Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

महँगिने भयो दशैँ, प्याजमा मात्रै १६० प्रतिशत मूल्यवृद्धि

काठमाडौँ, बजारमा अन्य तरकारीसँगै प्याजको मूल्यमा यस एक महिना यता दोब्बरले वृद्धि भएको छ । काठमाडौँमा एक महिना अघि प्रतिकिलो ६५ रुपैयाँ रहेको सुकेको प्याजको औसत मूल्य आइतबार प्रतिकिलो औसतमा १२५ रुपैयाँ रहेको छ ।

प्याजको मूल्यमा नाटकीय वृद्धि भने दुई हप्ता यता मात्रै भएको पाइन्छ । दुई हप्ता अघि काठमाडौँमा प्याजको खुद्रा मुल्य औसतमा प्रति किलो ६३ रुपैयाँ थियो जुन त्यसको ठीक एक हप्ता पछि बढेर ८८ रुपैयाँ भएको थियो ।

त्यस यता दिनहुँ जसो प्याजको मुल्यमा निरन्तर वृद्धि भैरहेको छ । कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिको दैनिक अपडेट अनुसार भदौ २९ गते प्रति किलो ८८ रुपैयाँ रहेको प्याजको मूल्य ३० गते ९३ रुपैयाँ र ३१ गते ९८ रुपैयाँ पुगेको थियो ।

असोज एक गते स्थिर रहेको मुल्य दुई गते १०५ रुपैयाँ पुगेको थियो भने तीन गते एक सय १५ रुपैयाँ र चार गते एक सय २५ पुगेको थियो ।

भारतमा पनि उस्तै 

उता नेपालमा सबै भन्दा बढी प्याज आपूर्ति गर्ने गरेको भारतमा पनि दुई साता यता प्याजको खुद्रा मूल्य बढेर ७० देखि ८० रुपैयाँ प्रतिकिलो पुगेको छ । यो नेपाली मुद्रामा एक सय १२ रुपैया देखि एक सय २८ रुपैयाँ हो ।

व्यापारीहरूले चाडबाडलाई लक्षित गर्दै प्याजको मुल्य बढाएपाची भारतको संघीय सरकारले व्यापारीहरूको प्याज भण्डारण क्षमतामाथि अंकुश लगाउने कुरामा विचार गरिरहेको अमर उजालाले जनाएको छ ।

भारतमा प्याज उत्पादक राज्यहरूमा भारि वर्षा भएकाले यसले प्याज उत्पादन र आपूर्ति प्रभावित भएको समाचार अमर उजालाले प्रकाशित गरेको छ ।
भारतमा गत हप्तामात्रै प्याजको खुद्रा मूल्य ५० देखि ६० रुपैयाँ (नेरु ८० देखि ९६) रहेको थियो ।

प्राप्त समाचारमा दुई-तीन दिनमा मूल्य नियन्त्रणमा नआए व्यापारीहरूले प्याज भण्डारण कतिसम्म गर्न पाउने भन्ने कुरामा सरकारले कडाईका साथ सीमा तोक्न सक्ने सरकारसम्बद्ध सूत्रहरूलाई उद्धृत गर्दै अमर उजालाले लेखेको छ ।

भारतका प्रमुख प्याज उत्पादक राज्य महाराष्ट्र, कर्नाटक, आन्ध्र प्रदेश, गुजरात, पूर्वी राजस्थान र पश्चिमी मध्य प्रदेशमा गत दुई दिन यता भीषण वर्षा भएको छ । यसले हाल खेतमा रहेको प्याजको उत्पादकत्व प्रभावित हुने आकलन गरिएको छ ।

नेपालमा भने चाडबाडमा प्याज लगायतका तरकारीको मूल्य बढ्नु असामान्य नमानिने भए पनि गतवर्ष भने आजको दिन प्याजको मूल्य ४८ रुपैयाँ प्रति केजी रहेको थियो । यसरी तुलना गर्दा यसको मुल्यमा एक वर्षमा एक सय ६० प्रतिशत बढेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: