शिक्षकहरूबीच भलिबल प्रतिष्पर्धा हुने: पुरस्कारमा खसी र बोका

काठमाडौँ । संघीय राजधानीमा अवस्थित विभिन्न विद्यालयहरुबीच मैत्रीपूर्ण शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ ।

‘प्रथम जीवनज्योति कप अन्तर विद्यालय शिक्षक भलिबल प्रतियोगिता २०७६’ नाम दिइएकाे साे प्रतियाेगिता मनमैजुस्थित जीवनज्योति इङलिस बोर्डिङ स्कुलको आयोजनामा सञ्चालन हुन लागेकाे हाे । संविधान दिवसकाे अवसर पारेर असाेज ३ गते उदघाटन हुने प्रतियाेगिता ४ गते समापन हुनेछ ।

प्रतियोगितामा विभिन्न १६ वटा विद्यालयमा अध्यापनरत शिक्षकहरुले भाग लिनेछन् । जीवनज्योति इङलिस बोर्डिङ स्कुलले आयोजना गरेको पत्रकार सम्मेलनमा आयोजक विद्यालयका प्रिन्सिपल विष्णु पनेरु तथा कार्यक्रम संयोजक राजन अधिकारीले प्रतियोगिताबारे सम्पूर्ण कुराको जानकारी गराए ।

याे पनि पढ्नुस  भलिबललाई नै राष्ट्रिय खेल बनाउने संसदीय समितिको निर्णय

विभिन्न विद्यालय तथा त्यहाँ अध्यापनरत शिक्षकहरुका बीचमा आपसी मित्रता तथा अन्तरसम्बन्धलाई बलियो बनाउने एवम् सबै विद्यालयका साझा लक्ष्य प्राप्त गर्ने गोरेटोमा डोर्याउनुका साथै मनोरञ्जन प्रदान गर्न प्रतियोगिताको आयोजना गर्न लागिएको सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा उल्लेख छ ।

आयोजक विद्यालयका प्रिन्सिपल विष्णु पनेरुले यो प्रतियोगिता जीत-हारभन्दा पनि शिक्षक-शिक्षक र विद्यालय-विद्यालयका बीचमा आपसी सम्बन्ध प्रगाढ गराउने ध्येयले महत्वपूर्ण हुने बताए । विद्यालयले पठनपाठनसँगै यस्ता अतिरिक्त क्रियाकलाप गर्दा व्यक्तिको स्थास्थ्य पनि राम्रो हुने तथा मनोरञ्जन पनि प्राप्त हुने र यसरी निरन्तरता दिएर भलिबल खेललाई अझै जीवन्त बनाउन सकिने उनको धारणा थियो ।

याे पनि पढ्नुस  सागः नेपाल पुरुष भलिबलमा बंगलादेशसँग पराजित

प्रतियोगितामा विभिन्न १६ वटा विद्यालय सहभागी हुने पक्का भएको जनाइएको छ । प्रत्येक विद्यालयमा अध्यापनरत ६ देखि ९ जनासम्म शिक्षक सहभागी हुनेछन् ।

यस प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने विद्यालयलाई ट्रफी, पदक तथा एउटा दशैँकाे खसी पुरस्कार दिइने छ । त्यसैगरी द्वितीय हुनेलाई ट्रफी, पदक तथा एउटा बोका र तृतीय हुनेलाई ट्रफी, पदक तथा एउटा रातो भाले उपलब्ध गराइने जनाइएको छ ।

कमेन्ट गर्नुहोस्