बलिउड फिल्मको व्यापारको बदलिँदो ‘ट्रेण्ड’: के यो नयाँ ‘स्टार’हरू उदाउने समय हो?

बलिउडका फिल्महरूमा घरेलु बक्स अफिसमा सय करोड कमाउनुलाई सफलताको मानक मानिन थालेको धेरै भइसकेको छ । यस्तो चलन चले यता बक्स अफिसमा सय करोड क्लब, दुई सय करोड क्लब र तीन सय करोड क्लबजस्ता नयाँ प्रतिमान स्थापित भएका छन् र सोही अनुरुप फिल्मको प्रतिष्ठाको समेत आकलन गरिन थालेको छ ।

त्यसैले आज भोली बलिउडका ठुला ब्यानरहरू ठुलो स्टार कास्ट, मेगा बजेट, व्यापक रिलिज र भारीभरकम मिडियाबाजी गरेर फिल्मको व्यापार आफ्नो पक्षमा पार्ने दाउमा रहने गरेका छन् । यस्तोमा ठुलो मिडियाबाजी र व्यापक रिलिज गरिएका कतिपय फिल्महरूले पहिलो सप्ताहान्त गरेको व्यापार जति बाँकी जम्मा प्रदर्शन समयभरि समेत गर्न सक्दैनन् ।
यदि २०१९ को कुरा गर्ने हो भने यस वर्ष निकै ठुला बजेटका सिनेमा रिलिज भए र रिलिज हुने क्रममा छन् । यस वर्षको बहुप्रतीक्षित सिनेमा मानिएको सलमान खान अभिनित भारत लगभग १२५ करोडको लागतमा बनेको थियो ।

सलमान खानको स्टारडम, व्यापक मिडिया बाजी र भारतभरि चार हजार सात सयभन्दा बढी पर्दाहरूमा रिलिज गरिएको यस फिल्मले पहिलो दिनमा ४२.३० करोडको रेकर्ड कमाइ गरे पनि यसले आफ्नो प्रदर्शन अवधिभर जम्मा २०१ करोड मात्र कमायो र सलमानका टाइगर जिदा है, बजरंगी भाइजान र सुल्तानजस्ता सिनेमाले बनाएको सफलताको इतिहास दोहोऱ्याउन सकेन ।

याे पनि पढ्नुस  कसरी र कहाँबाट सुरु भयो अमिताभ र जयाको जीवनयात्रा ? (हेर्नुहोस् फोटोफिचर)

जबकि वर्षको सुरुमा रिलिज भएको उरी: द सर्जिकल स्ट्राइकले पहिलो दिन लगभग आठ करोड कमाएको थियो । यस फिल्मले सप्ताहांतको तिनै दिनको कमाईबाट पनि सलमानको भारतलाई भेट्न सकेन र आफ्नो प्रदर्शन अवधिभरिबाट २४३ करोड कमाउन सफल भयो ।

यस वर्ष ठुला बजेटका सिनेमाभन्दा साना बजेटमा बनेका सिनेमाले निकै राम्रो व्यापार गरिरहेका छन् । उरीको लागत लगभग २४ करोड रहेको बताइन्छ । यदि उसको मुनाफा आकलन गर्ने हो भने यसले भारतबाट मात्रै लगानीको १० गुणा बढी कमाएको देखिन्छ ।

वर्षका केही ठुला बजेटका सिनेमामध्ये १२५ करोडको मनिकर्णिका र १५० करोडको कलंकले आफ्नो लगानी समेत उठाउन सकेनन् । यस्तै हाल भयो ८० करोडमा बनेको स्टुडेन्ट अफ द इयर-२ को । यस फिल्मले पनि आफ्नो लागत उठाउन सकेन ।

जबकि सानो बजेटमा बनेका र सामान्य व्यापार गर्ने अपेक्षा गरिएका चलचित्रहरू भने निकै सफल रहे । मात्र २४ करोडमा तयार भएको अमिताभ बच्चन र तापसी पन्नू अभिनित बदलाले ८५ करोड कमायो भने ६० करोडमा बनेको कबीर सिंहले २७३ करोडभन्दा माथि व्यापार गर्न सक्यो ।

याे पनि पढ्नुस  नेहाले आपत्ति जनाउँदै मुख खोलिन्– ‘चलचित्रमा नआएपनि म बेरोजगार भने भएकी छैन

हुन त १२५ करोडमा बनेको सुपर थर्टी र सय करोडमा बनेको कसरीले निकै राम्रो व्यापार गर्न सके । त्यस्तै सय करोड लगभग बजेट रहेको मिसन मंगलले लागतभन्दा दुई गुणा बढी व्यापार गर्यो । तर तुलनात्मक रूपमा हेर्दा भने लुकछुपी, सुई धागा, छिछोरे, बाट्ला हाउस र ड्रिम गर्लजस्ता मध्यम र साना बजेटका सिनेमाले निकै राम्रो कमाइ मात्रै गरेनन् प्रतिष्ठित मानिएको सय करोड क्लबमा समेत प्रवेश पाए ।

यस वर्षको एउटा बहुप्रतिक्षित फिल्म साहोले बाहुबली-२ को रेकर्ड तोड्ने सम्भावना रहेको भनिएको थियो । तर तुलनात्मक रूपमा कमजोर कथानक रहेको यस चलचित्रलाई पनि साढे तीन सय करोडको दानवाकार बजेटका बाबजुद भनेजस्तो व्यापार गर्न सकेन र प्रभासको स्टारडमका कारण मात्र आफ्नो साख जोगाउन सफल भयो ।

बलिउड फिल्महरूको व्यापारमा देखिएको यस फेरबदलले एउटा कुरा तर्फ प्रष्ट संकेत गरेको छ । त्यो के भने पानी जस्तै पैसा बगाए पनि र सुपरहिट स्टार कास्ट राखिए पनि चलचित्रको कलापक्षमा ध्यान दिइएन भने दर्शकलाई धेरै दिन झुक्याउन सकिँदो रहेनछ ।

यदि स्टार र बजेटले मात्र फिल्म चल्दो हो त कलंक जस्ता सिनेमा फ्लप हुने थिएनन र भारतले अपेक्षाकृत राम्रो व्यापार गर्थ्यो होला । यस वर्षको हालसम्मकै सबै भन्दा राम्रो व्यापार गरेको फिल्म कबिर सिंहका नायक शाहिद कपूरको गत वर्ष सेप्टेम्बरमा प्रदर्शित फिल्म मिटर चालू बत्ती गुल नराम्ररी फ्लप भएको थियो भने यस चलचित्रकी नायिका कियारा आडवानीलाई यस अघि थोरैले मात्र चिन्ने गर्थे ।

याे पनि पढ्नुस  ‘रइस’को १३७ करोडको रेकर्ड तोड्दै ‘जुडुवा २’

उरीका नायक विकी कौशल त सहायक अभिनेताको भूमिकामा देखिने गरेका थिए । हुन त कसरी, मिसन मंगल, गल्ली बोइ या बदलामा चर्चित कलाकारहरू रहेका थिए तर यी चलचित्र विषयवस्तुमा पनि निकै राम्रा थिए । यी चलचित्र कलाकारको अनुहारको भरमा मात्र चलेका भन्नु उचित नहोला ।

समग्रमा राम्रो चलचित्र बनाउन सुपरहिट स्टारकास्ट राखेर महँगो भीएफएक्स लगायतको प्रविधि र ठुलो बजेटले मात्र हुन्न बरु यसका लागि राम्रो लेखन, अभिनय र निर्देशन चाहिन्छ भन्ने कुरामा यस वर्षका हालसम्मका चलचित्रहरूका सफलता र असफलताले संकेत गरेको छ ।

साथै यसले बलिउडमा खानहरूको दबदबा विस्तारै कम हुन थालेको तिनको ठाउँमा नयाँ पुस्ताका कलाकारहरू उदाउने संकेत समेत दिएको छ ।

कमेन्ट गर्नुहोस्