Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

बलात्कार घटनामा बयान फेर्न साढे ५ लाख, आमाले गरिन् यस्तो खुलासा

ओखलढुंगाः गत साउन २० गते मोलुङ गाउँपालिकाकी एक युवती बलात्कृत भइन्। १८ वर्षीया ती युवती घाँस काट्न दिउँसो बारीमा गएको बेला बलात्कृत भएकी हुन्।

पीडित पक्षको किटानी जाहेरीका आधारमा सोही ठाउँकै प्रहरी चौकीमा कार्यरत सप्तरीका करिब ३५ वर्षीय प्रहरी जवान प्रकाशकुमार यादव जबरजस्ती करणी मुद्दामा पक्राउ परे। घाँस काट्न गएकी किशोरीलाई यादवले जंगलमै जबरजस्ती करणी गरेको पीडितको आरोप छ।

यादवले करणी गरिरहेका बेला युवतीका बुबाले देखेपछि घटना बाहिर आएको थियो। यादवले त्यसअघि जंगलमै घाँस काट्न गएको समयमा साउन २ गते पनि ती युवतीलाई बलात्कार गरेको खुलेको छ।

ओखलढुंगा जिल्ला अदालतमा सरकारी वकिल कार्यालयमार्फत जबरजस्ती करणीमा यादवविरुद्ध भदौ १० गते मुद्दा दायर भएको थियो।

घटनाको अनुसन्धान भइहेको समयमा यादवका आफन्तले पीडित पक्षलाई केही रकम लिएर मिल्न र अदालतसमक्ष बयान फेर्न बारम्बार दबाब दिइरहे। मोटो रकमको लोभ देखाइरहे।

अन्त्यमा पाँच लाख ५० हजार रुपैयाँमा कुरा मिल्यो अनि पीडित र पीडितका आफन्त बयान फेर्न राजी भए। जिल्ला अदालतमा बकपत्र गर्ने बेलामा ती पीडित महिला विपक्षी भएकी छिन्।

आफूलाई यादवले जबरजस्ती करणी गरेको भनी जाहेरी दिएकी युवतीले पटकपटक प्रहरीको अनुसन्धानको क्रममा आफूलाई आरोपितले बताल्कार गरेको जिकिर गर्दै आएकी थिइन्। तर अहिले अदालतमा युवतीले हामीले सहमतिमै शारीरिक सम्बन्ध राखेको भनी बयान फेरेकी छिन्।

आफैले फोन गरेर यादवलाई बोलाएको र शारीरिक सम्पर्क भइरहेको समयमा बुबाले देखेपछि डरले यादवले आफूलाई जबरजस्ती करणी गरेको भनी आरोप मात्र लगाएको भनी उनले बयान फेरेकी हुन्।

पैसा लिएर पीडित युवतीलाई बयान फेराउन यादवका आफन्त, निजी वकिल र प्रहरीले दबाब दिएको युवतीकी आमाले बताइन्। ‘नजिकको प्रहरी चौकीबाट पनि पटकपटक घरमै प्रहरी आएर मिल्नु भने, वकिलले पनि जिल्लामा जाँदा त्यसै भनेपछि साढे पाँच लाखमा कुरा मिलेको हो,’ उनले भनिन्, ‘प्रहरी र अदालत धाउँदाधाउँदै आफ्नै तीन लाख जति खर्च भएको थियो। धेरै दिएन, साढे पाँच लाख मात्र दियो।’

प्रहरी जवानको जागिर गए घरमा बिजोक हुने भन्दै युवती र उनका आफन्तलाई पैसामा मिल्न पीडक पक्षका व्यक्तिले दबाब दिएको पीडितका आफन्तले बताएका छन्। नागरिक दैनिकबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: