Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

दैनिक उपभोगका वस्तुको भाउ ह्वात्तै बढ्यो

काठमाडौं । दैनिक उपभोगका वस्तुको बजार भाउ ह्वात्तै बढेको छ । राष्ट्र बैंकको प्रतिवेदनअनुसार साउनमा दैनिक उपभोक्ताले प्रयोग गर्ने वस्तुको मूल्य वृद्धिदर करिब ७ प्रतिशत छ ।

यो दर पछिल्ला तीन वर्ष यताकै उच्च हो । ०७१र७२ भदौमा यस्तो वृद्धिदर करिब ८ प्रतिशत थियो । गत वर्ष साउनमा मूल्य वृद्धिदर करिब ४ प्रतिशत थियो ।

उपभोक्ताले वस्तु तथा सेवाको मूल्य दिनहुँजसो उच्च दरले बढिरहेको अनुभव गरे पनि सरकारी तथ्यांकमा देखिएको थिएन । सरकारी तथ्यांकमा मूल्य वृद्धिदर ५ प्रतिशतभन्दा कम नै देखाइने गरिएको थियो ।

मूल्य वृद्धिदर उच्च हुँदा उपभोक्ता मर्कामा पर्छन् नै, सरकारले राखेको आर्थिक वृद्धिको लक्ष्य प्राप्तिमा पनि असर गर्ने विज्ञ बताउँछन् । यो वर्ष सरकारले साढे ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य तय गरेको छ । मूल्य वृद्धि हुँदा कच्चा पदार्थ र श्रमिकको ज्यालालगायतले निर्माण महँगो हुने विज्ञहरूको तर्क छ । अघिल्ला वर्षहरूमा मुद्रास्फीति दर तल्लो तहमा रहेकाले सरकारलाई सहज थियो ।

बजारमा फलफूल तथा तरकारीको मूल्य तथा मजदुरको ज्यालादर वृद्धि र भारतीय प्रभावले नेपालमा मूल्य वृद्धिदर बढेको राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख गुणाकर भट्टले बताए । ‘गत साउनमा खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धि ८।०२ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मूल्य वृद्धि ६।१२ प्रतिशतले बढेको छ,’ उनले भने, ‘खाद्य तथा पेय पदार्थ समूहमा पर्ने तरकारी, फलफूल, मसला र मासु तथा माछा वस्तुको मूल्य धेरैले बढेको देखिन्छ ।’

भारतमा मूल्य वृद्धि धेरै रहेकाले नेपालमा पनि त्यसको प्रभाव परेको भट्टले बताए । ‘नेपाल र भारतबीच स्थिर विनिमय दर र ठूलो परिणाममा वैदेशिक व्यापार रहेकाले भारतीय बजारको प्रत्यक्ष प्रभाव घरेलु बजारमा पर्दै आएको छ,’ उनले भने । प्रतिवेदनका अनुसार गत साउनमा भारतमा मूल्य वृद्धिदर ३।२१ प्रतिशत मात्र छ । ०७५ साउनमा भारतमा यस्तो वृद्धिदर ३।७ प्रतिशत थियो ।

राष्ट्र बैंकको प्रतिवेदनअनुसार गत साउनमा तरकारी, फलफूल, मसला र मासु तथा माछा उपसमूहको मूल्य वृद्धि औसत ६।८५ प्रतिशतले बढेको छ । त्यही अवधिमा गैरखाद्य तथा सेवा समूहमा रहेका घरायसी उपयोगीका वस्तु तथा सेवा, लुगा तथा जुत्ता र शिक्षाको मूल्य वृद्धिदर २।२१ प्रतिशत मात्र छ ।

प्रतिवेदनले उपत्यका बाहिरभन्दा काठमाडौं उपत्यकामा मूल्य वृद्धिदर धेरै रहेको देखाएको छ । अघिल्ला वर्षमा काठमाडौं उपत्यकाभन्दा मोफसलमा मूल्य वृद्धिदर उच्च रहँदै आएको थियो । ‘काठमाडौं उपत्यकामा औसत मूल्य वृद्धिदर ८।६३, तराईमा ६।४६, पहाडमा ५।९२ र हिमालमा ५।५७ प्रतिशत छ,’ प्रतिवेदनले औंल्याएको छ, ‘०७५ साउनमा काठमाडौं उपत्यकामा ३।४९, तराईमा ४।१४, पहाडमा ५।२६ प्रतिशत र हिमालमा २।७४ प्रतिशत मूल्य वृद्धिदर थियो ।’

राष्ट्र बैंकका अनुसार गत साउनमा वार्षिक विन्दुगत थोक मूल्य वृद्धिदर ७।०२ प्रतिशत छ । अघिल्लो वर्षको त्यही अवधिमा यो ६।४० प्रतिशत थियो । ‘समीक्षा अवधिमा प्राथमिक वस्तु, इन्धन तथा ऊर्जा र उत्पादित वस्तु समूहको थोक मूल्य वृद्धिदर क्रमशः १३।१० प्रतिशत, ६।५९ प्रतिशत र ३।४५ प्रतिशत छ,’ प्रतिवेदनमा छ, ‘प्राथमिक खाद्य वस्तु, इन्धन, लत्ताकपडा, यातायात उपकरण तथा पार्ट्स उपसमूहको थोक मूल्य वृद्धि उच्च छ ।’
शोधनान्तर बचत

गत आर्थिक वर्षका सबै महिना ऋणात्मक रहेको भुक्तानी सन्तुलन (शोधनान्तर) यो वर्षको पहिलो महिनामै बचतमा छ । मुलुक भित्रिने र बाहिरिने मुद्राको अवस्था मापन गर्ने सूचक शोधनान्तर हो । मुलुकबाट बाहिरिने भन्दा भित्रिने रकम धेरै भए शोधनान्तर बचतमा हुन्छ । बाहिरिनेभन्दा भित्रिने रकम कम भए शोधनान्तर घाटामा हुन्छ । गत आर्थिक वर्षका सबै र अघिल्लो आर्थिक वर्षको असोज, कात्तिक र असारबाहेक सबै महिनामा शोधनान्तर ऋणात्मक थियो ।

राष्ट्र बैंकका अनुसार गत साउनमा शोधनान्तर ६ अर्ब ५ करोड रुपैयाँले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा यो २४ अर्ब ७७ करोडले घाटामा थियो । ‘अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको पहिलो महिनामा २२ करोड ५० लाखले घाटामा रहेकामा समीक्षा अवधिमा ५ करोड ४२ लाखले बचतमा छ,’ राष्ट्र बैंकले भनेको छ । यो अवधिमा आयात वृद्धिदर घटेको, विदेशी ऋण करिब ११र१२ अर्ब रुपैयाँले बढेको र रेमिट्यान्स वृद्धिदर सकारात्मक रहेकाले शोधनान्तर स्थिति बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ ।

शोधनान्तर स्थितिमा सुधार भएपनि चालु खाता घाटामा भने सुधार आउन सकेको छैन । राष्ट्र बैंकका अनुसार गत साउनमा चालु खाता ९ अर्ब ३७ करोडले घाटामा छ । अघिल्लो वर्षको त्यही अवधिमा यस्तो घाटा २५ अर्ब १६ करोड थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको पहिलो महिनामा २२ करोड ८५ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ८ करोड ४० लाखले घाटामा छ । कान्तिपुर दैनिकबाट साभार

कमेन्ट गर्नुहोस्

%d bloggers like this: