क्रान्तिकारी कम्युनिष्ट पार्टी स्थापना गर्न नसकिए विघटनको खतरा- प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले पार्टीमा वैचारिक र नैतिक स्खलन आएकोमा चिन्ता व्यक्त गरेका छन् ।

पार्टीले समाजवादी क्रान्तिलाई रणनीतिका रुपमा ब्याख्या गरेपनि पार्टीभित्र हुर्किएको व्यक्तिवादी चरित्रले त्यो लक्ष्य हासिल गन सक्षम हुनेमा उनले चिन्ता व्यक्त गरेका हुन ।

दिवंगत नेतृ सहाना प्रधानको स्मृतिमा सोमबार राजधानीमा आयोजना गरिएको कार्यक्रममा बोल्दै प्रचण्डले क्रान्तिकारी स्पिरिट सहितको कम्युनिष्ट पार्टी स्थापना गर्न नसकिए यसले कम्युनिष्ट पार्टी नै विघटन हुने खतरा रहेको बताए ।

याे पनि पढ्नुस  समृद्ध नेपाल मेरो परिकल्पना : प्रचण्ड

अध्यक्ष प्रचण्डले अहिले एउटा शान्तिपूर्ण र प्रतिष्पर्धात्मक हुने अर्को आन्दोलनको आवश्यकता रहेको समेत औंल्याए। उनले नयाँ आदर्श स्थापना गर्नका लागि पार्टी एकता गरिएको औंल्याउँदै तर अहिले त्यो अर्कै तरिकाले अघि बढ्न लागेको उल्लेख गरे।

‘जतिबेला हामी खुला र प्रतिस्पर्धामा प्रवेश गर्‍यौं, शासन सत्तामा पुग्यौं कता कता हामी आदर्श, विचार र निष्ठाबाट विस्तारै थाहै नदिन स्खलित हुँदै जाने प्रक्रिया सुरु भयो। नाम त अहिले पनि हाम्रो कम्युनिस्ट पार्टी नै छ, के हामी साच्चै कम्युनिस्ट जस्ता छौँ त ? उनले प्रश्न गर्दै भने, ‘हामी हिजो जे आदर्श भन्थ्यौं, आज त्यही आदर्शमा छौं तरु हामी सबैले गर्नुपर्ने मुख्य प्रश्न यही हो। हामीलाई अर्को आन्दोलन, अभियान र मिसन चाहिएको छ। सम्पूर्ण ताकत लगाउने फौज चाहिएको छ। नत्र हाम्रो पार्टीको हालत पूर्वी युरोपका कम्युनिस्ट पार्टीको जस्तै हुन्छ।’

याे पनि पढ्नुस  जो कोही प्रचण्ड हुन सक्दैन : प्रसाई (भिडियोसहित)

‘पद लागि गुटरउपगुट बनाएर लडौं भनेर होइन नयाँ र अभियानतिर जाऔं भन्नका लागि एकता गरेको हो। तर अहिले आदर्शच्यूत र स्खलित हुने अवस्था आयो,’ अध्यक्ष प्रचण्डले भने, ‘भिन्न तरिकाले जान लाग्यो भने त्यसलाई सुधार्नुपर्छ।’

नयाँ समाजवादी व्यवस्था र संस्कृति स्थापना गरी कम्युनिष्ट पार्टीलाई जनताको सेवकका रूपमा स्थापित गर्न नयाँ मिसन र उद्देश्यका साथ आन्दोलन गर्नुपर्नेमा उनले जोड दिए। ‘भन्न त हामीले समाजवादीको यात्रा सुरु गर्ने भनेका छौं, के हामी समाजवादीको यात्राका निम्ति एउटा योद्धाजस्तै छौं त ?,’ उनले भने।

कमेन्ट गर्नुहोस्