Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

संसारको ‘सबैभन्दा ठूलो’ उभयचर पत्ता लाग्यो, हेर्नुस् यस्तो छ

काठमाडौंः भर्खरै छुट्टै प्रजाति भएको पत्ता लागेको एउटा जीव संसारकै सबैभन्दा विशाल उभयचर भएको हुन सक्ने आधार फेला परेको छ । सङ्ग्रहालयमा राखिएका नमुनाहरूबाट सङ्कलित डीएनएको अध्ययनपछि साउथ चाइना जाइअन्ट स्यालम्यान्डर नामक उक्त जीव जल तथा थल दुवै ठाउँमा बस्ने ठूलो प्राणी हुन सक्ने देखिएको हो ।

झन्डै दुई मिटर लामो हुने उक्त जीवलाई प्राकृतिक वासस्थानमा अतिसङ्कटापन्न मानिन्छ । वैज्ञानिकहरूले उक्त जीवलाई लोप हुन नदिन परिष्कृत प्रयास गरिनुपर्ने बताएका छन् । चीनमा मासुका लागि ती भीमकाय छेपारालाई मारिने भएकाले तिनको सङ्ख्या ह्वात्तै घटेको छ ।

पहिला भीमकाय स्यालम्यान्डरको एउटा मात्र प्रजाति भएको भन्ठानिन्थ्यो । तर जीवित तथा मृत नमुनाको सङ्कलन गरेपछि चीनका विभिन्न स्थानमा तीनवटा प्रजाति भएको पत्ता लाग्यो ।

तीमध्ये साउथ चाइना जाइअन्ट स्यालम्यान्डर सबैभन्दा ठूलो छ। अनुसन्धानकर्ताहरूले यो अहिले जीवित उभयचरमध्ये सबैभन्दा ठूलो प्रजाति हुन सक्ने बताएका छन् । जूअलजिकल सोसाइटी लन्डनका प्राध्यापक स्याम्यूअल टर्भेका अनुसार प्राकृतिक वासस्थानमा ती जीवको सङ्ख्या अत्यासलाग्दो गरी घटेको छ ।

ती जीवको प्रजातिगत विविधताबारे यो नयाँ ज्ञानले तिनको संरक्षणमा सहयोग पुग्छ भन्ने आशा भएको उनले बताए । ‘तर जीवित भीमकाय स्यालम्यान्डरको सङ्ख्या जोगाउन आकस्मिक उपाय चाहिन्छ ।’ यो अनुसन्धानकर्तामा सहभागी भएकी उक्त सङ्ग्रहालयकी मेलिसा मारले ती प्रजातिको आनुवंशिक शुद्धता कायम हुने हुनेगरी संरक्षणका उपायहरू अवलम्बन गर्नुपर्ने बताइन् ।

‘चाइनिज जाइअन्ट स्यालम्यान्डरलाई जोगाउन तत्काल हस्तक्षेप गर्नुपर्ने बेला भएको बेला यी तथ्यहरू पत्ता लागेका छन्,’ उनले भनिन् ।

चाइनिज जाइअन्ट स्यालम्यान्डर के हो?
कुनैबेला चाइनिज जाइअन्ट स्यालम्यान्डर मध्य र पूर्वी एशिया तथा दक्षिणी चीनमा पाइन्थ्यो । केही दशकयता सो जीवको दोहन गर्ने क्रम बढेको छ । त्यसको मासुको विलासी खाद्य बजारमा ठूलो माग छ ।

मासुको माग पूरा गर्न छेपारोजस्तै देखिने उक्त जीव व्यावसायिक रूपमा पाल्न थालिएको छ । त्यसो गर्दा सरुवा रोग तथा अवैध सिकारका कारण जङ्गली स्यालम्यान्डर पनि खतरामा पर्छन्।

अनुसन्धानमा के पत्ता लाग्यो ?
वैज्ञानिकहरूले सङ्ग्रहालयमा भएका नमुनाको आनुवंशिक इतिहासको अध्ययन गरे । निकै प्राचीन मानिएको उक्त जीवलाई ‘जीवित जीवावशेष’ मानिन्छ । लन्डनस्थित चिडियाखानमा राखिएको चाइनिज जाइअन्ट स्यालम्यान्डर एउटा अस्वाभाविक जीव भएकाले सन् १९२० को दशकमा पहिलोचोटि त्यो छुट्टै प्रजाति भएको मत व्यक्त गरिएको थियो ।

अनुसन्धान टोलीले सङ्ग्रहालयमा राखिएको सोही जीवको संरक्षित शरीरको अध्ययन गरेर नयाँ प्रजातिका स्वभावको वर्णन गरेका हुन् । यो अनुसन्धान इकलजी एन्ड एभल्यूशन जर्नलमा प्रकाशित भएको छ । (बीबीसी)

कमेन्ट गर्नुहोस्

%d bloggers like this: