिरामीहरुको उपचारमा सहज हुने विश्वास व्यक्त गरिन् । कुनै पनि डेंगुका बिरामीको किटको अभावमा उपचारमा ढिलो नहोस् र किटको अभाव पनि नहोस् भन्ने मनसायले भरतपुर अस्पताललाई किट हस्तान्तरण गरिएको दाहालले बताइन् । महानगरपालिकाले प्रदान गरेको किटबाट निशुल्क रुपमा डेंगुको परीक्षण गर्नुपर्ने दाहालको भनाइ छ ।

डेंगु फैलाउने लामखुट्टेका लार्भाहरु नष्ट गर्ने अभियानमा लाग्नसमेत दाहालले सबैमा अपिल गरेकी छिन् । सो कार्यक्रममा भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डाक्टर भोजराज अधिकारीले डेंगु ज्वरो भन्ने बित्तिकै आत्तिनुपर्ने अवस्था नभएको बताए । किट र ल्याबबाट डेंगु ज्वरो परीक्षण गर्न सकिने उल्लेख गर्दै अधिकारीले प्लेटलेट एक लाख भन्दा कम र डब्लुबीसी तीन हजार भन्दा कम देखिएमा निगरानी बढाउनुपर्ने बताए ।

महानगरपालिकाले प्रदान गरेको किट ग्रहण गर्दै भरतपुर अस्पतालका प्रमुख मेसु डा. श्रीराम तिवारीले प्राप्त किटले संक्रमितहरूको पहिचान र उपचारमा सहयोग पुग्ने बताए । अस्पतालमा दैनिक दुई सय भन्दा बढी बिरामीहरुको डेंगु परीक्षण गर्नुपर्ने अवस्था रहेको तिवारीले बताए ।

डेंगू सहित ज्वरोको प्रकोप बढिरहेको अवस्थामा बिरामीहरुलाई असर नपर्ने गरी काम गरिरहेको उल्लेख गर्दै तिवारीले अस्पतालले स्वास्थ्यकर्मीहरुलाई विदामा बस्न समेत नदिएर काम गराइरहेको बताए । कार्यक्रममा स्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीले जिल्लामा डेंगुका बिरामीहरु बढ्दै गइरहेको बताए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: