Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

किन खेल्दैछ भारतीय क्रिकेट टीम नयाँ जर्सीमा? यसकारण ओप्पोले छोड्यो

काठमाडौँ, भारतीय क्रिकेट टीमले घरेलु मैदानमा दक्षिण अफ्रिकाविरुद्ध खेल्ने खेलमा ‘ओप्पो’ अंकित जर्सी नलाउने भएको छ ।

आइतबार धर्मशालामा खेलिन लागेको पहिलो टी-२० खेलबाट भारतीय टीम नयाँ प्रायोजक ‘बाइजु’को नाम अंकित जर्सी लगाएर मैदानमा उत्रिंदैछ । भारतीय टीमको जर्सीलाई यस अघि ‘ओप्पो’ स्मार्टफोनले प्रायोजित गरेको थियो ।

आइतबार साँझ साढे सात बजेदेखि खेलिने खेलको लागि दुवै टीम यस अघि नै खेलस्थल पुगिसकेका छन् र दुवै टीमबीच पहिलो म्याच निकै कडा टक्करको हुने विश्वास गरिएको छ ।

विश्वकप सेमिफाइनलमा न्युजिल्याण्डसँग हार बेहोरेर निराश फर्केको भारतीय टीमले वेस्ट इन्डिजलाई उसकै घरेलु मैदानमा हराएर विश्वकपमा हारको पीडालाई केही हदसम्म कम त गरेको छ यस पटक उसका सामु क्विन्टन डी कक र कगिसो रबाडा जस्ता चुनौती हुनेछन् ।

भारतीय क्रिकेट टीम पहिलो पटक ‘बाइजु’ अंकित जर्सी लगाएर मैदानमा उत्रिने भएको छ । भारतीय क्रिकेट कंट्रोल बोर्ड (बीसीसीआई) ले २५ जुलाईमा नै अनलाइन शिक्षा र तालिम प्रदायक कम्पनी बाइजुलाई भारतीय टीमको प्रायोजक बनाइएको आधिकारिक पुष्टि गरेको थियो । बंगलुरुस्थित यस कम्पनीले आजको खेलबाट औपचारिक रूपमा ओप्पोलाई प्रतिस्थापित गर्दैछ ।

भारतीय मिडियामा प्रकाशित समाचार अनुसार बाइजु यस वर्षको सेप्टेम्बर पाँच देखि ३१ मार्च २०२२ सम्म भारतीय टीमको प्रायोजक रहने भएको छ । ओप्पोले मार्च २०१७ मा १०७९ करोड भारतीय रुपैयाँ तिरेर पाँच वर्षको लागि भारतीय टीमको प्रयोजन गर्ने अधिकार प्राप्त गरेको थियो । तर उक्त कम्पनीले बीचमा नै प्रयोजन अधिकार बाइजुलाई सुम्पेको हो ।

किन छोड्यो ओप्पोले प्रयोजन?

ओप्पोले २०१७ मार्चमा मात्र भिभोले राखेको ७६८ करोड रुपैयाँको प्रस्तावनालाई उछिन्दै १०७९.२९ करोड प्रस्ताव गरेर भारतीय टीमको प्रायोजक बनेको थियो । यस दौरान उसले १४ घरेलु शृंखला, २० विदेशी शृंखला लगायत आइसीसी च्याम्पियन्स ट्रफी, विश्वकप, टी २० विश्वकप जस्ता प्रतियोगीय्तामा भारतीय टीममाथि लगानी गर्नु पर्ने थियो ।

तर २०१९ का पहिला तीन महिना भारतीय स्मार्टफोन बजारमा ७.६ प्रतिशत मात्र हिस्सेदारी भएको ओप्पोलाई यो प्रस्ताव केही महँगो साबित भयो ।

हुन त इन्टरनेसनल डेटा कर्पोरेसन- आइडिसीले दिएका आँकडा अनुसार विश्वभरि स्मार्टफोनको बिक्रीमा ६ प्रतिशतले गिरावट आए पनि भारतमा भने पछिल्लो वर्ष फोनको बिक्रीमा ७ प्रतिशतले वृद्धि भएको छ । गत वर्षका पहिला तीन महिनाको तुलनामा ओप्पोले पनि आफ्नो बजार हिस्सेदारीमा झिनो सुधार गरे पनि भारतमा यसको स्थान चौथोबाट माथि उक्लिन सकेको छैन ।

भारतीय स्मार्टफोन बजारमा २०१९ को पहिलो तीन महिनामा सबैभन्दा ठुलो हिस्सेदारी सियाओमीको रहेको छ । सियाओमीको बजार हिस्सेदारी ३०.६ प्रतिशत रहेको छ । त्यस्तै दोस्रो स्थानमा २२.३ प्रतिशत हिस्सेदारीका साथ सामसुङ छ भने तेस्रो स्थानमा १३ प्रतिशत हिस्सेदारी भएको भिभो रहेको छ ।

ओप्पो र बीसीसीआईबीच भएको सम्झौता अनुसार ओप्पोले बिसीसीआईलाई दुई पक्षीय खेलका लागि प्रति खेल ४.६१ करोड रुपैयाँ र आईसीसीद्वारा आयोजित खेलमा प्रति खेल १.५६ करोड रुपैयाँ तिर्ने कुरा थियो । ओप्पोले प्रयोजन बाइजुलाई हतान्तरण गरेपछि यो दायित्व बाइजुले बहन गर्नेछ ।

को हो बाइजु?

बाइजु ब्याङ्गलौरस्थित थिंक एण्ड लर्न प्राइभेट लिमिटेडद्वारा संचालित सिकाइ एप हो । २०११ मा स्थापना भएको यस कम्पनीले आफूलाई शैक्षिक प्रविधि कम्पनी भनेर चिनाउने गरेको छ । मार्च २०१९ मा यो संसारकै सबैभन्दा ठुलो र महँगो शैक्षणिक कम्पनी बन्न पुगेको थियो । यस कम्पनीको वर्तमान मूल्यांकन ५.४ बिलियन डलर रहेको छ ।

मोबाइल एपका माध्यमबाट यस कम्पनीले भारत र विदेशका महत्वपूर्ण परीक्षाको तयारी सामग्री उपलब्ध गराउने गर्दछ । यस्ता परीक्षामा आइआइटी, एनइइटी, जीआरइ आदि रहेका छन् ।

गएको ३० वर्षमा सीमित ओभरको क्रिकेटमा भारतले कैयन प्रायोजकहरू भेटाएको छ । यस अवधिमा उसलाई विल्स (लगभग दश वर्ष), सहारा (लगभग १० वर्ष) स्टार र ओप्पो जस्ता प्रायोजक पाएको थियो । भारतीय टीमले प्रयोजकहरूको नाम अंकित जर्सी लगाएर मैदानमा अभ्यासमा र पत्रकार सम्मेलनहरूमा भाग लिने गर्छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: