अनुदान पाएपछि दुर्गमका स्याउ धनगढीमा र काठमाडौंमा

काठमाडौं । बाजुराको दुर्गम क्षेत्रमा उत्पादित स्याउ धनगढी ल्याइएको छ । स्वामीकार्तिक गाउँपालिकामा फलेको ६० क्विन्टल स्याउ स्थानीय सहकारीले बिक्रीका लागि धनगढी ल्याएको हो । स्वामीकार्तिक–३, जुकोट र आसपासका गाउँमा उत्पादित स्याउ बजार नपाएर बारीमै कुहिन लागेका वेला स्वामीकार्तिक बहुउद्देश्यीय सहकारीले ढुवानीमा अनुदान पाएपछि किसानबाट खरिद गरेर धनगढी ल्याएको हो । सहकारीका अध्यक्ष मेघराज शाहीले दुर्गममा उत्पादित स्याउ पहिलोपटक धनगढी ल्याइपुर्याइएको बताए ।

‘यसअघि बजार नपाएर स्याउ बारीमै कुहिने गरेको थियो । अहिले थोरै भए पनि हामीले बजारसम्म ल्याउने प्रयास गरेका छौँ,’ शाहीले भने, ‘गाउँबाट थप एक सय क्विन्टल स्याउ काठमाडौं लग्दैछौँ ।’ स्याउ ढुवानीमा कृषि ज्ञान केन्द्र बाजुराले आर्थिक सहयोग गरेको छ ।

याे पनि पढ्नुस  बाँझो जमिन प्रयोग गरे अनुदान पाइने

स्वामीकार्तिकदेखि पिलीचौर भन्ने ठाउँसम्म ढुवानीका लागि प्रतिकिलो १८ रुपैयाँ ७५ पैसा अनुदान दिइएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख गोविन्द सिजापतिले जानकारी दिए । त्यहाँबाट धनगढीसम्म कृषि सहकारीले आफ्नै लगानीमा ढुवानी गरेको बताएको छ ।

बजारसम्म पुर्‍याउन नसकेर बारीमै स्याउ खेर गएकाले बजारीकरणमा सहयोग गरिएको सिँजापतिले बताए । ‘बाजुराका विभिन्न ठाउँमा स्याउ राम्रो उत्पादन हुने तर बजार पाउन नसकेको गुनासो किसानले गरेको थिए,’ सिँजापतिले भने, ‘त्यसैले बजारीकरणका लागि अनुदान दिने कार्यक्रम बनाएका हौँ ।’

दूरी हेरेर प्रतिकिलो साढे १३ रुपैयाँदेखि १८ रुपैयाँ ७५ पैसासम्म ढुवानीमा अनुदान दिइरहेको उनले जानकारी दिए । यस्तै पाण्डुसैनदेखि मार्तडीसम्म ढुवानीमा प्रतिकिलो साढे १३ रुपैयाँ अनुदान दिइएको छ । यस वर्ष जिल्लाका विभिन्न ठाउँमा गरी साढे ६ सय क्विन्टल स्याउ ढुवानीमा अनुदान दिन १६ लाख रुपैयाँ बजेट छुट्याइएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।

याे पनि पढ्नुस  भीमदत्त नगरपालिकाद्वारा किसानलाई अनुदानमा गहुँको बिऊ वितरण

एक रुपैयाँ दाना स्याउ
बजारसम्म पुर्याउन नसक्दा गाउँमा प्रतिदाना एक रुपैयाँमा पनि बिक्री नभएको जुकोटका स्थानीय नन्दा शाहीले बताइन् । ‘फलेर के गर्नु बजारसम्म ल्याउन नसक्दा स्याउ बारीमै कुहिन्छ,’ उनले भनिन्, ‘एक रुपैयाँमा एक दाना बेच्दा पनि गाउँमा किन्ने मान्छे आउँदैनन् ।’ सडक सुविधा नहुँदा दुगर्म क्षेत्रमा उत्पादित स्याउले बजार पाउन नसकेको हो ।

स्वामीकार्तिकमा गाउँपालिका र कृषि ज्ञान केन्द्रले पहिलो ग्रेडको स्याउ प्रतिकिलो २५ रुपैयाँ, दोस्रो ग्रेडको २० र तेस्रो ग्रेडको प्रतिकिलो १५ रुपैयाँ निर्धारण गरेको छ । २० किलोको एक कार्टुन धनगढीमा एक हजार आठ सय रुपैयाँमा बिक्री गरिरहेको अध्यक्ष शाहीले बताए । तीन सय कार्टुनमध्ये बुधबार ९० वटा कार्टुन बिक्री भएको उनले जानकारी दिए । धनगढीमा अहिले प्रतिकिलो एक सय रुपैयाँसम्म बिक्री हुने गरेको छ ।

याे पनि पढ्नुस  स्वीस सरकारद्वारा झोलुङ्गे पुल १ अर्ब १० करोड अनुदान

स्याउ कालिकोट, दैलेख, सुर्खेत, नेपालगन्ज हुँदै धनगढीसम्म ल्याइपुर्याइएको हो । ‘नेपालगन्ज र सुर्खेतमा पनि बेच्न सक्थ्यौँ तर स्याउको बजारीकरणमा प्रदेश सरकारको ध्यानाकर्षण गर्न यहाँसम्म ल्याएका हौँ,’ सहकारीका अध्यक्ष शाहीले भने । यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्