Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

ठेकेदारलाई राजनीतिक संरक्षण दिएर जोगाउने अवस्थाको अन्त्य हुन्छः प्रधानमन्त्री ओली

काठमाडौंः प्रधानमन्त्री तथा राष्ट्रिय विकास समस्या समाधान समितिका अध्यक्ष केपी शर्मा ओलीले देश बिकासका लागि सरकार नयाँ संकल्पका साथ अघि बढेको बताएका छन् ।

राष्ट्रिय विकास समस्या समाधान समितिको आइतबार बसेको ४६औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकासको तीव्र गतिको चरणमा देश प्रवेश गरिसकेकाले सबै पक्ष रचनात्मक ढंगले अघि बढ्न निर्देशन दिए ।

राजनीतिक संरक्षणका बलमा निर्माणसम्बन्धी ठेक्का दिने परिपाटी विगतमा रहेको र त्यस्ता कमजोरीले देश पछि परेको भएपनि अब त्यस्तो परिस्थिति नरहने प्रधानमन्त्री ओलीले प्रष्ट पारे । समयमा काम सम्पन्न नगर्ने ठकेदारलाई अब मौका नदिइने प्रधानमन्त्रीको भनाई छ ।

अन्तिम मौका पनि गुमाउने निर्माण व्यावसायीसँग कडाइ गर्दै ठेक्का तोड्ने मात्र होइन, त्यस्तालाई दण्डित गर्ने र क्षतिपूर्ति भराएर भविष्यमा समेत अयोग्य ठहरिने गरी कालो सूचि वा डार्क लिस्टमा राख्नुपर्ने उनले बताए । ‘त्यस्ता ठकेदारका कारण देश कति समय पछाडि पर्यो? बाटो घाटोको अभावमा सामाजिक जागरण र आमजनताको सुविधाको विषय कति पछि पर्यो?’ बैठकमा प्रधानमन्त्री ओलीले प्रश्न गरेका थिए ।

कुखुराको माऊले पखेटामुनि संरक्षण दिएपछि चीलले समेत चल्ला समात्न नसक्ने दृष्टान्त दिँदै प्रधानमन्त्रीले अब ठेकेदारहरुलाई राजनीतिक संरक्षण दिएर जोगाउने अवस्थाको अन्त्य हुने स्पष्ट पारे ।

‘जनताले हाम्रो पार्टीलाई ठूलो अपेक्षाका साथ वहुमत दिएका छन्, यो सरकार जनताको आकांक्षा पूरा गर्नै पर्ने विशेष अवस्थामा अगाडि बढिरहेको छ ।’ प्रम ओलीले भने । जनता आफैं तत्पर नभए देश बन्दैन भन्ने कुरा जनतालाई नै बताएर समृद्धितर्फ अघि बढ्न प्रेरित गर्नुपर्ने बताउँदै प्रम ओलीले आम जनता बीच जागरणको लहर सृजना गर्नुपर्ने बताए । ‘हामीले पपुलिस्ट काम होइन, दीगो विकासका काम गर्नु पर्दछ । हामीले आमजनताका बीच जागरणको लहर श्रृजना गर्नु पर्दछ,’ उनको भनाई थियो ।

हिंसा फैलाउन खोज्ने र गाउँ गाउँमा गएका विकासको वजेट लुट्ने विप्लव नामका समूह हामीले चाहेको विकासका वाधक हुन् भन्दै प्रधानमन्त्री ओलीले वातावरणको विनाश नहुने गरी विकासका गतिविधि बढाउन जोड दिए ।

उक्त अवसरमा प्रधानमन्त्री र योजना अयोगका उपाध्यक्ष डा. पुष्प कँडेल, राष्ट्रिय पुननिमार्ण प्राधिकरणका प्रमूख कार्यकारी अधिकृत सुशील ज्ञवाली एवं लगानी वोर्डका प्रमूख कार्यकारी अधिकृत महाप्रसाद लामिछानेबीच कार्य सम्पादन सम्झौता पनि सम्पन्न भएको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: