Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

यो वर्ष दशैँमा मासुको मूल्य यथावत् रहने

भरतपुर । यो वर्ष दशैँमा खसी बोकाको मासुको मूल्य नबढ्ने भएको छ । खसी बोका मासु व्यवसायी सङ्घ चितवनले संस्थागत निर्णय नै गरेर दशैँदेखि छटसम्म खसी बोकाको मासुको मूल्य यथावत् राख्ने भएको हो ।

“हरेक वर्ष चाडबाड आएपछि खसी बोकाको मासुको मूल्य वृद्धि हुन्छ भन्ने उपभोक्ताको गुनासोलाई ध्यानमा राखेर नै हामीले यो वर्ष मूल्य वृद्धि नगर्ने निर्णय गरेका हौँ’’ –सङ्घका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिनाले भने ।
विगतमा हरेक वर्ष दशैँका बेला प्रतिकिलो सय रुपियाँका हाराहारीमा खसी बोकाको मासुमा मूल्य वृद्धि हुने गर्दथ्यो । अहिले चितवनमा बोसो नभएको एक हजार र बोसोसहितको नौ सय रुपियाँ प्रतिकिलो खसी बोकाको मासु रहेको छ । यो मूल्य एक वर्षअघि दशैँअघि यह बेला तय भएको मूल्य हो । त्यो बेला सय रुपियाँ प्रतिकिलो मूल्य वृद्धि गरिएको थियो । “सङ्घको निर्णय कसैले अटेर गरेर जथाभावी मूल्य वृद्धि गरे अनुगमन गरेर व्यवसायीलाई कारबाही गरिने छ” –अध्यक्ष तिमिल्सिनाको चेतावनी छ ।

दशैँ नजिकिँदै गर्दा बजारको मूल्य अकाशिएकै बेला दशैँमा सबैभन्दा बढी खपत हुने मासुको मूल्य यथावत् राख्ने निर्णयले उपभोक्ताहरूमा भने केही राहत मिलेको छ । उपभोक्ता अधिकारका क्षेत्रमा क्रियाशील प्रकाश सिक्देल खसी बोकाको मासुको मूल्य यथावत् हुने निर्णय स्वागत योग्य भएको बताउँछन् । “निर्णय कार्यान्वनमा उपभोक्ता स्वयं पनि सचेत हुनुपर्छ –उनले भने।

यस वर्षको दशैँका लागि चितवनमा २५ हजार खसी बोका र १२ हजार राँगा बध (काट्न)का लागि तयारी अवस्थामा रहेको अनुमान छ ।

बाख्रा पालक किसान महासङ्घका नेता तथा जगतपुर बाख्रा फर्मका सञ्चालक योगेन्द्र खड्काले गएको वर्ष नेपालमा ११ लाख खसी बोका काटिएको जानकारी दिए ।

“पहिला पहिला नेपालमा खपत हुने खसी बोका भारत र चीनबाट पनि आयात हुन्थे तर यो वर्षदेखि नेपालमै आफ्नो उत्पादनले धान्ने अवस्था आएको छ”, उनले भने । “अब दिपायल, सुर्खेत धनगढीमा उत्पादन भएका खसी बोका काठमाडौं ल्याउनुपर्छ” –उनले आफ्नो उत्पादनले बजार नपाएको गुनासो गर्दै भने। यो समाचार आजको गोरखापत्र दैनिकबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: