Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

कम्युनिष्ट गुरिल्लाहरुको अन्त्यसँगै गाँजा उद्योगमा कोलम्बियाको फड्को

निकोलस क्यासी
वर्षौैदेखि ब्ल्यान्का रिभेरोसको दिनचर्या उस्तै छ । बिहानको नास्ता र छोरालाई स्कूल पठाइसकेपछि उनी एउटा ठूलो प्लाष्टिकको झोला बोकेर निस्किन्छिन् गाँजा बटुल्न । यसरी बटुलिएको गाँजालाई काँटछाँट गरी उनले त्यसलाई कोलम्बियाका ड्रग तस्कहका लागि तयार पार्छिन् । साँझपख स्कूलबाट फर्किएपछि छोराले पनि उनलाई गाँजा काट्न सहयोग गर्छ ।

लामो समयदेखि यस क्षेत्रको व्यवसाय कोलम्बियाको सबैभन्दा ठूलो विद्रोही समूहको नियन्त्रणमा चल्दै आएको थियो । यहाँको व्यापारमा कर लगाएर उनीहरु अन्तर्राष्ट्रियस्तरमा नै अवैध लागुपदार्थको खरबौं डलरमा कारोबार गर्ने कुख्यात समूह बनेका थिए । तर सरकारले गत वर्ष यी विद्रोहीसँग शान्ति सम्झौता गरेपछि भने यो राज्यमा भइरहेको गाँजाको अवैध व्यापार संकटमा पर्यो । रिभोरेस बस्ने दुर्गमको यो पहाडी गाउँको व्यापारमा समेत चुनौती थपियो । “अब मैले परिवारको हातमुख कसरी जोर्ने ?” रिभोरेसको प्रश्न छ ।

उनले नचाहेरै भएपनि उनका अगाडि एउटामात्रै विकल्प छ– सरकारी अनुमति लिएर गाँजा खेती गर्ने र जीविका चलाउने । फार्मासिएलो नामक एउटा क्यानेडियन कम्पनीले सरकारी अनुमति लिएर वैधानिकरुपमा नै गाँजा खेती गर्न शुरु गरेको छ । यो कम्पनीले गाँजा उत्पादनका लागि कामदार राखिरहेको छ । यो कोलम्बियाद्वारा लिइएको अस्वभाविक प्रयोग हो । जसले दशकौंसम्म लागुऔषधविरुद्ध लडेपछि त्यसबारे उक्त क्षेत्रमा परिवर्तन भइरहेको दृष्टिकोणलाई उजागर गर्दछ ।

कोलम्बियाले यो लागुऔषधको व्यापारको समूल अन्त्य गर्न अमेरिकाबाट खरबौं डलर सहयोग पाएको छ । तर पछिल्ला दिनहरुमा कोलम्बिया सरकारले भने नयाँ कानुन बनाएर केही सीमित कम्पनीलाई गाँजा खेती गर्ने लाइसेन्स दिन थालेको छ । सन् २०१५ मा बनेको यो ऐनले औषधीजन्य गाँजाको उत्पादनको अनुमति दिएको छ । यसै ऐन अन्तर्गत फार्मासिएलोले पनि अनुमति पाएको हो । मेक्सिको र अफगानिस्तानमा भने बाली प्रतिष्थापन कार्यक्रमले यसप्रकारका लागुपदार्थको खेती गर्ने किसानहरुलाई कृषिको मूलप्रवाहमा ल्याउन जोड दिएको छ । कोका पात उत्पादन गर्ने किसानले कफि उत्पादन गर्न थालेका छन् भने गाँजा उत्पादन गर्ने गहुँ उत्पादन गर्ने भएका छन ।

तर अपराधिक संगठनले नियन्त्रण गर्दै आएको अवैध लागुपदार्थको खेतीलाई त्यही बालीलाई वैधानिकरुपमा उत्पादन गरेर कर्पोरेसन कम्पनीहरुलाई बेच्ने कोलम्बियाको जस्तो कोशिस भने अरु देशहरुले पनि लागु गरेको बिरलै भेटिन्छ । “हामीसँग एउटा पुरै नयाँ अवसर रहेको छ ।” कोलम्बियाका स्वास्थ्यमन्त्री अलेजान्द्रो गाभिरिया भन्छन् । स्वास्थ्य मन्त्रालयले नै कोलम्बियामा गाँजा खेतीको लाइसेन्स वितरण गर्ने गर्दछ ।

 

गाभिरियाका अनुसार, कोलम्बियाले पनि गाँजा खेतीमा लागेका किसानलाई अन्य बाली उत्पादनका क्षेत्रमा प्रतिष्थापन गर्न नखोजेको भने होइन । “तर यसमा थुप्रै पर्खाल देखिए” गाभिरिया भन्छन्, “किसानहरुले बढी पैसा कमाउन सकेनन्, ग्रामिण विकास झनै पछि पर्यो र केही किसानहरु फेरी लागुपदार्थ नै अवैधरुपमा उत्पादन गर्नेतर्फ लागे” ।
उनी भन्छन्, “यो प्रतिष्थापनको रणनीति पूर्णरुपमा असफल भयो ।” अहिले स्वास्थ्य मन्त्री गाभिरिया तर्क गर्छन, द्वन्द्वपछिको कोलम्बियाका लागि वैधानिकरुपमा गाँजाको उत्पादन महत्वपूर्ण आर्थिक साधन बन्न सक्छ ।

रिभोलुसनरी आर्मड फोर्सेस अफ कोलम्बिया अर्थात् फार्क विद्रोहीहरुले सरकार र सुरक्षा निकायविरुद्ध लडेको ५२ वर्ष लामो गृहयुद्धमा २२ लाख भन्दा बढी कोलम्बियन नागरिकको मृत्यु भयो । कतिपय क्षेत्रमा विद्रोहीहरुले सरकारलाई नै विस्थापित गरेर आफ्नो राज्य चलाए । विशेषज्ञ र सरकारी अधिकारीहरुका अनुसार, पछिल्लो दशकमा भने विद्रोहीहरु नाकोर्टिक्सको व्यापारतर्फ लागे । गाँजा र कोकिनमा कर लगाएर उनीहरुले युद्धको खर्च जुटाउन थाले । अहिले गाँजा उत्पादनका पछाडिको तर्क छः यदि यसबाट प्राप्त हुने नाफा सरकार र किसानहरुको हातमा दिन सकियो भने के घाटा होला ?

सरकार र किसान मात्रै होइनन, गाँजा खेतीको वैधानिक उत्पादनबाट फाइदा लिने क्यानाडाको फार्मासिएलो र कोलम्बियाका अरु व्यापारिक कम्पनी पनि छन् । तर कुनै बखत विद्रोहीहरुको नियन्त्रणमा रहेको क्षेत्रमा गाँजा खेती गर्न फार्मासिएलो कम्पनी मुख्यरुपमा रहेको छ । सन् २०१४ मा तयार भएर २०१५ देखि लागु भएको नयाँ कानून कार्यान्वयनमा आउन थालेको छ । फार्मासिएलोले भने विद्रोहीहरुले नियन्त्रणमा लिएको भन्दा झन राम्रो किसिमले गाँजाको शक्तिको जाँच गरिसकेको छ । कुनै बेला माक्र्सवादी लेनिनवादी गुरिल्लाहरुले बहुराष्ट्रिय कम्पनीहरुलाई देशबाट भगाउने उद्देश्य राखेर आन्दोलन गरेका थिए । अहिले फार्मासिएलोले भने वैधानिक गाँजा उद्योगलाई तिनै बहुराष्ट्रिय कम्पनीहरुले नियन्त्रण गर्ने भविष्य देखेको छ ।

कोरिन्तामा, कम्पनीले श्रमिकहरुको सहकारीसँग कामदार उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर गरिसकेको छ । कम्पनीले गाँजा खेती भने आफ्नै ग्रीनहाउस र मलको प्रयोग गरेर उत्पादन गर्ने छ । “किसानहरुलाई बलपूर्वक गाँजा उत्पादन गर्न लगाइन्थ्यो”, फार्मासिएलोको कोलम्बियिन सब्सिडेरीका प्रमुख फेडेरिको कोक कोरिया भन्छन्, “तर हामीले भने हिजो युद्दकालमा किसानले कमाउने भन्दा कैयौं गुणा बढी रकम दिने प्रतिबद्धता गरेका छौं ।” त्यसो त कोक कोरिया पनि यो व्यवसायमा नयाँ हुन । यसअघि उनी गोदावरी फूललाई काँटछाँट गरी अमेरिका निर्यात गर्ने व्यवसायमा लामो समयसम्म बिताए । गोदावरी फूललाई पनि गाँजा जस्तै हुर्काइने उनी बताउँछन् ।

फार्मासिएलोको पहिलो चुनौती कोलम्बियाको कानुन परिवर्तन गर्नु थियो । पछिल्लो दुई दशकमा कोलम्बियाले करिब १० बिलियन अमेरिकी डलर लागुपदार्थविरुद्ध लड्न प्राप्त गरेको थियो । कोलम्बियाको सरकारले कोकिन बनाउन प्रयोग हुने कोकाको पात निर्मूल गर्ने आफ्नो प्रयास भने जारी नै राख्ने छ । तर पूर्व राष्ट्रपति एल्भारो उरिबेलाई उद्दृत गर्दै कोक कोरिया भन्छन, “तर सरकारी अधिकारीहरु विद्रोह समाप्त भएपछि विकासको साधनका रुपमा वैधानिकरुपमा चिकित्सकीय प्रयोगका लागि गाँजा खेतीको उत्पादन गर्ने विचारबाट औधी प्रभावित भए ।” सन् २०१५ को कानुनले घरेलु बजारमा चिकित्सकीय प्रयोजनका लागि गाँजा खेतीलाई वैधानिकता दिएका छ । यसका साथै गाँजाबाट बन्ने तेल र क्रिमजस्ता मेडिकल उत्पादनहरु निर्यात गर्न समेत नयाँ कानुनले अनुमित दिएको छ ।

देशको अन्य क्षेत्रहरु जस्तै आदिवासी नासा समुदायको बाहुल्यता भएको सेन्ट्रल एन्डेस पनि वर्षौंसम्म विद्रोहीहरुको नियन्त्रणमा रहेको थियो । त्यहाँ पनि स्थानीयवासीहरु एकातिर गाँजा उत्पादनका लागि कर तिर्न बाध्य थिए भने अर्कोतर्फ कानुनी तरिकाले टोरिबोजस्ता स्थानीय शहरमा व्यवसाय गर्न समेत वञ्चित थिए । टोरिबो नगरका उप मेयर मौरिसियो कासो सन् २०११ को शनिबारको बिहान सम्झिन्छन् । बिद्रोहीहरुले भीड भरिएको बजारमा कार बम्ब विष्फोट गराएको घटना । उक्त विष्फोटमा पाँच जना मारिएका थिए भने दर्जनौं घर ध्वस्त भए । “उनीहरुले टोरिबोमा गरेको कुराका लागि कहिल्यै माफ दिन सक्दैनौं” कासो भन्छन् ।

मेडिकल गाँजाको उत्पादनका लागि जग्गा व्यवस्था गर्न टोरिबो पुगेका बेला मेयर कासोले कोक कोरियालाई भेटे । कोक मेरियाले उक्त क्षेत्रको विकास र रोजगारीको आश्वासन दिए । तर विद्रोहीहरु रित्तिएकोमा कासो जति खुसी देखिए, फार्मासिएलोका कोलम्बियन प्रतिनिधि कोक कोरियामाथि पनि उनले शंका गरेको देखिन्थ्यो । “अहिलेको महत्वपूर्ण विषय भनेको ५ सय वर्ष अघि जस्तो बाहिरबाट आएकाहरुका लागि काम गरेर विस्थापित हुने या सीमांतीकृत हुने अवस्थामा आदिवासी जनजातिहरुलाई पुग्न नदिनु हो ।” उनले भने ।

उनको यो भनाईमा पछिल्लो इतिहासतर्फ कुराकानी मोड्दै कोक मेरियाले भने, “हामीले पनि द्वन्द्वको अनुभूति नगरेका होइनौं, आफ्नै जातिबीच” “हामी नासा समुदायका मानिसहरु बिस्तारै पाइला चाल्छौं, तर सुरक्षित तवरले” कासोले प्रत्युत्तर दिए, “तर तिमी मेडेलिनका मानिसहरु कपटी, धुर्त र छिटो छौ ।” स्थानीयस्तरका सबै नेताहरु फार्मासिएलो कम्पनीप्रति नरम सोच राख्ने गर्दैनन् । कोरिन्टोका मेयर इडवार्ड गार्सियाको अनुमान अनुसार, उनको शहरका ३२ हजार जनतामध्ये दुई तिहाईको जिविका गाँजा बेचेर चलेको छ । “यी मानिसहरुले गाँजा उत्पादन गरेकै कारण कर समेत तिर्ने गरेका छन ।” उनी भन्छन् । गाँजा छोडेर अरु बाली उत्पादनमा जाने सोचाईले यस क्षेत्रमा जनतालाई रिस मात्रै उठाउँछ । बजारमा जति पनि उपलब्ध भएको अवस्थामा उनीहरुले उत्पादन गरेको टमाटर कसले किन्ने ? भन्ने प्रश्न गर्छन् उनीहरु ।

स्थानीय एल्मर रोज्कोले टमाटर उत्पादन गर्ने प्रयास नगरेका होइनन् । आठ वर्ष अघि उनले टमाटरको खेती गरेपछि के थाहा पाए भने अन्तर्राष्ट्रिय बजारमा जाने गाँजाको तुलनामा उनले टमाटर बेच्न शहरको एकमात्र बजार डाउन मात्रै रहेको छ जहाँ पसलेहरुले एक किलो टमाटरको १३ सेन्ट मात्रै दिन्छु भन्थे । यो देखेपछि रोज्को पनि फेरी बढी पैसा पाउने गाँजा खेतीतर्फ नै लागे । “यहाँ अरु खेतीबाट फाइदा छैन” उनी भन्छन् ।

गाँजाका बोटहरु काट्दै आएकी रिभेरोस भने विद्रोहीहरु अस्ताएसँगै अवैधानिक गाँजा व्यापारबाट हुने फाइदा पनि आधा भन्दा बढीले खस्केको बताउँछिन् । विशेषज्ञहरुका अनुसार, शान्तिकालमा हिजो विद्रोहीहरुले नियन्त्रण गरेको क्षेत्रमा हुने गाँजा बजार सबै क्षेत्रमा व्यापक भएका कारण पनि नाफा कम हुन पुगेको हुनसक्छ । रिभेरसले आफ्नो आशा फार्मासिएलोमाथि जागेको बताइन । “हाम्रा लागि यो चमत्कार नै हुने छ” उनी भन्छिन् । तर अहिले पनि उनी कोरिन्टोको माफियाहरुका लागि गाँजाका बोट काँटछाँट गर्ने काम गरि नै रहेकी छिन ।

न्यूयोर्क टाइम्समा प्रकाशित आलेख, अनुवादः एभरेष्टदैनिक

कमेन्ट गर्नुहोस्

%d bloggers like this: