प्रचण्डले भने, ‘हामीलाई अर्को आन्दोलन, अभियान र मिसन चाहिएको छ’

काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले समाजवादको लक्ष्य पूरा गर्न अर्को आन्दोलन, अभियान र मिसन चाहिएको बताएका छन् ।

दिवंगत नेतृ सहाना प्रधानको स्मृतिमा सोमबार राजधानीमा आयोजना गरिएको एक कार्यक्रममा अध्यक्ष प्रचण्डले अहिले एउटा शान्तिपूर्ण र प्रतिष्पर्धात्मक हुने अर्को आन्दोलनको आवश्यकता रहेको समेत औल्याए। उनले नयाँ आदर्श स्थापना गर्नका लागि पार्टी एकता गरिएको औंल्याउँदै तर अहिले त्यो अर्कै तरिकाले अघि बढ्न लागेको उल्लेख गरे ।

‘जतिबेला हामी खुला र प्रतिस्पर्धामा प्रवेश गर्‍यौँ, शासन सत्तामा पुग्यौँ कता कता हामी आदर्श, विचार र निष्ठाबाट बिस्तारै थाहै नदिन स्खलित हुँदै जाने प्रक्रिया सुरु भयो। नाम त अहिले पनि हाम्रो कम्युनिस्ट पार्टी नै छ, के हामी साँच्चै कम्युनिस्ट जस्ता छौँ त?’ उहाँले प्रश्न गर्दै भने, ‘हामी हिजो जे आदर्श भन्थ्यौं, आज त्यही आदर्शमा छौं त? हामी सबैले गर्नुपर्ने मुख्य प्रश्न यही हो। हामीलाई अर्को आन्दोलन, अभियान र मिसन चाहिएको छ। सम्पूर्ण ताकत लगाउने फौज चाहिएको छ। नत्र हाम्रो पार्टीको हालत पूर्वी युरोपका कम्युनिष्ट पार्टीको जस्तै हुन्छ।’

याे पनि पढ्नुस  विप्लवका नाममा प्रचण्डबारे भ्रम सिर्जना गर्ने प्रयास

‘पदका लागि गुट–उपगुट बनाएर लडौं भनेर होइन नयाँ र अभियानतिर जाऔं भन्नका लागि एकता गरेको हो। तर अहिले आदर्शच्यूत र स्खलित हुने अवस्था आयो,’ अध्यक्ष प्रचण्डले भने, ‘भिन्न तरिकाले जान लाग्यो भने त्यसलाई सुधार्नुपर्छ।’

नयाँ समाजवादी व्यवस्था र संस्कृति स्थापना गरी कम्युनिष्ट पार्टीलाई जनताको सेवकका रूपमा स्थापित गर्न नयाँ मिसन र उद्देश्यका साथ आन्दोलन गर्नुपर्नेमा उनले जोड दिए । ‘भन्न त हामीले समाजवादीको यात्रा सुरु गर्ने भनेका छौं, के हामी समाजवादीको यात्राका निम्ति एउटा योद्धा जस्तै छौं त?’, उनले भने । कार्यक्रममा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले प्रधान कम्युनिष्ट आन्दोलन, महिला मुक्ति आन्दोलन, महिलाले पनि पढ्न पाउनुपर्दछ भनेर सक्रिय भूमिका निर्वाह गरेको बताए । उनले पुष्पलालको निधनपछि प्रधानले पार्टीको अगुवाइ गरेको स्मरण गर्दै उहाँको योगदान अमर र अजर रहेको उल्लेख गरे ।

याे पनि पढ्नुस  सीमा विवादः नेपालको नयाँ नक्सा सार्वजनिक गराउँदै नेकपा

कार्यक्रममा नेकपाका स्थायी कमिटी सदस्य घनश्याम भुसालले कम्युनिष्ट बनाउनमा उहाँको दृढता र दृष्टिकोण व्यापकता रहेको बताए । अर्का स्थायी कमिटी सदस्य पम्फा भुसालले राजनीतिक र महिला आन्दोलनको अद्वितीय नेताका रुपमा प्रधान रहेका बताइन् ।

उनले प्रधानले कहिल्यै व्यक्तिगत स्वार्थमा नलागी जनता र महिला मुक्तिका लागि त्याग र तपस्या गरेको बताइन् । उनले पार्टीमा अझै पनि महिलाप्रति न्याय हुन नसकेको भन्दै पार्टीका हरेक तहमा ३३ प्रतिशत महिला पु¥याउनुपर्ने बताइन्। कार्यक्रममा प्रधानका छोरा उमेशलाल श्रेष्ठले आमाको योगदानलाई पार्टीले एक वर्षमा सम्झने गरेको बताए । प्रतिष्ठानका अध्यक्ष रामकुमारी झाँक्रीले प्रधानका विचारलाई पार्टीले आत्मसात् गर्नुपर्नेमा जोड दिइन् । वि.सं १९८४ मा जन्मिएकी प्रधानको आजैका दिन वि.सं २०७१ मा निधन भएको थियो ।

कमेन्ट गर्नुहोस्