Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नेकपामा ‘आफ्ना मात्र राम्रा’को प्रवृत्तिले निम्त्याएको खतरा

सुरेश बास्तोला
नेपाल कम्युनिष्ट पार्टी (एमाले) र माओवादी केन्द्रबीच एकताको घोषणापछि आम निर्वाचनसम्म पुग्दा जनतामाझ शक्तिशाली वामपन्थी शक्तिप्रति ठूलो लगाव थियो । जनताले एउटा सपना र आशा बोकेर यो एकतालाई बलियोसँग अनुमोदन समेत गरे ।

खासगरी परिवर्तनविरोधी शक्तिहरुका लागि नेकपाले ल्याएको झण्डै दुई तिहाई मत अकल्पनीय, अप्रत्याशित थियो । उनीहरुलाई ठूलो झडका लागेको थियो । तर एकताको १६ महिना बितिसकेपछि यो अवधिलाई फर्केर हेर्दा हिजो अत्तालिएका, थला परेका शक्तिहरु बिस्तारै टाउको उठाउन थालेका छन् ।

यो उनीहरुको घोषित प्रवृत्ति भएपनि यसमा नेकपाकै कमजोरीबारे गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बेला आएको छ त्यसैले यो एकता ढिला भएपनि आम कार्यकर्ता पंक्तिले एकताको प्रक्रियालाई तत्कालिन जनमत सम्झेर निकै चनाखो, विवेकसम्मत र सही मूल्यांकनका आधारमा अघि बढाउन माग गरेका छन् ।

एकतामा ढिलाई हुनु, सरकारले लोकप्रिय काम गर्न नसक्नु र अझ पार्टी एकताभित्र पनि इमान्दार र कर्मठ कार्यकर्ताको साटो ‘आफ्ना’हरुले मात्रै स्थान पाउने हो भने नेकपाको ठूलो हिस्सा निष्क्रिय रुपमा रहने खतरा उत्पन्न भएको छ । अहिले परिस्थिति के छ भने एकातिर दुईतिहाई वामपन्थी सरकारले जनमुखी कार्य गर्नसकेको छैन ।

कतिपय भएका कामहरुको अनुभूति पनि जनतासम्म पुग्ने किसिमले प्रचार गर्ने संयन्त्र सरकारसँग छैन । सरकार बेलाबखत आलाचित हुँदा यसको प्रत्यक्ष असर नेकपाकै समर्थक हिस्सालाई परेको छ । अर्कोतर्फ अहिलेको सांगठनिक एकता र भातृसंगठनहरुको एकतामा पनि कुनै व्यक्ति विशेषको रुचिलाई प्राथमिकता दिने हो भने यो एकताले ठूलो उपलब्धी हात पार्ला जस्तो देखिन्न ।

हिजो थलिएका शक्तिले नेकपाभित्रका यिनै कमजोरीलाई तिलको पहाड बनाएर प्रस्तुत गर्दैछन् । पार्टी सबल र सुदृढ नहुने अवस्थामा उनीहरुको चलखेल झनै चुलिएर जानेछ । यसका लागि सही प्रकृतिका इमान्दार र क्रान्तिकारी स्पिरिट भएका कार्यकताहरुलाई समेटेर बलियो संगठन निर्माण अहिलेको आवश्यकता हो ।

यसो गर्न सकिएन भने राजनीतिक वितृष्णाले यति बेला हरेक नागरिक आत्तिएको अवस्थामा नेकपा विरुद्धकै असन्तुष्टि पार्टी भित्र र बाहिर झनै चुलिने खतरा रहन्छ । त्यसैले पार्टीभित्र सही संगठनात्मक पद्दतीको विकास गर्ने र सरकारका तर्फबाट लोकप्रिय कार्यक्रम अघि बढाउने तत्कालिन रणनीतिमा नेकपा अघि बढनु जरुरी छ ।

आउनुस्, आजै विवेकी बनौं, व्यक्तिगत चाहनाभन्दा सामूहिकतामा विश्वास गरौं । हामी सबै मिलेर एकताबद्ध नेकपा निर्माणको महाअभियानमा लागि परौं । (लेखक नेकपा समर्थक हुन् ।)

कमेन्ट गर्नुहोस्

%d bloggers like this: